सोमबार, १० मङ्सिर २०८१
ताजा लोकप्रिय

१४ वर्षको दुबई बसाइले कामप्रति लगाव सिकायो

‘नेपालमा लगानी गर्ने वातावरण नै छैन’
मङ्गलबार, ०१ कात्तिक २०७९, ०९ : १९
मङ्गलबार, ०१ कात्तिक २०७९

दोलखा बैदेश्वरका टंकनाथ गुरागाईं २३ वर्षकै उमेरमा दुबई पुगे । उनी किचेनमा हेल्परको कामका लागि दुबई गएका थिए । काम गर्न भनेर त गए तर उनलाई न त काम आउँथ्यो न त राम्रोसँग त्यहाँको भाषा वा अङ्ग्रेजी नै बोल्न । 

दुबईमा रहँदा टंकनाथले ‘जुम्मेइरा ग्रुप’ अन्तर्गतको होटलमा काम गरेका थिए । त्यहाँ काम गर्नेहरू संसारभरमै प्रख्यात छन् । दुबईको  होटलमा काम गर्दा प्रष्टसँग अङ्ग्रेजी बोल्नुपर्थ्यो । भाषाकै कारण उनलाई काम गर्न समस्या भएपछि उनले अङ्ग्रेजी सिक्न थाले । काममा पनि  मिहिनेत र लगावले गर्दा उनले राम्रै दाम कमाए । १४ वर्ष काम गर्दा उनले बाह्रौँ तहसम्म प्रमोसन पाए ।  

‘काम गर्दै गर्दा मेरा सबै सेफहरू यूरोपेली मुलुकका थिए । उनीहरूबाट मैले धेरै कुरा सिकेँ । उनीहरुबाटै हो अर्काको देशमा बसिराख्नुभन्दा आफ्नै देश जाऊँ केही गरौँ भन्ने प्रेरणा पाएँ,’ उनले भने । 

साउदीमा रहँदा उनले साथीभाइहरुसँग मिलेर पुँजी जम्मा गर्न थालिसकेका थिए । भोलि नेपाल फर्किएपछि केही गर्नुपर्छ भन्ने सोचसहित उनीहरूले मासिक १०० दिराम जम्मा गर्थे । नेपाल फर्कन लाग्दा उनीहरूसँग ८० लाखभन्दा बढी भइसकेको थियो । केही साथीहरूले पछि जम्मा गरेको आफ्नो पैसा फिर्ता पनि लिए । तर ६ जना एकदमै मिल्ने साथीहरूले भने त्यो पैसालाई नेपालमा लगानी गर्ने सोचका साथ फर्किए ।

नेपाल फर्किएपछि उनीहरूले फ्रेन्ड्स भिजन हस्पिटालिटी भिजन ग्रुप खोले । त्यही ग्रुप अन्तर्गत उनीहरूले विभिन्न प्रोजेक्ट अगाडि बढाएका छन् । विदेशमा सिकेको सीपकै आधारमा हस्पिटालिटी क्षेत्रमा हात हालेका थिए । उनीहरूको समूहमा कोही मार्केटिङ क्षेत्रका विज्ञ थिए भने कोही सेफको काम गरेका थिए । 

उनीहरुले सिन्धुपाल्चोकको सुकुटेमा सुकुटे रिभर फन बीच रिसोर्ट सञ्चालनमा ल्याए । उक्त रिसोर्ट उनीहरुले २०७५ फागुन २ गते उद्घाटन गरेका थिए । तर त्यही वर्षको चैतबाट लकडाउन सुरु भयो । जसले गर्दा तीन वर्षसम्म रिसोर्ट बन्द रह्यो ।  ‘विदेशबाट फर्किएर आएका साथीहरूले खोलेको रिसोर्ट तीन वर्ष बन्द हुँदा हालत के भएको होला ? तर पनि हामीले के कुरा सिकेका थियौँ भने काम गर्दा खेरी आत्तिनु हुँदैन,’ टंकनाथले भने । 

उनीहरूले अहिले काठमाडौँको गठ्ठाघरमा मझेरी क्याफे एण्ड लाइभ सेकुवा पनि सञ्चालनमा ल्याएका छन् । काठमाडौँ र सुकुटेमा गरेर ६ करोड जति खर्च भइसकेको टंकनाथले बताए । त्यसका लागि केही पैसा विदेशबाट कमाएर ल्याएका थिए भने केही बैंकबाट ऋण निकाले । 

अहिले त्यहाँबाट आइरहेको आम्दानी बैंकको ऋण तिर्न र आफ्नो घर खर्चका लागि ठिक्क भइरहेको छ । यसलाई अझै व्यवस्थित बनाउँदै एउटा ब्राण्डकै रूपमा अगाडि बढाउने उनीहरूको सोच छ ।  

उनीहरूको समूहमा अहिले ७ जना छन् । ती मध्ये ६ जना विदेश बसेर आएका छन्, भने एक जना विदेश नगएका छन् । उक्त ग्रुपमा टंकनाथसँगै सिन्धुपाल्चोकका ४३ वर्षीय ललित गिरी, सिन्धुपाल्चोककै ३६ वर्षीय विमल गिरी, सिन्धुपाल्चोककै ४६ वर्षीय राजकुमार गिरी, पाल्पा रामपुरका ३६ वर्षीय विष्णुसिंह ठकुरी, काभ्रेका ५१ वर्षीय विजुललाल गिरी र काभ्रेका २४ वर्षीय विष्णुराज गिरी रहेका छन् ।   

ललितले रिसोर्टमा म्यानेजर जिम्मेवारी लिएका छन् । विदेशमा रहँदा मार्केटिङ तथा म्यानेजरको काम गरेर त्यहीको सीपलाई अहिले उनले रिसोर्टमा लगाइरहेका छन् । त्यस्तै विमलले एक्जुकेटिभ सेफ र मार्केटिङ दुवै हेरिरहेका छन् । 

विष्णुले फाइनान्स डिपार्टमेन्ट हेरिरहेका छन् । त्यस्तै ग्रुपमा रहेका सबै साथीहरूले फरक फरक जिम्मेवारी निर्वाह गर्दै आएको टंकनाथको भनाई छ । 

बाधा नै बाधा

नेपालमा केही गर्ने भनेर आएका उनीहरूले सुरुमा धेरै दुःख पाए । एकातिर कोरोना महामारीको समय थियो भने अर्कोतिर सरकारी नीति नियम बाधक बनेको थियो ।  ‘नेपालमा जे गर्दा पनि पैसा मात्रै खुवाउनु पर्ने भयो । पैसा बिना त केही पनि काम नगरिदिने । सरकारको नीति प्रस्ट नहुँदा लामो समय विदेशमा काम गरेर स्वदेशमा आएर लगानी गर्न खोज्नेलाई वातावरण छैन,’ टंकनाथले भने । विदेशबाट आएको भन्ने बित्तिकै हेर्ने दृष्टिकोण नै फरक हुने उनको भनाई छ । जसले गर्दा सहज वातावरणमा लगानी गरेर काम गर्न नपाइने बताए । 

काम अगाडि बढायो कि पाइलैपिच्छे हुने हण्डरबाट उनीहरू आजित भए ।  ‘विदेशबाट आएको भन्ने बित्तिकै योसँग धेरै पैसा छ, यसलाई जे गरेपनि हुन्छ भन्ने मानसिकता हुँदो रहेछ । जबसम्म त्यो मानसिकता त्याग्न सकिदैन । तबसम्म सहज रूपमा नेपालमा लगानी गर्न सकिदैन,’ टंकनाथले भने । 

अहिले भने श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले वैदेशिक रोजगारीबाट फर्किएकाहरूलाई स्वदेशमै रोजगारीमा लगाउने उद्देश्यले निर्देशिका ल्याएको छ । उक्त निर्देशिका अनुसार विदेशबाट फर्किएकाहरूको लागि लगानीको वातावरण बनाइदिनुका साथै सीप अनुसार काम पनि दिने योजना छ ।

नेपालमा नै केही गरौँ

विदेशमा रहँदा नै उनलाई भोलि नेपाल फर्किएर के गर्ने भन्ने लागेको थियो । त्यसैले त उनीहरूले पूर्व योजना बनाएर अगाडि बढेका थिए ।  ‘विदेश गएर बस्नु काम गर्नु ठुलो कुरा होइन । उनीहरूले हामीमा तागत हुँदासम्म लगाउने हो, नत्र फायर गरिहाल्छन् । भोलि नेपाल फर्किएर के गर्ने ? त्यसका लागि आफूमा कस्तो खालको सीप छ भन्ने हामी मन्थन गर्थ्यौँ,’ टंकनाथले भने । 

धेरै जसो नेपालीको सोच विदेश गएर नेपालमा घर घडेरी जोड्ने भन्नेतिर हुन्छन् । नेपाल फर्किएपछि पुनः बेरोजगार बन्छन् । तर, टंकनाथको समूहले भने घर घडेरी भन्दा पनि विदेशमा सिकेको सीप कसरी सदुपयोग गर्ने भन्नेतिर लागे ।  

विदेशबाट फर्किएर नेपालमा काम गर्छु भन्ने सोच भएर मात्र नपुग्ने उनीहरूको भनाई छ । त्यसका लागि सम्भाव्यता अध्ययन गर्दा सचेत हुनुपर्ने टंकनाथको भनाई छ ।  

 ‘सिकेको सीप कस्तो हो ? त्यो अनुसार कति लगानी गर्न सकिन्छ ? लगायतका विषयमा सचेत हुनुपर्छ । आफ्नो अनुभव र दक्षता अनुसार काम गर्न सकियो भने राम्रै हुन्छ । विदेशमा एउटा काम गर्ने र नेपाल आएपछि अर्को काम गर्न खोज्यो भने त्यसले राम्रो हुँदैन,’ उनले भने ।

कोही नेपालमा आएर केही गर्ने चाहेको खण्डमा आफूहरूले सुझाव सल्लाह दिने उनको भनाई छ । ‘नेपालमा आएर के गर्न सकिन्छ ? कस्तो खालको बजार छ ? त्यो विषयमा हामी मज्जाले बताइदिन्छौँ । विदेशमा जे सीप सिकेको छ त्यही अनुसार काम गर्न सकियो भने राम्रो हुन्छ,’ उनले भने । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

कृष्णसिंह धामी
कृष्णसिंह धामी

धामी श्रम/वैदेशिक रोजगार र शिक्षा विटमा विषयमा रिपोर्टिङ गर्छन् ।

लेखकबाट थप