शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

डेंगु नियन्त्रणमा स्वास्थ्य मन्त्री खापुङ उदासीन

मङ्गलबार, ०१ कात्तिक २०७९, ०७ : ३१
मङ्गलबार, ०१ कात्तिक २०७९

स्वास्थ्यमन्त्री भवानी प्रसाद खापुङ र राज्यमन्त्री हिराचन्द्र केसीले पदबहाली गरेको साढे तीन महिना बितेको छ । पदबहालीका क्रममा दुवै जनाले स्वास्थ्य क्षेत्रमा सुधारको प्रतिवद्धता जनाएका थिए । तर उनीहरुको प्रतिवद्धता कहाँ थन्किएको छ भन्ने कसैले पत्तो पाउन सकेका छैनन् ।

मुलुक यतिबेला डेंगु संक्रमणको चपेटामा छ । देशभर ४० हजारभन्दा बढी नागरिक डेंगुबाटु संक्रमित छन् । डेंगु संक्रमणकै कारण ४८ जनाको मृत्यु भइसकेको छ । स्वास्थ्य क्षेत्रमा सुधारको प्रतिबद्धता जनाएका मन्त्री खापुङ डेंगु नियन्त्रणका सन्दर्भमा उदासिनमात्र होइन, मुकदर्शकको भूमिकामा देखिन्छन् ।

जनस्वास्थ्यविद्हरु सरकारको बेवास्ताकै कारण डेंगु संक्रमण डरलाग्दो गरी फैलिएको बताउँछन् । डेंगु नियन्त्रणका लागि प्रभावकारी कदम चल्न नसकेको भन्दै मन्त्री खापुङको चौतर्फी आलोचना भइरहेको छ ।

जाडो सुुरु भएपछि डेंगु विस्तारै हराउँदै जान्छ भनेर सरकारले यसको प्रकोपलाई पूर्णतया बेवास्ता गरेर बसेको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका पूर्व निर्देशक डा. बाबुराम मरासिनीको आरोप छ । ‘अघिल्ला सरकारले पनि डेंगु नियन्त्रणका लागि केही गरेको थिएन, अहिलेको नेतृत्वले पनि डेंगु आफै कम हुँदै जान्छ भनेर बेवास्ता गरेको छ,’ उनले भने ।

स्वास्थ्य मन्त्रालयले नै डेंगु संक्रमण, जोखिमलाई नबुझ्दा यो अवस्था सिर्जना भएको उनको भनाइ छ । अपरिपक्व अभिभावक भए पनि महाशाखा र स्वास्थ्य मन्त्रालयमा रहेका विज्ञले डेंगुको जोखिम, वर्तमान अवस्था, नियन्त्रणको प्रयास नगरे कस्तो क्षति हुन्छ भनेर प्रक्षेपण गरी विषयको गम्भीरतालाई बुझाउने भूमिका निर्वाह गर्नुपर्नेमा त्यो पनि नभएको उनले बताए ।

डेंगुको संक्रमण, जोखिमको गम्भीरतालाई मन्त्री खापुङले बुझ्ने प्रयास नै नगरेको मन्त्रालयका एक उच्च कर्मचारीले सुनाए । उनले भने, ‘मन्त्री खापुङ अहिले पनि विदेश भ्रमण हुनुहुन्छ, स्वास्थ्य मन्त्रालयका कर्मचारीहरु पालैपालो साताको सरदर एक पटक विदेश भ्रमणमा गएकै हुन्छन् । तर, डेंगु नियन्त्रणमा कसैको चासो छैन ।’

असोजको पहिलो साता इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले डेंगु नियन्त्रण बाहिर गइसकेको भनेर मन्त्रालयलाई जानकारी गराएको ती कर्मचारीको भनाइ छ । त्यसका बाबजुद डेंगु नियन्त्रणका लागि स्वास्थ्य मन्त्रालयले प्रभावकारी कदम चाल्न नसकेको उनले बताए ।

इडीसीडीका पूर्व निर्देशक डा मरासिनीले मन्त्रालयमा कमजोर नेतृत्व, अपरिपक्वता, जागरुकताको कमी तथा उच्च तहका कर्मचारीमा दूरदर्शिता तथा विश्लेषण क्षमता कम भएकाले डेंगु फैलिएको प्रस्ट पारे । डेंगु संक्रमणको वर्तमान अवस्था र भावी दिनहरुमा हुन सक्ने क्षतिबारे प्रक्षेपण गरी रोकथामका लागि तयारी गर्न नसकेका कारण ७७ जिल्लामै डेंगु पुुगेको उनले बताए । 

डा. मरासिनीका अनुसार २०७६ सालमा तत्कालीन स्वास्थ्यमन्त्री उपेन्द्र यादवले डेंगु संक्रमित बढ्दा पनि नियन्त्रणका लागि खासै पहल गरेनन् । तर, उनले ढिलो भए पनि ‘खोज र नष्ट गर’ अभियानलाई कार्यान्वयन गरेको डा.मरासिनीले सुनाए ।

०७६ सालमा डेंगुले प्रकोपको रुप लिँदा १७ हजार ९९२ जना संक्रमित भएका थिए भने १२ जनाको मृत्यु भएको थियो ।    हाल सरकारले ‘खोज र नष्ट गर’ अभियानलाई नारामा सीमित राखेकाले संक्रमित र मृत्यु दर बढेको डा.मरासिनी सुनाउँछन् ।

जनस्वास्थ्यविद् डा. शरद वन्तका अनुसार कोरोना महामारीको सुरुवाती समयमा संक्रमण हुनबाट कसरी जोगिने भन्नेबारे अस्पष्टता थियो । तर, डेंगु संक्रमण र जोखिमबारे पूर्ण जानकारी भए पनि राज्यले सोहीअनुसार प्रभावकारी रुपमा नियन्त्रणतर्फ अगाडि बढ्न सकेको छैन । सरकारी तहबाट राज्यले नागरिकलाई डेंगुबारे सचेत गराउने र स्वास्थ्य सेवा दिने सवालमा पहल नगरेको उनले बताए ।  

काठमाडौं महानगरपालिकाले समेत डेंगु संक्रमणको जोखिमलाई प्राथमिकतामा नराखेको उनको भनाइ छ । डेंगु संक्रमणको जोखिम अझै कायम रहेकाले सरकारले नियन्त्रणका लागि पहल गर्नुपर्ने उनले बताए ।  

‘डेंगु संक्रमणका कारण नागरिकले पीडा भोगेका छन्, त्यो सानो छैन, हजारौँ मानिस संक्रमित भएका र दैनिक एक÷दुुई जनाको ज्यान जाँदा पनि यो विषय सरकारको प्राथमिकता परेको छैन,’ उनले भने ।

सरकारले डेंगु संक्रमण गराउने लामखुट्टे अब डेढ महिनामा कम हुने आकलन गरेको छ । तर ती लामुखुट्टेको लार्भा पनि संक्रमित हुने भएकाले पुनः डेंगुको जोखिम कायम रहने डा. वन्त बताउँछन् । त्यसैले दीर्घकालीन योजना बनाएर यसको रोकथाम तथा नियन्त्रणका लागि मन्त्रालय अगाडि बढ्नुपर्ने उनले बताए ।

नेपालमा २०६१ सालदेखि डेंगु संक्रमण देखिएको हो । दीर्घकालीन नीति, सोच र तत्परता कम भएकाले यो प्रकोपकै रुपमा फैलिएको डा.मरासिनी सुनाउँछन् ।

मन्त्रालयको कर्मचारी प्रशासन शाखाले किट्जन्य रोग नियन्त्रणसम्बन्धी काम गर्ने ७० जना कर्मचारीलाई हेल्थअसिस्टेन्ट बनाएर बाहिरी जिल्लामा खटाउँदा यस्तो समस्याका बाबजुद मन्त्रालय निरीह बन्नुपरेको उनको भनाइ छ ।

डा. मरासिनीले नेपाल संक्रामक रोगको खानी बन्न सक्ने चेतावनीसमेत दिए । कोलम्बियाको उदाहरण दिँदै उनले त्यहाँ हरेक वर्ष संक्रामक रोगले आक्रान्त बनाएजस्तै कुनै दिन नेपाल पनि सोही अवस्थामा पुग्नेतर्फ सचेत तुल्याए ।

लगातार डेंगु देखिने खतरा

विश्व स्वास्थ्य संगठनका अनुसार १५ डिग्री तापक्रम नपुगेसम्म डेंगु संक्रमणको जोखिम कायम रहन्छ । यद्यपि नेपालको सन्दर्भमा वर्षभरि लगातार डेंगुका रोगी देखिने डा. मरासिनी बताउँछन् ।

राज्यको रेकर्डमा ४० हजार बढी संक्रमित र ४८ जनाको मृत्यु भनिए पनि लाखौं संक्रमित भएको उनी बताउँछन् । जाडो महिना लागेपछि डेंगु संक्रमण हराउँछ भनेर ढुक्क भएर बस्दा घरघरमा डेंगुका बिरामी देखिएको उनको भनाइ छ ।

१५ डिग्री भन्दा तल कुनै ठाउँमा तापक्रम नपुग्न सक्ने र त्यस्ता क्षेत्रमा डेंगु संक्रमण सदा देखिन सक्ने उनले प्रस्ट पारे ।​ इडीसीडीले डेंगु फैलिएको तीन महिना बितिसक्दा पनि कुन सेरोपाइप हो भन्नेबारे अझै वर्गीकरण गर्न सकेको छैन ।

डेंगुलाई १, २, ३ र ४ गरी चार सेरोटाइपमा वर्गीकरण गरिन्छ । चिकित्सकहरुका अनुसार कुन सेरोपाईपको डेंगु फैलिएको छ भनेर पीसीआर विधिबाट पत्ता लगाउन सकिन्छ ।

डब्लूएचओले डेंगु सेरोटाइप पत्ता लगाउने रिएजेन्ट दिने उद्घोष गरे पनि अहिलेसम्म नदिँदा डेंगुको सेरोटाइप पत्ता नसकिएको इडीसीडीले जनाएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

माया श्रेष्ठ
माया श्रेष्ठ

श्रेष्ठ राताेपाटीका लागि समसामयिक विषयमा रिपाेर्टिङ गर्छिन् ।

लेखकबाट थप