बिहीबार, ०४ पुस २०८१
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

कात्तिक ३ गतेदेखि ४ दिने गोदावरी फूल मेला हुने

सोमबार, ३१ असोज २०७९, २१ : १९
सोमबार, ३१ असोज २०७९

फ्लोरिकल्चर एशोसिएसन नेपालले गोदावरी फूलको १५ औं प्रतियोगितात्मक प्रदर्शनी २०७९ गर्ने भएको छ । प्रदर्शनीको ‘रोपेर फूल गोदावरी, सजाऔँ घर आँगन वरिपरि’ भन्ने नाराको साथ २०७९ कार्तिक ३ देखि ६ गतेसम्म जावलाखेलको खेल मैदान, ललितपुरमा हुने मेला संयोजक सीताराम पन्तले बताए ।

सोमबार पत्रकार सम्मेलन गर्दै फूलको सहज उपलब्धता गराउन तथा गोदावरी फूलको व्यवसायिक प्रवर्द्धन गर्ने उद्देश्यका साथ मेला आयोजना गर्न लागिएको एसोसिएसनले जनाएको छ।  तिहार तथा छठ पर्वलाई लक्षित गरी गोदावरी फूलको प्रदर्शनीको आयोजना गर्न लागेको जनाइएको छ। प्रदर्शनीमा व्यवसायिक स्टल ४९ प्रतियोगितात्मक स्टल २ र सूचनामुलक ४ गरि जम्मा ५५ वटा प्रदर्शनी कक्षहरु रहने पन्तले जानकारी दिए ।

यस वर्ष तिहारमा २० लाख सयपत्री, मखमली ३ लाख र गोदावरीको २५ हजारसम्मको मालाहरु खपत हुने गरेको फ्लोरिकल्चर एशोसिएसन नेपालका अध्यक्ष मिन बहादुर तामाङले बताए । नेपाल ९० देखि ९१ प्रतिशत फूलमा आत्मनिर्भर भएको तामाङले बताए । उनका अनुसार विश्व महामारीको रुपमा फैलिएको कोभिड १९ का कारणले फुल उत्पादन घटेको थियो । तर अहिले १० देखि २० प्रतिशत फूलको माग बढ्नुका साथै उत्पादन पनि बढेको छ ।

“नेपालमा विशेषगरि फुलहरू तिहार र प्रेम सप्‍ताहमा बढी माग रहेको छ । बाँकी महिनाहरुमा त्यति धेरै माग नभएकाले र हाम्रो बजार सानो भएकाले उत्पादकहरु घाटामा जाने सम्भावना बढी छ ।’’ तामाङले भने ।

“हामीकोमा जति पनि उत्पादनमा प्रयोग हुने मल, विउ र औजारहरु भारतबाट आयात गर्छौ । यस्तो अवस्थामा हामीले उत्पादन गरेको फूल र भारतले उत्पादन गरेको फूलको प्रतिस्पर्धा गर्ने कुरा हुँदैन त्यसकारण हामीले सरकारसँग बारम्बार भनेका छौँ अग्रिम आयात कर बढाउन पर्यो त्यो गर्दा हाम्रो उत्पादनले प्रतिस्पर्धा गर्न सक्छ,’’ तामाङको भनाइ छ ।

गोदावरी फूलको प्रतिस्पर्धात्मक प्रदर्शनी समेत रहेकोले गोदावरी फूलको विविध विधामा प्रतिस्पर्धा गराई पुरस्कृत गरिने भएको छ । प्रदर्शनीमा सहभागी नर्सरी र फर्महरुले उत्पादन गरेको गोदावरी फूलको ५ वटा प्रजातिमा प्रतिस्पर्धा गराइनेछ।

प्रतिस्पर्धा हुने गोदावरीको प्रजातिहरूमा १० मिनियचर, २० स्पाईडर, ३० रिफ्लेक्स, ४० ईन्कर्भ र ५० गोदावरीको कट फ्लावर प्रजाति छन् । मेलामा सहभागी भएको नर्सरी व्यवसायीहरुलाई उत्साह थप्नका लागि उत्कृष्ट स्टलतर्फ पनि प्रतिस्पर्धा गराइने जनाइएको छ ।

नर्सरी र फर्मलाई सिल्ड, नगद तथा प्रमाण पत्रद्वारा पुरस्कृत गरिनेछ। पुष्प व्यवसायका क्षेत्रमा भए गरेका नयाँ–नयाँ प्रविधि र उपलब्धि सहितका जानकारी पनि मेला स्थलमा नै स्थलबाटै प्रदान गरिने एसोसिएसनले जनाएको छ । 
यस वर्षको गोदावरी फूलको प्रदर्शनीमा ३७ हजार भन्दा बढिले प्रत्यक्ष अवलोकन गर्ने साथै ८० लाख सम्मको व्यवसायिक कारोबार हुने अपेक्षा गरिएको छ । 

नेपालमा विसं. २०११ बाट सामान्य स्तरमा सुरु भएको पुष्प व्यवसाय, शहरीकरणको विकास तथा विस्तारसँगै सातै प्रदेशका मुख्य शहरहरु लगायतका अन्य क्षेत्रमा समेत फैलँदो अवस्थामा रहेको छ । हाल ४८ जिल्लामा लगभग १७८ हेक्टर क्षेत्रफलमा पुष्प व्यवसाय गरिरहेका छन । ७३२ भन्दा बढि पुष्प व्यवसायीहरु संलग्न रहेको यस व्यवसायमा ६.५ अरबभन्दा बढिको लगानी रहेको छ । 

कोभिड महामारीका कारण विगत दुई बर्ष देखि कोभिड–१९ महामारीका कारण पुष्प ब्यवसाय समस्याग्रस्त अवस्थामा रहेकोमा २०७८÷०८९ मा कोभिड–१९ को असर केहि कम देखिएकोले समग्र व्यवसायीक तथा आर्थिक क्षेत्रहरु केहि चलायमान र सुधारोन्मुख हुदा पुष्पको बजारीकरणको क्षेत्रमा पनि सुधार आएको एसोसिएसनले जनाएको छ । यद्यपि कोभिड सुरु हुनु पूर्वको पुष्पको बार्षिक कारोबारको अवस्थामा अझै पनी पुग्न सकेको अवस्था नभएको बताइन्छ ।

आव ०७७–७८ मा बर्षे भरी कोभिड–१९ को कहर रहेका कारण भएको निषेधाज्ञाले गर्दा व्यवसायीक कारोबारमा कमी आई रु १ अर्व ६३ करोडको मात्र कारोबार भएको थियो । तर बजारीकरणमा सुधार आई अघिल्लो बर्षको बार्षिक कारोबार तुलनामा करिब ३० प्रतिशतले बृद्धि भई रु.२ अर्ब ३० करोडको हाराहारीमा कारोबार भएको अध्यक्ष तामाङले बताए ।

आव ०७८–७९ मा पुष्प तथा पुष्पजन्य वस्तुको निर्यात तर्फ रु ९८.६० लाख र आयात तर्फ ३६.०५३५ करोड बराबरको कारोबार भएको छ । पुष्प व्यवसायमा प्रत्यक्ष तथा अप्रत्यक्ष रुपमा ४३ हजार ५०० भन्दा बढी जनशक्तिहरू रोजगार र आश्रित रहेकोमा कोभिड–१९ कारण १० प्रतिशत भन्दा बढिले रोजगारी गुमाई हाल ३९ हजार १०० को हाराहारीमा रोजगार रहेको एशोसिएशनको तथ्यांक छ ,

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप