शनिबार, १२ असोज २०८१
ताजा लोकप्रिय

नेपालमा डब्ल्यूटीओ चेयर कार्यक्रम शुभारम्भ

सोमबार, ३१ असोज २०७९, २१ : १०
सोमबार, ३१ असोज २०७९

विश्व व्यापार संगठन (डब्ल्यूटीओ) ‘डब्ल्यूटीओ चेयर प्रोग्राम’ नेपालमा सार्वजनिक गरिएको छ । डब्ल्यूटीओ चेयर कार्यक्रमका लागि छनौट भएको काठमाडौँ विश्वविद्यालयले सोमबार यहाँ आयोजित एक कार्यक्रमका बीच उक्त कार्यक्रमको औपचारिक घोषणा गरेको हो । 

कार्यक्रमको शुभारम्भ गर्दै मुख्यसचिव शङ्करदास बैरागीले दिगो आर्थिक विकास र व्यापार प्रवद्र्धनका निम्ति डब्ल्यूटीओ चेयर कार्यक्रम उपयोगी हुने विश्वास व्यक्त गरे । उनले अन्तर्राष्ट्रिय व्यापार साझेदारीका लागि महत्वपूर्ण रहने उक्त कार्यक्रमको सफल कार्यान्वयनका लागि समन्वय र सहकार्य प्रभावकारी बनाइने बताए ।

विश्व व्यापार सङ्गठनले कम विकसित मुलुकहरूमा सङ्गठनको काम र आवश्यक अनुसन्धान कार्यमा समन्वय गर्न डब्ल्यूटीओ चेयर कार्यक्रम विगत १० वर्षदेखि सञ्चालन गरिरहेको छ । उक्त कार्यक्रमको ‘थर्ड ब्याच’ मा नेपालको विश्वविद्यालय छनौट भएको हो । नेपालसहित ५४ देशका एक सय २६ वटा आवेदन परेकामध्ये नेपालको काठमाडौँ विश्वविद्यालयको ‘स्कुल अफ म्यानेजमेन्ट’ पनि छनौट भएको थियो । यो कार्यक्रममा हालसम्म नेपालसहित विश्वका ३४ विश्वविद्यालय परिसकेका छन् ।

मुख्यसचिव बैरागीले दिगो आर्थिक विकास र व्यापार प्रवद्र्धनका लागि नीतिगत सुधार र योजनाबद्ध कार्यक्रम अघि बढाइने बताए । उनले भने, “नेपालले अझै पनि डब्ल्यूटीओको माध्यमबाट अपेक्षित लाभ लिन सकिरहेको छैन । उत्पादन वृद्धि र निर्यात प्रवद्र्धन प्राथमिकतामा रहेको छ । दिगो विकास लक्ष्य हासिल गर्न केही चुनौतीको सामना गरेर योजनाबद्धरूपमा अघि बढ्नुपर्ने आवश्यकता छ ।”

काठमाडौँ विश्वद्यिालयका उपकुलपति डा भोला थापाले व्यापार प्रवद्र्धनका विषयमा अभिमुखीकरण र अनुसन्धानका लागि कार्यक्रमको भरपूर उपयोग गरिने बताए । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छाले नेपाल डब्ल्यूटीओसँग जोडिएको १८ वर्ष लामो अवधिमा अपेक्षित लाभ लिन नसकेको, निर्यात घटेर आयात बढिरहेको भन्दै मुलुकको व्यापार प्रवद्र्धनका निम्ति सरकार र निजी क्षेत्रको साझेदारीलाई बलियो बनाइनुपर्नेमा जोड दिए ।

डब्ल्यूटीओका उपमहानिर्देशक डा सियाङचेन झाङले व्यापार प्रवद्र्धनमा साझेदारी अभिवृद्धिका साथै मुलुकको दिगो आर्थिक विकासका लागि कार्यक्रमले सहयोग पुग्ने बताए । नेपालका लागि अस्ट्रेलियाली राजदूत फेलिसिटी भल्कले नेपाल डब्ल्यूटीओको सक्रिय सदस्य रहेकाले व्यापार प्रवद्र्धनका लागि कार्यक्रम उपयोगी हुने भन्दै प्रभावकारी समन्वय र साझेदारीका साथ अघि बढ्ने विश्वास व्यक्त गरे ।विश्वविद्यालयका रजिस्ट्रार प्रोफेसर डा अच्यूत वाग्लेले नेपाल डब्ल्यूटीओे चेयर कार्यक्रम छनोट भएकोमा गौरव अनुभूति रहेको भन्दै यसको प्रभावकारी कार्यान्वयन गरिने बताए ।

नेपालसहित १७ देश डब्ल्यूटीओ चेयर कार्यक्रममा छनोट भएका छन् । चार वर्षको चेयर कार्यक्रममा करिब दुई लाख स्वीसफ्राङ्क सहयोग रहेको छ । अस्ट्रेलिया, अस्ट्रिया, फ्रान्स र कोरियाले यो कार्यक्रमलाई ‘फन्डिङ’ गरेका छन् । उक्त रकम तीन आधारभूत क्षेत्र नयाँ पाठ्यक्रम विकास र शिक्षा, अनुसन्धान र क्षमता अभिवृद्धिमा खर्च गरिने विश्वविद्यालयका सहायक प्रोफेसर दीपेश कार्कीले जानकारी दिए । उनका अनुसार व्यापारसँग सम्बन्धित नयाँ पाठ्यक्रम विकास गरिने छ । जुन ‘मास्टर इन विजनेस अफ इकोनोमी’ मा ‘इन्टिग्रेट’ गर्ने योजना रहेको छ । 

विश्वविद्यालयभित्र विद्यावारिधि र विदेशी विद्यार्थीका लागि अनुदान दिइने जनाइएको छ । क्षमता अभिवृद्धिका कार्यक्रमअन्तर्गत ग्रामीण क्षेत्रका उद्यमी र शिक्षकलाई नेपालको व्यापार घाटालाई कसरी न्यूनीकरण गर्ने भन्नेबारे अभिमुखीकरण गरिने छ । कार्यक्रमको नेतृत्व विश्वविद्यालयका रजिस्ट्रार डा वाग्ले र विश्वविद्यालयको ‘स्कुल अफ म्यानेजमेन्ट’ का डिन डा देवीप्रसाद बिडारीले गर्नेछन् ।

कार्यक्रममा विश्वविद्यालयका रजिस्ट्रार प्रोफेसर डा वाग्लेले प्रधानमन्त्री शेरबहादुर देउवा र उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री दिलेन्द्रप्रसाद बडूको शुभकामना सन्देश पढेर सुनाएका थिए । सन्देशमा प्रधानमन्त्री देउवाले डब्ल्यूटीओ चेयर प्रोग्रामका लागि नेपालको विश्वविद्यालयलाई छनोट गरेकामा सङ्गठनप्रति आभार व्यक्त गर्दै कार्यक्रमले असल अन्तर्राष्ट्रिय साझेदारी बढाएर लगानीको वातावरण सिर्जना गर्न र सरकार र निजी क्षेत्रको समन्वयलाई प्रभावकारी बनाएर मुलुकको व्यापार प्रवद्र्धनका निम्ति फलदायी हुने विश्वास व्यक्त गरेका छन् । त्यस्तै उद्योगमन्त्री बडूले डब्ल्यूटीओ चेयर कार्यक्रममार्फत नेपालको उद्योग वाणिज्य प्रवद्र्धनमा टेवा पुग्ने बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप