शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

कर्णालीको हवाई समस्या सामाधान गर्न ध्यानाकर्षण

सोमबार, ३१ असोज २०७९, २० : ५७
सोमबार, ३१ असोज २०७९

कर्णालीमा बाढी–पहिरोपछिको विपद्ले ठूलो विपत्ति ल्याएको छ । कर्णाली राजमार्गसमेत अवरुद्ध भएको छ । यो समयमा झनै जहाजको उडान नियमति नभएपछि जुम्लासमेत आक्रान्त भएको छ । 

विमानस्थलमा एक सातादेखि भीडभाड बढेको छ । टिकटका लागि स्थानीय प्रशासन घेराउदेखि विभिन्न आन्दोलनसमेत भइरहेका छन् । तर जहाजको उडान कम हुँदा सकस भइरहेको छ । नेपाल एयरलाइन्सले उडान तालिका घटाएको बताइएको छ तर तालिकाअनुसार एक हप्तामा जहाज नआउँदा समस्या भएको हो । यस अवसरमा कर्णालीवासीले पूर्वमन्त्री नरेश भण्डारीसहितको टोली पर्यटन मन्त्रालयमा पुगेर ध्यानाकर्षण गराएको छ ।

पूर्वमन्त्री भण्डारी, अर्थमन्त्रालयका जनसम्पर्क सल्लाहकार मनऋषि धितालसहितको टोलीले पर्यटनमन्त्रीलाई औपचारिकपत्रसहित भेटघाट गरेको हो । ध्यानाकर्षणपत्रमा भनिएको छ, “विगत केही दिनदेखिको अविरल वर्षाका कारण जुम्ला, कालिकोट, मुगु, हुम्लालगायतका कर्णाली प्रदेशका विभिन्न जिल्लामा मानवीय, बालीनाली, कृषियोग्य जमिन, पशुवस्तु तथा भौतिक संरचना (सडक, पुल, सिँचाइ, तटबन्ध, जलविद्युत्, खानेपानी, टेलिफोन टावर)हरूमा ठूलो क्षति भई जनजीवन कष्टकर भएको छ ।”

चार जिल्लाका विपद् प्रभावित स्थानीय तहका भौगोलिक क्षेत्रलाई नेपाल सरकारले विपद् सङ्कटग्रस्त क्षेत्र घोषणा गरेको संवेदनशील परिस्थितिमा हवाई सेवा प्रदायक कम्पनी संवेदनहीन देखिएको पत्रमा भनिएको छ । “एकातिर सडक यातायात अवरुद्ध छ भने अर्कातिर निजी क्षेत्रका हवाई सेवा प्रदायक कम्पनीले कर्णालीका उडान कटौती गरी डलरका लागि अन्यत्र उडान भरिरहेको अवस्था छ”, पत्रमा भनिएको छ, “यसका साथै नेपाल वायुसेवा निगमबाट पनि उडान सञ्चालन नगरिएको अवस्था छ । कर्णालीमा भइरहेका सीमित उडानमा पनि चरम अपारदर्शिता देखिन्छ । उडानमा महँगो भाडादर असुलिरहेको अवस्था छ । विद्यार्थी, बिरामी र अन्य यात्रु विमानस्थलमा अलपत्रको अवस्थामा छन् ।”

माथिल्लो कर्णालीले करिब अघोषित नाकाबन्दीको अवस्था भोगिरहेको भन्दै ध्यानाकर्षणपत्रमा निजी वायुसेवा कम्पनीसँग समन्वय गरी तत्काल उडान सङ्ख्या वृद्धि गर्न र नेपाल एयरलाइन्सका टवीनअटर जहाजको सङ्ख्या थप गरेर दीर्घकालीन समाधान खोज्न अनुरोध गरिएको छ । कर्णालीको टिमलाई संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठले कर्णालीमा निजी एयरलाइन्स कर्णालीमा बढाउन पहल गरिने तथा नेपाल एयरलाइन्सको जहाज थपिने प्रतिबद्धता जनाएका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप