शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

एमालेमा पूर्व माओवादी र ‘१० भाइ’ यसरी पेलिए

सोमबार, ३१ असोज २०७९, १९ : ४६
सोमबार, ३१ असोज २०७९

नेकपा एमालेमा ओली समूह ‘ए’, माधवकुमार नेपालको साथ छाडेर एमालेमै रहेका १० भाइ ‘बी’ र पूर्व माओवादी समूहलाई ‘सी’ ग्रेड राखेर वर्गीकरण गरिएको हाल एमालेमै रहेका एक पूर्वमाओवादी नेताले जनाएका छन् । आसन्न निर्वाचनमा उम्मेदवारी छनोटमा भेदभाव भएको तर्कसहित उनको भनाइ छ, ‘उम्मेदवारको योग्यता, क्षमता र लोकप्रियतामा ध्यान दिइएन  । वर्गीकरणका आधारमा टिकट दिइयो । जसरी राणा शासन राणाहरुकै वर्गीकरण गरेर सिद्धियो, त्यसरी नै एमाले सिद्धिने भयो ।’

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पूर्व माओवादी समूह र माधव नेपालको साथ छाडेर एमालेमै रहेका ‘१० भाइ’ को समूहसँग परामर्श नै नगरी टिकट वितरण गरेपछि चर्को असन्तुष्टि देखिएको ती नेता बताउँछन् ।

चुनावी तालमेलका नाममा राप्रपादेखि जनता समाजवादी पार्टीसँग सहकार्य गर्ने निर्णय पनि एमाले अध्यक्ष ओलीले एकलौटी लिएको उनको आरोप छ । उनका अनुसार ओलीले माधव समूह छोडेका १० भाइ र पूर्व माओवादी समूहलाई पूर्वाग्रही ढंगले टिकट नदिने र उम्मेदवार बन्नबाटै रोक्ने नीति लिएपछि पार्टीभित्र असन्तुष्टि चुलिँदै गएको छ ।

एमालेले राप्रपा, राप्रपा नेपाल, परिवार दल र जनता समाजवादी पार्टीसँग केही क्षेत्रमा तालमेल गरेको छ । उक्त तालमेलपछि विभिन्न जिल्लामा एमाले पंक्तिले खुलेरै असन्तुष्टि राख्दै आएका छन् । मकवानपुरमा त कमल थापालाई एमालेले उम्मेदवार बनाएपछि कार्यकर्ताले पार्टी कार्यालयमै तालासमेत लगाएका थिए । पार्टीभित्र चर्किएको असन्तुष्टिका कारण प्रदेशसभा र प्रतिनिधिसभा चुनावमा समेत प्रभाव पर्ने एमालेकै कतिपय कार्यकर्ता बताउँछन् ।

एमाले उपाध्यक्ष रामबहादुर थापा‘बादल’ले चितवन–२ वा ३ बाट प्रतिनिधिसभातर्फ उम्मेदवार बन्ने तयारी गरेका थिए । माओवादी छोडेर ओलीलाई गुन लगाएका थापा अन्तिममा उम्मेदवारै हुन पाएनन् ।

थापाकी श्रीमती नैनकला थापालाई समानुपातिकमा राखेर ओलीले थामथुम गर्ने प्रयास गरेका छन् । थापालाई ओलीले फेरि राष्ट्रियसभामा लैजाने बचन दिएको उनी निकट एक नेताले बताए । यद्यपि थापा पछिल्लो समय असन्तुष्ट रहेको उनी निकट स्रोत बताउँछ । पार्टीबाट उम्मेदवार बनेकाहरु चुनाव प्रचारमा खटिसकेको अवस्थामा पार्टीका सिनियर नेता थापा भने ‘फ्रन्ट लाइन’ मा कतै देखिएका छैनन् ।

यस्तै स्थायी समिति सदस्य मणि थापाले प्युठानबाट प्रतिनिधिसभामा चुनाव लड्ने तयारी गरेका थिए । उनलाई ओलीले प्युठानबाट प्रतिनिधिसभा नभए प्रदेशसभातर्फ उम्मेदवार बनाउने आश्वासन समेत दिएका थिए । त्यसैले थापाले आफ्नै तरिकाले तयारी थालेका थिए । अन्तिममा सूर्यबहादुर थापालाई प्यूठानबाट प्रतिनिधिसभा उम्मेदवार बनाएपछि मणि थापा उम्मेदवार हुनै पाएनन् । अन्तिममा समानुपातिक सूचीमा समेत थापा अटेनन् ।

केन्द्रीय सदस्य दावा लामा, कृष्ण केसी, सहदेव बोगटी, नविन रोका लगायतले टिकटको अपेक्षा गरे पनि उम्मेदवार हुन पाएनन् ।

पूर्वमाओवादी समूहबाट एमालेमा ३२ जना केन्द्रीय सदस्य छन् । तीमध्ये आधामात्र उम्मेदवार बन्न पाए । जसमा ९ जनालाई प्रतिनिधिसभा र ७ जनालाई  प्रदेशसभामा उम्मेदवार बनाइएको छ । तत्कालीन नेकपा खारेजपछि माओवादी छोडेर एमालेलाई राष्ट्रियसभा सदस्य एक, प्रतिनिधिसभा सदस्य ४ र प्रदेशसभा सदस्य १४ जनाले समर्थन गरेका थिए । ती सबैले आफ्नो पद धरापमा राखेर एमालेलाई सहयोग गरे पनि आसन्न निर्वाचनका लागि ओलीले टिकट नदिएपछि असन्तुष्ट बनेका छन् ।

पूर्वमाओवादी नेता प्रभु साहले टिकट वितरण र तालमेलमा असन्तुष्टि जनाउँदै एमाले छोडेर स्वतन्त्र उम्मेदवारी दिइसकेका छन् । आफूले भनेका उम्मेदवारलाई टिकट नदिएको तथा जसपासँग तालमेल गर्दा परामर्श नगरेको भन्दै उनले पार्टीले दिएको टिकटसमेत अस्वीकार गरी स्वतन्त्र उम्मेदवारी दिए ।

साहले मधेस प्रदेशमा प्रतिनिधिसभातर्फ ११ र प्रदेशसभातर्फ २५ क्षेत्रमा आफ्नो पक्षबाट स्वतन्त्र उम्मेदवारी दिन लगाएका छन् । एमाले छोडेको घोषणा गर्दै साहले रौतहट–३ मा सत्ता गठबन्धनलाई आफ्नो समर्थनमा उभ्याएका छन् । अहिले एमालेले उनलाई कारवाही गरेर पार्टीबाट निकालिसकेको छ ।

‘ओलीजीले जसरी मधेसवादी दलसँग अपवित्र गठबन्धन गर्नुभयो, त्यसले गर्दा भागबन्डाको गलत राजनीतिको अभ्यास भयो । त्यसलाई रोक्न मैले प्रयास गरेको छु,’ रातोपाटीसँगको कुराकानीमा साहले भने, ‘मेरो यो कदम देश र जनताको पक्षमा छ । कम्युनिस्ट आन्दोलनको पक्षमा छ । एक ढङ्गले भन्ने हो भने एमालेको पक्षमा छ ।’

उपेन्द्र यादवसँग तालमेल गर्दा कसको इसारामा गरेको भन्दै साहले ओलीलाई प्रश्नसमेत गरेका छन् । ‘मेरो पनि ओलीजीलाई प्रश्न छ । तपाईंले उपेन्द्र यादवसँग जुन साँठगाँठ गर्नुभयो । त्यो कसको इसारामा गर्नुभयो ? हामी जान्न चाहन्छौँ,’ साहले भने ।

एमाले र जसपाबीच भएको तालमेल देश र जनताको पक्षमा नभएको भन्दै साहले आक्रोश पोखे । ‘जसपासँगको गठबन्धन न देशको पक्षमा छ न जनताको पक्षमा छ । न एमालेकै पक्षमा छ । एमालेप्रतिको जुन एउटा आकर्षण थियो, जुन एउटा विश्वास थियो, त्यो ध्वस्त भयो,’ साहले भने, ‘हिजो उहाँले मधेसवादी भनेको साम्प्रदायिक शक्ति हो, यसले देशको एकतालाई खलबल्यायो, यो कुनै विदेशीको इशारामा चलेको पार्टी हो भनेको सन्दर्भमा एकाएक जब बालकोटमा मैले उपेन्द्र यादवजीलाई देखेँ, म आफै पनि आश्चर्यचकित भएँ ।’

प्रभु साह एमालेबाट निस्किएपछि त्यसको क्षति एमालेले मधेसमा नराम्रोसँग भोग्ने देखिएको छ । मधेसमा कमजोर भएको एमालेलाई प्रभुले नै बलियो बनाएका थिए । अन्तिममा उनी नै पार्टीबाट निस्किएपछि चुनावमा त्यसको असर देखिने जानकार बताउँछन् ।

पूर्वमाओवादीलाई चिढ्याउँदै ओली

ओलीको बोली र व्यवहारले पूर्व माओवादी समूहलाई चिढ्याउने गरेको एक अर्का केन्द्रीय सदस्यले बताए । ‘हामीसँगै बसेको कार्यक्रममा समेत केपी कमरेडले जनयुद्धको धुलो काडेर विरोध गर्नुहुन्छ । हामी बसेको ख्यालै गर्नुहुन्न,’ ती नेताले भने, ‘केपी कमरेडलाई कम्युनिस्ट पार्टीको एकता र ध्रुवीकरण मन पर्दैन । राजेन्द्र लिङ्देन, कमल थापा र होलिवाइनका योजनाकार एकनाथ ढकाल मन पर्छ । र उनीहरुसँगै सहकार्य र एकता गर्न लाग्नुहुन्छ ।’

एकपछि अर्को गर्दै जनयुद्धले स्थापित गरेका एजेण्डालाई खिल्ली उडाउँदा पार्टीमा बस्ने अवस्था नभएको ती नेताले बताए । आफूहरुले नेकपाको निरन्तरतामा केपी ओलीलाई समर्थन गरेकाले एमाले प्रवेश गरेको भन्न नमिल्ने उनको जिकिर छ । ‘हामीले नेकपाको निरन्तरतामा पहिलो अध्यक्षको रुपमा केपी कमरेडलाई समर्थन ग¥यौं । प्रचण्ड र माधव नेपाललाई छोडिदियौं । हामी नेकपाकै निरन्तरता चाहन्छौं,’ ती केन्द्रीय सदस्यले भने, ‘केपी कमरेड नेकपाको निरन्तरता होइन, पार्टीलाई पूरै ओलीकरण गर्नुभयो । पार्टीमा सही–गलत भन्ने नै छैन । केपी कमरेडले जे बोल्यो, तलसम्म एउटै स्वर हुने भयो । एक ढंगले पार्टीलाई स्टालिनपथमा लग्नुभयो ।’

पार्टी पोलिटब्यूरो सदस्य बालकृष्ण ढुंगेलको मृत्युले महत्त्व नपाएको विषयले समेत पूर्वमाओवादी नेताहरुलाई झस्काएको छ । जनयुद्धमा यति धेरै त्याग गरेको नेताको निधन हुँदा समेत नेतृत्वले कुनै महत्व नदिएपछि उनीहरुलाई चिन्तित बनाएको हो ।

‘१० भाइ’को समेत उस्तै हालत

पार्टी विभाजनको पूर्वसन्ध्यामा माधव नेपालको साथ छोडेर ओलीलाई साथ दिएका ‘१० भाइ’सँग समेत ओलीले पूर्वाग्रह राखेका छन् । ‘१० भाइ’ लाई टिकट दिने क्रममा ओलीले आत्मालोचना गर्नुपर्ने शर्त राखेका थिए । त्यसमध्ये ७ जनालाई टिकट नदिएर ओलीले सजाय दिइसकेका छन् । तीन जनाले भने प्रतिनिधिसभातर्फ टिकट पाएका छन् ।

‘१० भाइ’ मध्ये टिकट पाउने भाग्यमानी तीन जनामा उपाध्यक्ष सुरेन्द्र पाण्डे (चितवन १) र सचिवद्य योगेशकुमार भट्टराई (ताप्लेजुङ), भीम आचार्य (सुनसरी–२) छन् ।

एमाले नेता भीम रावल र घनश्याम भुसाललाई ओलीले टिकट नै दिएनन् । रावल अछाम–१ बाट प्रतिनिधिसभामा एकल सिफारिसमा परे पनि ओलीकै जोडबलमा जिल्लाबाट सिफारिस नै नभएका पूर्व माओवादी समूहका झपट बोहराले टिकट पाए । गत बिहीबार रावलले पत्रकार सम्मेलन गर्दै ओलीले चुनावमा हराउन नसक्ने भएपछि उम्मेदवारी हुनबाट रोकेको बताएका छन् । रावलले टिकट वितरण पूर्वाग्रह राखेको, राष्ट्रियतामा चुकेको, विचार नमिल्नेसँग तालमेल गरेको भन्दै २० भन्दा बढी आरोप ओलीमाथि लगाएका छन् ।

भुसाललाई ओलीले टिकट नदिएपछि रुपन्देही–१ बाट स्वतन्त्र उम्मेदवारी दिएका छन् । यद्यपि उनलाई सत्ता गठबन्धनले सहयोग गर्ने बचन दिएको छ । उपाध्यक्ष अष्टलक्ष्मी शाक्य र स्थायी कमिटी सदस्य अमृत बोहरालाई एमालेले उम्मेदवार बनाएन । दुवै जनालाई समानुपातिकमा समेत समेटिएको छैन ।

स्थायी कमिटी सदस्य रघुजी पन्तलाई प्रत्यक्ष उम्मेदवार नबनाए पनि समानुपातिकमा समेटिएको छ । उपाध्यक्ष युवराज ज्ञवाली टिकट नपाउने अवस्था देखेपछि चुनावी रेसबाट बाहिर बसे । ‘स्थानीय तह चुनावमा छानीछानी ओली समूहलाई मात्रै टिकट दिइयो । पूर्व माओवादी र १० भाइ पक्षलाई टिकट दिए पनि हराउने काम भयो,’ ती नेताले भने, ‘अहिलेको चुनावमा पनि सकेसम्म टिकट दिन रोकियो । यदि टिकट पाए पनि आन्तरिक रुपमा हराउने तयारी देखिन्छ । जुन खतरनाक योजना हो ।’ 

एमालेले नेता रामवीर मानन्धरलाई टिकट नदिएपछि काठमाडौं–७ बाट उनले स्वतन्त्र उम्मेदवारी दिएका छन् । पार्टीले आफूलाई अन्याय गरेर टिकट नदिएको भन्दै उनले एमाले छोडेको घोषणा गरेका छन् । उनी सो क्षेत्रबाट २ पटक निर्वाचित भइसकेका थिए ।

पार्टीभित्र देखिएको यो असन्तुष्टि र नेतृत्वको पूर्वाग्रही निर्णयले एमालेलाई आसन्न निर्वाचनमा कति क्षति गर्छ भन्ने हेर्न बाँकी नै छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

वीरेन्द्र ओली
वीरेन्द्र ओली
लेखकबाट थप