बुधबार, १९ असार २०८१
ताजा लोकप्रिय

अभिनेत्रीको सुसाइड नोट : पूर्व प्रेमीबारे लेखिन्, ‘राहुलले मेरो फोटो मंगेतरलाई पठाए, हिंसा गरिरहे’

सोमबार, ३१ असोज २०७९, १६ : ५८
सोमबार, ३१ असोज २०७९

भारतकी टिभी अभिनेत्री वैशाली ठक्करको मृत्यु त्रिकोणात्मक प्रेम सम्बन्धका कारण भयो वा उनी ब्ल्याकमेलिङको शिकार भइन् ? लकडाउनपछि उनी करियरबारे के सोचिरहेकी थिइन् ? उनी मुम्बईमा नबसेर इन्दौरमा नै किन लामो समयदेखि बसिरहेकी थिइन् ? यीमध्ये यस्ता केही प्रश्नको जवाफ नायिकाले आफ्नो सुसाइड नोटमा दिएकी छिन् । सुसाइड नोटमा वैशालीले राहुल नवलानी र उनकी श्रीमती दिशा नवलानीले आफूलाई मानसिक यातना दिएको आरोप लगाएकी छन् । त्यसपछि प्रहरीले यी दुई विरुद्ध आत्महत्या दुरुत्साहनको मुद्दा दर्ता गरेको छ ।

प्रहरीले आरोपी राहुललाई आइतबार नै हिरासतमा लिएको थियो । स्रोतका अनुसार प्रहरीले उनलाई घरबाटै पक्राउ गरेको हो । प्रहरीले सुसाइड नोट प्राप्त गर्दा राहुल घरमै थिए । अहिले प्रहरीले उनीसँग सोधपुछ गरिरहेको छ ।

वैशाली ठक्कर को हुन् ?

‘ये रिश्ता क्या कहलाता है’ की संजनालाई तपार्इंले बिर्सनु भएको छैन होला । वा ‘ससुराल सिमरका’ शोबाट अञ्जली भारद्वाज, जसले नकारात्मक भूमिकामा उत्कृष्ट अभिनेत्रीको लागि गोल्डेन पेटल अवार्ड पनि पाएकी छिन् । दर्शकले वैशालीलाई सुपर सिस्टर मनमोहिनी सिजन २ मा पनि देखेका छन् । उनको अन्तिम सिरियल रक्षाबन्धन थियो । तेजाजी नगर निवासी २९ वर्षीया वैशाली  ठक्करले शनिबार राति इन्दोरको साईबागस्थित आफ्नै घरमा सलको पासो लगाएर आत्महत्या गरेकी थिइन् ।

वैशालीले सुसाइड नोटमा राहुललाई कारबाही गर्नुपर्छ भनेर किन भनिन् ?

प्रहरीले वैशालीको घरबाट बरामद गरेको सुसाइड नोटमा राहुल नवलानीको नाम उल्लेख छ । वैशालीले लेखेकी छिन्, ‘राहुलले मलाई सताएको छ । उसले मेरो मित्रताको फाइदा उठायो।  राहुलले मलाई यति धेरै दुख दियो कि मैले आत्महत्या गर्नु पर्यो । राहुलले धोका दिएर मेरो फोटो खिचे । त्यसपछि यी फोटो–भिडियोहरू मेरो मंगेतर अभिनन्दन (एनआरआई डाक्टर–व्यवसायी) लाई पठाए । यसपछि इन्गेजमेन्ट टुट्यो ।’

वैशालीले डायरीको अन्तिम पानामा लेखेकी छिन् – पापा(भाइले तपाईंलाई धेरै माया गर्छ तर राहुल र ती केटीलाई सजाय दिनुहोस् ।’ वैशालीले सुसाइड नोटको एउटा पानामा साढे दुई वर्षभन्दा बढी समयदेखि डिस्टर्बमा रहेको पनि उल्लेख गरेकी छन् ।

प्रहरी अहिले के गर्दैछ ?

प्रहरीले वैशालीको सुसाइड नोट, डायरी, मोबाइल फोन बरामद गरेको छ । प्रहरीका अनुसार बरामद सुसाइड नोटको सत्यताबारे पहिले अनुसन्धान गरिने छ । हस्तलेखन विशेषज्ञको पनि सहयोग लिइनेछ । वैशालीले सुसाइड नोटमा लेखेका हरेक बुँदालाई प्रहरीले नजिकबाट नियालेर पुष्टि गर्नेछ । आवश्यक परे आफन्तबाहेक सुसाइड नोटमा उल्लेख भएका व्यक्तिलाई पनि कानुनी रुपमा सोधपुछ गरिने प्रहरीले जनाएको छ । बरामद मोबाइलको कल रेकर्डिङ र मेसेज पनि जाँच गरिने छ । मेटाइएका सन्देश वा कल इतिहास पनि पुनर्स्थापित गरिनेछ ।

एनआरआईसँगको सम्बन्ध एक महिनामै टुट्यो, राहुल नै दोषी

वैशालीले अप्रिल २०२१ मा डा. अभिनन्दन सिंहसँग इन्गेजमेन्ट गरेकी थिइन् । अभिनन्दन केन्यामा बस्ने बताइएको छ । यी दुईको भेट लकडाउनका बेला म्याट्रिमोनियल साइटमा भएको थियो । वैशालीले सोसल मिडियामा आफ्नो इन्गेजमेन्ट एक महिनामा नै टुटेको खबर गरेकी थिइन् । पछि वैशालीले आफ्नो इन्गेजमेन्टको तस्बिर सोसल मिडियाबाट डिलिट पनि गरिन् । सम्बन्ध टुट्नुको कारण उनका पूर्व प्रेमी राहुल नै थिए । राहुलले अभिनन्दनलाई वैशाली र आफ्नो गोप्य तस्बिर र भिडियो पठाइदिएका थिए ।

डिसेम्बरमा हुन लागेको थियो वैशालीको विवाह

वैशालीका साथी विकास सेठी र उनकी श्रीमती जान्ह्वी राणाका अनुसार नायिकाको छिट्टै क्यालिफोर्नियामा सेटल सफ्टवेयर इन्जिनियर मितेशसँग विवाह हुन लागेको थियो । मुम्बई गएर वैशाली सपिङ गर्ने तयारीमा थिइन् । विवाहका लागि वैशाली निकै खुसी थिइन् ।

राहुलले पुनः मितेशलाई पनि ती फोटोहरु पठाइदिने धम्की वैशालीलाई दिइरहेका थिए । वैशालीले राहुलको मानसिक हिंसा सहन नसकेका कारण आत्महत्याको बाटो रोज्नुपरेको सुसाइड नोटमा लेखेकी छिन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप