शनिबार, ०५ जेठ २०८१
ताजा लोकप्रिय

अवरुद्ध सडक तत्काल खुलाउन गृह मन्त्रालयको निर्देशन

सोमबार, ३१ असोज २०७९, १६ : ५७
सोमबार, ३१ असोज २०७९

गृह मन्त्रालयले वर्षातको कारण अवरुद्ध सडक तत्काल सुचारु गराउन सम्बन्धित जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुलाई निर्देशन दिएको छ । सोमबार गृह मन्त्रालयमा आयोजित प्रमुख जिल्ला अधिकारीहरूसँगको ‘भर्चुअल’ बैठकमा बोल्दै गृह सचिव विनोद प्रकाश सिंहले निर्वाचनको कार्यक्रमलाई समेत मध्यनजर राखेर २०÷२२ दिन भित्र सो काम सम्पन्न गर्न सम्बन्धित प्रमुख जिल्ला अधिकारीहरुलाई निर्देशन दिएका हुन् । 

स्थानीय सरकारहरुसँग समन्वय गरेर सडक सञ्चालनको सहज व्यवस्था मिलाउन प्रमुख जिल्ला अधिकारीहरुले समन्वयकारी भूमिका पनि निर्वाह गर्नुपर्ने उनको भनाई थियो । गृह सचिव सिंहले अवरुद्ध भएको विद्युत र सञ्चार सेवालाई सुचारु गराउने काममा पनि सम्बन्धित प्रमुख जिल्ला अधिकारीहरुलाई ढिलाई नगर्न सचेत गराए ।

केन्द्रीय निकायहरुसँग समन्वय गरेर सो कामलाई सहजीकरण गर्न मन्त्रालय तयार रहेको उल्लेख गर्दै गृहसचिव सिंहले त्यसका लागि रिर्पोटिङ गरेर तत्काल मन्त्रालय पठाउन पनि प्रमुख जिल्ला अधिकारीहरुलाई निर्देश गरे ।

उनले भने, ‘एउटा यो यातायातको साधनको पहुँचको कुरा छ । यो प्रमुख जिल्ला अधिकारीकै कार्य क्षेत्रभित्र पर्छ । काम गर्ने त अरुले हो, तर समन्वय गर्ने यहाँहरूले हो । लगभग अझै पनि हामीसँग २०÷२२ दिन बाँकी छ । करिब चार हप्ता समय छ लगभग । यो अवधिमा अब पानी पर्दैन भन्ने अनुमान गरिन्छ । त्यसकारण त्यहाँ भएका बाटो निर्माणका कामहरु लोकल बाटो पनि सुचारु गराउनका लागि स्थानीय तहहरूसँग, स्थानीय सरकारसँग समन्वय गर्ने र त्यसलाई तदारुकताका साथ अगाडि बढाउने कार्यमा यहाँहरुको प्राथमिकता रहोस् । यो कुरा समन्वय गर्नुहोला, याद गर्नुहोला ।’ 

उनले भने, ‘अर्को विद्युतको सुनिश्चितता नभएको ठाउँमा, पावर हाउसहरु नै ढलेका छन् । कतिपय ठाउँमा विद्युतका लाइनहरु बिग्रेका छन् । विद्युत अवरुद्ध भएको छ । सञ्चारमा समस्या देखिएका छन । ती कुराहरुमा पनि तपाईहरुले व्यवस्था गर्ने काम गर्नुहोला । मन्त्रालयमा रिर्पोटिङ होस् र केन्द्रिय निकायहरुमा पनि तत्काल खवर गरेर हामीले कुन–कुन जिल्लामा बाटाहरु अवरुद्ध भएका छन ? थप साधनहरु लगेर भएपनि तत्काल खुलाउने व्यवस्था गर्न म अनुरोध गर्दछु ।’

त्यसैगरी गृह मन्त्रालयले ठोस मापदण्ड तय गरी निर्वाचनका लागि आवश्यक सुरक्षाकर्मी परिचालन गर्ने व्यवस्था मिलाउन पनि जिल्ला प्रशासन कार्यालयहरुलाई निर्देशन दिएको छ । गृहसचिव सिंहले जिल्लामा रहेका सुरक्षा निकायका प्रमुखहरुको समन्वयमा सो कामको व्यवस्था गर्न ढिलाई गर्न नहुने पनि स्पष्ट पारे । उनले चाहिने ठाउँमा सुरक्षाकर्मीको अभाव हुने र नचाहिने ठाउँमा बढि हुने अवस्था आउन नदिन पनि जिल्ला प्रशासन कार्यालयहरु सचेत हुनुपर्ने बताए ।

गृहसचिव सिंहले भने– ‘थप सुरक्षाकर्मीको कुरा अघि आएको छ । मेरो पनि अनुरोध के छ भने कतिपय ठाउँहरुमा यो कुरालाई हाम्रा जिल्ला एसपी साबहरुले र सुरक्षा निकायका प्रमुखहरुले पनि उहाँहरूसँग पनि समन्वय गरेर व्यवस्था गर्नुहोला । कतिपय ठाउँमा अहिले निर्वाचनमा कतिलाई थप सुरक्षाकर्मी चाहिने हो भन्ने कुरा अनुमान नहुँदा खेरी  कहिलेकाँही चाहिने एकातिर हुन्छ तर हामीले सुरक्षाकर्मी अर्कोतिर बुक गरिराखेका हुन सक्छौं । त्यसैले त्यो कुराहरुलाई विश्लेषण गर्न सक्ने कमाण्डरहरु त्यहाँ हुुनुपर्‍यो । त्यसकारण सुरक्षाकर्मी परिचालनका निम्ति पनि एकै खालको मापदण्ड बनाउनुहोला ।’

गृहसचिव सिंहले जिल्ला प्रशासन कार्यालयहरूले आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा केन्द्रित भएर आफ्ना गतिविधिहरु अघि बढाउनुपर्ने पनि बताए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप