सत्यमोहन जोशी : संस्कृति र सभ्यताको ‘केन्द्र’मा हुर्केर ‘विकेन्द्र’ खोज्ने नेवार ठिटो
आउँदैन चरीको दूध
हुँदैन दुःखीको घरबार !
***
चरीको के घर छ र !
रात काट्यो डालीमा बसेर ।
***
के खायो के लायो होला
वनको जुरेली चरीले ।
***
खानु लाउनु भनेको के छ
पिरती लाउनु नै ठूलो छ ।
***
मायालाई जाउँ भन्दाभन्दै
बाटोमुनि गोल सिमल करायो !
उपरोक्त हरफहरू संस्कृतिविद् सत्यमोहन जोशीको पुस्तक ‘नेपाली लोकगीत : एक अध्ययन’बाट लिइएको हो । २०११ सालमा प्रकाशित यस पुस्तकमा जोशीले केही गीत, ती गीतमाथि आफ्नो बुझाइ र लोकसाहित्य सम्बन्धमा आफ्ना दृष्टिकोण पस्केका छन् ।
नेपाली भाषा–साहित्य, संस्कृति र इतिहासको क्षेत्रमा सत्यमोहन जोशीको नाम जबर्जस्त स्थापित छ । इतिहास, सभ्यता र संस्कृतिको केन्द्र मानिने काठमाडौं उपत्यकामा जन्मे–हुर्केका जोशीले ग्रामीण भेगबाट आफ्नो खोज–अनुसन्धान आरम्भ गरेका थिए ।
जोशीको जन्म ललितपुरको पाटन बखुंंबहालमा १९७७ वैशाख ३० गते भएको थियो । उनले काठमाडौंको दरबार हाइस्कुलबाट प्रवेशिका (१९९७) र त्रिचन्द्र कलेजबाट आइए (१९९९) गरे । उनको जागिरे जीवन अर्थात् खोज–अनुसन्धानको यात्रा भने २००१ सालदेखि सुरु भयो । ‘औद्योगिक–व्यापारिक समाचार संग्रह अड्डा’को इन्डस्ट्रियल सर्भे अफिसर भएर पाँच वर्ष (२००१–२००६) काम गर्दा उनले गोर्खा, लमजुङ, तनहुँ लगायत क्षेत्रको भ्रमण गरे । यी ठाउँका लोकभाका र साहित्यप्रति उनी सम्मोहित हुन पुगेका थिए ।
सयौँ वर्षदेखि सत्ताको केन्द्र रहेको ठाउँमा जन्मे–हुर्केका जोशीले गाउँघरे जीवन र परिवेशमा लोकसाहित्यको मूल र मर्म देख्न पुगे । काठमाडौंलाई मात्रै देशको कला, साहित्य र सभ्यताको केन्द्र मानियो भन्ने गुनासो र बहस अझै यथावत छन् । तर, यही ठाउँबाट आजभन्दा झन्डै आठ दशकअघि जागिरको सिलसिलामा ग्रामीण भेग पुगेका एक नेवार ठिटाले कला र साहित्यको ‘विकेन्द्र’ खोजी गरेका थिए । खोज्दै र चिन्तन गर्दै जाँदा उनीभित्र एउटा भिन्न चेतको निर्माण भयो ।
‘गाउँघरे चरीको सुमधुर लयमा, गाउँघरे झरी वर्षाको तालमा, गाउँघरे झर्ना नदीनाला खहरेको गीतमा, गाउँघरे सुखदुःखको आवहवामा, गाउँघरे वनजंगलको मृदु मुस्कानमा, गाउँघरे डाँडाकाँडा हिमचुचुरोको गगनचुम्बी लक्ष्यमा, गाउँघरे जनताको नैसर्गिक हृदय उद्गारमा नेपाली लोकसाहित्यको सिर्जना भो, सिर्जना भइरहेछ र हुने पनि छ,’ जोशीले आफ्नो उपरोक्त पुस्तकमा लेखेका छन्, ‘यसैले लोकसाहित्य जनताको श्रीसम्पत्ति हो । जनताकै निम्ति सिर्जना भएको मानौँ लोकतन्त्र सरकारझैँ । जुन लोकगीतमा गाउँघरे संस्कृति छैन, कला छैन, लय ताल सुर छैन– त्यो लोकगीत होइन, लोकगीतको अनुकरण या नक्कल मात्र हो ।’
‘लोकसाहित्यले छोयो’
जागिरका लागि काठमाडौं उपत्यका छाडेर बाहिर जिल्लाका गाउँहरूमा जानुपर्दा जोशीलाई लागेको थियो– पाटन सहरको मान्छे, गाउँघरमा बस्नै नसक्ने त होइन !
त्यतिबेला स्थानीय स्तरमा के कस्ता उद्योग सञ्चालन गर्न सकिन्छ भनी सरकारले तथ्यांक लिएको थियो । अड्डाको नामै ‘औद्योगिक–व्यापारिक समाचार संग्रह अड्डा’ भएकाले जोशीको काम थियो– मानिसहरूलाई भेट्ने, गाउँको रीतिरिवाजदेखि सकेसम्म सबै कुराको रिपोर्ट तयार गर्ने । शब्दयात्रा साहित्यिक त्रैमासिक (०६६ फागुन) का लागि केदार बाँसकोटाले लिएको अन्तर्वार्तामा जोशीले भनेका छन्, ‘त्यही क्रममा मलाई त लोक लोकसंस्कृति र लोकसाहित्यले छोयो ।’
त्यतिबेला सत्यमोहन तनहुँको मानहुँकोट भन्ने गाउँमा पनि पुगेका थिए । उनको सम्मानमा त्यहाँका जनताले उनलाई नाचगान देखाए । नरेन्द्रराज प्रसाईको पुस्तक ‘शताब्दी पुरुष : सत्यमोहन जोशी’मा उल्लेख भएअनुसार, आफूले कल्पनासम्म नगरेको नाचगान त्यहाँ जोशीले देखेका थिए । त्यहाँका नाच्ने मान्छे प्रायः सबै तरुनी थिए । उनी बसेको ठाउँमा राति तिनीहरू राँको बालेर आए । त्यतिबेला उनीहरूले नाचगानप्रति देखाएको उत्साह अवर्णनीय थियो । जोशीले भनेका छन्, ‘त्यसरी तरुनीहरू नाचेको देखेको मैले त्यो पहिलोचोटि थियो । वास्तवमा त्यतिबेला मलाई शंका पनि लाग्यो, तिनीहरू आइमाई हुन् वा लोग्ने मान्छे हुन् भनेर । मैले भोलिपल्ट बिहान मात्रै थाहा पाएँ, ती सबै मगर जातिका महिला रहेछन् । मलाई त्यतिबेला नै लागेको थियो– नेपाली लोकसंस्कृति हुर्काउनमा मगर जातिको भूमिका उल्लेखनीय रहेछ ।’
राणाकालमा काठमाडौंका नागरिकलाई नाच्न–गाउन बन्देजजस्तै थियो । कर उठाउनबाहेक सितिमिती सरकार नामको कुनै जिनिस नपुग्ने गाउँहरूमा जोशीले जनताले आफ्ना दुःख, भावना र जीवन–दर्शन गाएको सुने, देखे । उनलाई विशेषतः एउटा हरफले छोयो–
के खायो के लायो होला,
वनको जुरेली चरीले ।
यी हरफलाई आफूले जीवनको दर्शन नै बनाएको जोशीले बताउँदै आएका थिए । ‘हेर्नुस्, म त जुरेली दर्शनको मान्छे । कुनै चिजमा किन आशक्त हुने ? किन लोभलालच पाल्ने ? जुरेलीको दर्शन पो दर्शन त !’ जोशीमाथि लेखिएको अनिल पौडेलको अनुसन्धानमूलक कृति ‘जुरेली दर्शन’मा जोशी भन्छन्, ‘के खायो के लायो होला, वनको जुरेली चरीले ! दत्तात्रयका चौबीस गुरु थिए, मेरो त एउटै गुरु हो, जुरेली । कुनै दिन मोहका पछि पनि लागियो, पाँचौँ दर्जाको गोरखा दक्षिणबाहु भए पनि पाऊँ भनेर कुदियो । तर मोहभन्दा माथि छु अहिले ।’
जोशी ९८ वर्षको हुँदा यो संवाद भएको थियो । जोशीले क्रियाशील, स्वस्थ र सानदार जीवन बाँचे । ६ दर्जन कृतिका कृतिकार जोशीलाई पुरस्कारको कुनै कमी रहेन ।
जीवनका अन्तिम घडीसम्म उनलाई सम्झने र भेट्नेहरू घटेका थिएनन् । हरेक दिनजसो संस्कृति र इतिहासमा रुचि भएको कुनै पत्रकार, वा विद्यार्थीले उनलाई फोन गरेकै हुन्थे । जीवनका अन्तिम घडीसम्मै विस्मृतिविनै संस्कृतिका बारेमा उनले गहिरो बुझाइ व्यक्त गर्थे । उनको खानपान र जीवनशैली पनि लोभलाग्दो थियो ।
११ मंसिर २०७८ मा यो पंक्तिकारको नागरिक दैनिकमा आलेख छापिएको छ, ‘मिडियामा मदिरा विज्ञापन र घरेलु ब्रान्ड’ शीर्षकमा । त्यसको अघिल्लो दिन संस्कृतिविद् जोशीलाई यस पंक्तिकारले फोन गरेको थियो । उनले भनेका थिए, ‘कहिलेकाहीँ सुत्ने बेला एक पेग स्थानीय मदिरा पिउँछु । मात्रा मिलाएर खाए मदिरा औषधि हो । नेवारहरूको त संस्कृति हो ।’
संस्कृतिको जगेर्नामा जोशी सधैँ जोसिला रहे । यही ४ असोजमा ‘रातोपाटी’ले नृत्यशास्त्री भैरवबहादुर थापाबारे फिचर छापेको थियो । त्यतिबेला भैरवले आफूलाई एक विशेष मोडमा संस्कृतिविद् जोशीले साथ दिएको बताएका छन् । २०१० सालतिर भैरवले टुँडिखेलमा स्थानीयलाई नृत्य सिकाउँदै थिए । त्यो देखेर सुबिस्ताका लागि जोशीले उनलाई पाटनस्थित आफ्नै घरको छिँडीमा ठाउँ दिए । काठमाडौंको क्षेत्रपाटी, इन्द्रचोक, कमलपोखरीदेखिका मानिस जोशीको छिँडीमा नृत्य सिक्न पुग्थे । यसै सम्बन्धमा जोशीसँग हामीले थप कुरा गर्ने सोचेका थियौँ, तर जोशी कमजोर हुँदै गए र अतन्तः आइतबार अस्ताए ।
आफ्नो सम्पूर्ण जीवन साहित्य, संस्कृति र इतिहासको खोज–अनुसन्धानमा अर्पेका शताब्दी पुरुष जोशीको पार्थिव शरीरलाई आइतबार राष्ट्रिय सम्मानसहित अन्तिम बिदाइ गरियो । जोशीको पार्थिव शरीरमा प्रधानमन्त्री शेरबहादुर देउवाले राष्ट्रिय झन्डा ओढाए । नेपाल प्रहरीको एक टुकडीले शोक सलामी दियो । सरकारले जोशीको निधनमा शोकस्वरूप एक दिन बिदा दिने घोषणा गरिसकेको छ ।
आइतबार बिहान ललितपुरको किस्ट अस्पतालमा उनको निधन भएको थियो, अन्तिम श्रद्धाञ्जलिका लागि आइतबार अपराह्न उनको पार्थिव शरीरलाई ललितपुर महानगरपालिका परिसरमा राखियो । जोशीको पार्थिव शरीरप्रति श्रद्धाको फूल चढाउन राजनीतिक दलका शीर्ष नेता, लेखक–कलाकारदेखि सर्वसाधारण ओइरिए ।
जोशीले जीवित छँदै मृत्युपछिको आफ्नो शरीर किस्ट अस्पताललाई अध्ययनका लागि दान गरेका थिए । जोशीको परिवार, ललितपुर महानगरपालिका र अस्पताल प्रशासनबीच भएको छलफलपछि उनको पार्थिव शरीरलाई केमिकल प्रयोग गरेर राखिने भएको छ ।
सिञ्जाविद्
पछि जोशी संख्या विभागमा (२००७–२०१३) सुपरीवेक्षक पदमा जागिरे भए । पश्चिम घुम्दा उनको मन–मस्तिष्कमा रोपिएको लोकसाहित्यको बीज अंकुराउँदै गयो । उनी त्यस सम्बन्धमा चिन्तन–मनन र अध्ययन गर्दै थिए ।
उनले पश्चिम क्षेत्रमा संकलन गरेका केही लोकगीतलाई शारदा साहित्यिक मासिकले २००३ माघको अंकमा छापेको थियो । यसपछि काठमाडौंंमा उनको चर्चा चल्न थाल्यो । आफूले संंकलन गरेका गीतमा आफ्नो दृष्टिकोण राखेर उनले पछि (२०११ सालमा) पुस्तक प्रकाशन गरेका थिए । यसको दुई वर्षपछि उनले अर्को पुस्तक ‘हाम्रो लोक संस्कृति’को पाण्डुलिपि तयार गरे । यस पाण्डुलिपिलाई नै मदन पुरस्कार दिइयो । यो पुस्तक २०१४ सालमा रत्न पुस्तक भण्डारबाट प्रकाशित भयो । जसको कभरमा लेखिएको छ, मदन पुरस्कार गुठीद्वारा पुरस्कृत ।
मदन पुरस्कार पाएपछि सहरमा जोशीको जोश र ज्योति बढ्न थाल्यो । उनलाई वृत्ति र नियुक्तिको कुनै खाँचो भएन । राष्ट्रिय योजना परिषद्को प्रोग्राम अफिसर (२०१४–२०१५), पुरातत्व र संस्कृति विभागको निर्देशक (२०१५–२०१७), चीनको बेइजिङमा ‘नेपाली भाषा, साहित्य र संस्कृति’ सम्बन्धमा प्रशिक्षक (२०२२–२०२५) हुँदै उनी नेपाल राजकीय प्रज्ञा प्रतिष्ठानको सहसदस्य (२०२६–२०३०) र सदस्यसचिव (२०३१–२०३५) भए ।
योबीचमा उनको ‘नेपाली राष्ट्रिय मुद्रा’ (२०१९) ग्रन्थ प्रकाशित भयो, यसबाट उनले दोस्रोपटक मदन पुरस्कार थापे । उनीभित्र नेपाली भाषा, साहित्य र संंस्कृतिको खोजमा समर्पित भएर लाग्ने रहरले घर गरिसकेको थियो । जब उनी प्रज्ञा प्रतिष्ठानमा पुगे, उनको रहरले प्वाँख र पखेटा पायो । यसपछि (२०२७ सालमा) उनले नेपाली भाषा उत्पत्तिको मूल थलो सिञ्जाको उडान भरे । यस सम्बन्धमा उनलाई डोरबहादुर विष्टले केही सल्लाह–सुझाव दिएका थिए ।
जोशी ‘प्रोजेक्ट लिडर’ थिए– नेपाली भाषाको उत्पत्ति थलो सिञ्जाखोला उपत्यकामा लोक संस्कृति सर्वेक्षण (२०२७) को । उनको टोलीमा थिए– विहारीकृष्ण श्रेष्ठ (गृह मन्त्रालय, पञ्चायती तालिम क्षेत्र), चूडामणि बन्धु (त्रिभुवन विश्वविद्यालय, नेपाली विभाग), स्थिरजंगबहादुर सिंह (राष्ट्रिय आयोजना निकाय) र प्रदीप रिमाल (प्रज्ञाप्रतिष्ठान) । त्यस अध्ययनको परिणामस्वरूप सबैले एक–एकवटा ग्रन्थ तयार गरे– जोशीले कर्णाली लोक संस्कृति– १ ‘इतिहास’, स्थिरजंगबहादुर सिंहले कर्णाली लोक संस्कृति २ ‘भौगोलिक ‘दृष्टिकोण’, बिहारीकृष्ण श्रेष्ठले कर्णाली लोक संस्कृति ३ ‘जनजीवन : दियारगाउँका ठकुरीहरू’, चूडामणि बन्धुले कर्णाली लोक संस्कृति ४, ‘भाषा’ र प्रदीप रिमालले कर्णाली लोक संस्कृति ५ ‘साहित्य संगीत कला’ । यी कृतिमा कर्णाली अञ्चलको इतिहास, भूगोल, जनजीवन, भाषा र लोक साहित्य समेटिएको छ । यी पुस्तकका लेखकले २०२८ सालको मदन पुरस्कार पाए । यसरी सत्यमोहन जोशी तीनपटक मदन पुरस्कार प्राप्त गर्ने आजसम्मका एक मात्र विजेता बने ।
त्यतिबेला जोशीको टोलीले ५० दिन सिञ्जाको भ्रमण गरेको थियो । त्यस भ्रमणलाई जोशीले जीवनकै सबैभन्दा महत्त्वपूर्ण उपलब्धि ठानेका थिए । ‘जुरेली दर्शन’ पुस्तकमा जोशीको भनाइ छ, ‘मेरो शैक्षिक प्रमाणपत्र आईएको मात्रै छ, त्रिचन्द्र कलेजमा बिए पढ्दापढ्दै जागिरे भएर हिँडेँ । म औद्योगिक सर्भेक्षक भएँ तर औद्योगिक विज्ञ भइनँ । जनगणनाको गणक भएँ तर जनसंख्याविद् भइनँ । योजना आयोगको कर्मचारी भएँ तर योजनाविद् भइनँ । चीनमा झन्डै ६ वर्ष बसेँ तर चीन विशेषज्ञ भइनँ । न्युजिल्यान्डको गहिरो अध्ययन गरेँ तर न्युजिल्यान्डविद् भइनँ । पाटन क्याम्पसमा ५ वर्ष पढाएँ तर प्राध्यापक भइनँ । अरनिकोलाई विशद अध्ययन गरेर बाहिर ल्याएँ तर अन्वेषक भइनँ । संस्कृति र पुरातत्व विभागको डाइरेक्टर भएँ तर डाइरेक्टर साब रहिनँ । प्रज्ञाप्रतिष्ठानको सदस्यसचिव भएँ तर प्राज्ञज्यू भइनँ । माओका कविताहरूको अनुवाद गरेँ तर अनुवादक भइनँ । खण्डकाव्य लेखेँ तर खण्डकाव्यकार भइनँ । महाकाव्य लेखेँ तर महाकाव्यकार भइनँ । काठमाडौं विश्वविद्यालयले महाविद्यावारिधिको मानार्थ उपाधि दियो तर डाक्टरसाब भइनँ । तर, सिञ्जामा मात्र ५० दिन गरेको अध्ययनले मलाई संस्कृतिविद् बनाइदियो, सधैँभरिका लागि । मलाई यही उपनामले चिनिदिए पुग्छ, अरु कुनै कुराको लोभ छैन । मलाई मदन पुरस्कार ह्याट्रिक गरेको भन्दा सिञ्जाविद भएकोमा गर्व छ ।’
२०७१ मंसिर १५ गते जोशीलाई नेपाल सरकारबाट ‘शताब्दी पुरुष’को पुरस्कार, उपाधि र सम्मान समर्पण गरिएको थियो । त्यतिबेला उपप्रधानमन्त्री वामदेव गौतम, मन्त्री नरहरि आचार्य र अख्तियार दुरूपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त लोकमान सिंह कार्कीबाट संयुक्त रूपमा हस्ताक्षरित ताम्रपत्र उनले पाएका थिए ।
‘फर्केर हेर्दा’ ४२ दिन चल्यो
जोशीले दैलाको बत्ती (२०२८), सिपाही र रैती (२०२७), फर्केर हेर्दा (२०३३), जब घाम लाग्छ (२०३५) लगायत नाटक लेखेका छन् । ‘फर्केर हेर्दा’ नाटक प्रज्ञा प्रतिष्ठानमा मञ्चन भएको थियो । यस नाटकको निर्देशन प्रचण्ड मल्लले र यसमा संगीत निर्देशन अम्बर गुरुङले गरेका थिए ।
हप्ता दिनका लागि भनेर मञ्चन गर्न सुरु गरिएको यस नाटकले दिन प्रतिदिन सफलता हासिल गर्दै गयो, ४२ दिनसम्म मञ्चन भयो ।
‘फर्केर हेर्दा’ नाटकमा कलाकार हरिहर शर्मा बाबुको भूमिकामा र शकुन्तला गुरुङ छोरीको भूमिका अभिनय गरेका थिए । यस विषयमा नरेन्द्रराज प्रसाईको पुस्तकमा जोशीले भनेका छन्, ‘हरिहर शर्मा र शकुन्तला गुरुङको त्यही नाटकदेखि सम्बन्ध क्रमशः गाढा हुन थाल्यो । परिणामस्वरूप पछि उनीहरू दाम्पत्य जीवनमा पनि बाँधिए ।’
त्यतिबेला हरिहर र शकुन्तला प्रेममा थिए । नाटकमा बाबुछोरी हुनुपर्दा उनीहरूलाई अलि अप्ठेरो लागेको थियो । यस सम्बन्धमा सोमबार हरिहरले टेलिफोनमा भनेँ, ‘तर अभिनयमा हामीले हाम्रोतर्फबाट सम्पूर्ण कोसिस गरेका थियौँ । नाटक हिट भयो । त्यहीँबाट उहाँ (सत्यमोहन) र मेरो सम्बन्ध झनै प्रगाढ बन्यो । नाटक लेख्ने क्रममा उहाँले मसँग सरसल्लाह गर्नुहुन्थ्यो ।’
***
संस्कृतिविद् जोशीका बारेमा लेखिन केही बाँकी छैन, पत्रपत्रिकादेखि पुस्तकहरूमा उनको कृतित्व र व्यक्तित्वको चर्चा भएका छन्, उनले पुस्तकमा लेख्न नभ्याएका जानकारीहरू पनि आएका छन् ।
संस्कृतिमा रुचि भएका अधिकांंश पत्रकारसँग संंस्कृतिविद् जोशीको घरको ल्यान्डलाइन नम्बर हुनुपर्छ, त्यो नम्बरमा संस्कृतिविद् जोशीलाई फोन गर्दा कहिले सत्यमोहन स्वयंले उठाउँथे, कहिले उनकी पत्नी राधादेवीले । अब त्यो नम्बरमा संस्कृतिविद् जोशीको ‘कोट’ लिन कसैले फोन गर्ने छैन ।