आइतबार, ०६ जेठ २०८१
ताजा लोकप्रिय

बैंकको चर्को ब्याजबिरुद्ध बुटवलका व्यवसायी सडकमा

सोमबार, ३१ असोज २०७९, १५ : २५
सोमबार, ३१ असोज २०७९

बैंकहरुले ब्याजदर बढाएको भन्दै रुपन्देहीका उद्योगी व्यवसायीले विरोध प्रदर्शन गरेका छन् । उनीहरुले सोमबार बुटवलमा र्यालीसमेत निकालेर बैंकको व्याजदर बृद्धिको विरोध जनाएका हुन् ।

बुटवल उद्योग बाणिज्य संघ, सिद्धार्थनगर उद्योग वाणिज्य संघ, तिलोत्तमा उद्योग वाणिज्य संघ, सैनामैना उद्योग वाणिज्य संघ र देवदह उद्योग वाणिज्य संघमा आवद्ध उद्योगी व्यवसायीले बुटवलमा संयुक्त रुपमा विरोध र्याली निकालेका हुन् । बैंकहरुले पटक–पटक ब्याज बढाउँदा उद्योग व्यवसाय बन्द गर्नुपर्ने अवस्था सिर्जना भएको उनीहरुको गुनासो छ । बैंकहरुले ब्याजदर नघटाए थप संघर्षका कार्यक्रम ल्याउने चेतावनी पनि उनीहरुले दिएका छन् ।

उद्योगी व्यवसायीले असोज मसान्तमा तिर्नुपर्ने ब्याजको समयावधि बढाउन पनि आग्रह गरेका छन् । बैंकहरुले लिने प्रिमियम दर १ प्रतिशतभन्दा बढी नबढाउन, ऋण सहमतिको एक वर्ष नपुगी ब्याज नबढाउन लगायतका माग उद्योगी व्यवसायीले अघि सारेका छन् ।

कार्यक्रममा बुटवल उद्योग वाणिज्य संघका अध्यक्ष उज्ज्वल कसजुले बजारमा तरलता अभाव भएको बेला बैंकहरुले ब्याज बढाउँदा उद्योगी व्यवसायी मारमा परेको उल्लेख गरे । ब्याज तिर्न नसकेर ब्यवसाय नै बन्द गर्नुपर्ने अवस्था आएको उनको भनाइ छ ।

सिद्धार्थ उद्योग वाणिज्य संघका अध्यक्ष भीष्म न्यौपानेले बैंकहरुले ब्याज नघटाए थप संघर्षका कार्यक्रम लिएर आउन बाध्य हुने चेतावनी दिए । कार्यक्रममा सैनामैना उद्योग वाणिज्य संघका प्रेमबहादुर खड्का, देवदह उद्योग वाणिज्य संघका अध्यक्ष हरि भण्डारी, तिलोत्तमा उद्योग वाणिज्य संघका अध्यक्ष माधव भण्डारी लगायतले तत्काल ब्याजदर घटाउन बैंकहरुलाई आग्रह गरे ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप