शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

रुपन्देहीका हरेक निर्वाचन क्षेत्रमा कम्तीमा एक पूर्वमन्त्री उम्मेदवार

५ निर्वाचन क्षेत्रमा ८ पूर्व मन्त्री प्रतिस्पर्धा गर्दै, कसलाई कसको चुनौती ?
सोमबार, ३१ असोज २०७९, १७ : ३५
सोमबार, ३१ असोज २०७९

आसन्न प्रतिनिधिसभा निर्वाचनका लागि रुपन्देहीका पाँच निर्वाचन क्षेत्रमध्ये हरेकमा कम्तीमा एक पूर्वमन्त्री उम्मेदवार बनेका छन् । रुपन्देहीमा एक बहालवाला र ७ पूर्वमन्त्री प्रतिनिधिसभा सदस्यतर्फ उम्मेदवार छन् । ५ मध्ये ३ वटा निर्वाचन क्षेत्रमा पूर्वमन्त्रीहरु बीच नै मुख्य प्रतिस्पर्धा हुने देखिएको छ । क्षेत्र नम्बर १, ३ र ४ मा पूर्वमन्त्रीहरु बीच नै मुख्य प्रतिस्पर्धा हुने भएको छ । क्षेत्र नम्बर २ र ५ पनि पूर्व मन्त्रीहरू चुनावी मैदानमा छन् । 

क्षेत्र नम्बर १ मा दुई पूर्व मन्त्रीबीच प्रतिस्पर्धा

रुपन्देहीको क्षेत्र नम्बर १ मा एमालेका छविलाल विश्वकर्मा र हालै एमाले परित्याग गरी स्वतन्त्र उम्मेदवार बनेका घनश्याम भुसालबीच मुख्य प्रतिस्पर्धा हुने देखिएको छ । दुवै पूर्व कृषि मन्त्री हुन् । भुसाललाई सत्तारुढ गठबन्धनले साथ दिएको छ भने विश्वकर्मालाई राप्रपाको समर्थन छ ।

विश्वकर्मा २०६६ सालमा कृषि मन्त्री भएका थिए । एमाले लुम्बिनी प्रदेश इन्चार्ज समेत रहेका उनले २०७४ सालको निर्वाचनमा पनि यही क्षेत्रबाट जितेका हुन् । भुसाल हालै एमाले परित्याग गरी सत्तारुढ गठबन्धनको सहयोगमा उम्मेदवार बनेका हुन् । २०७७ सालमा कृषि मन्त्री बनेका भुसालले यस अघि क्षेत्र नम्बर ३ बाट चुनाव जितेका थिए ।

गत वैशाखमा सम्पन्न स्थानीय तहमा वडा अध्यक्षहरूले पाएको मतको आधारमा कांग्रेसको ३२ हजार ९९९ र एमालेको ३० हजार ३९४ मत छ । यस्तै राप्रपाको १४ हजार ५५२, माओवादी केन्द्रको ४ हजार २०२, एकीकृत समाजवादीको एक हजार २४३ र लोसपाको ३२५ मत छ ।

क्षेत्र नम्बर २ मा पूर्व अर्थमन्त्री पौडेल भर्सेस युवा नेता गुरुङ

रुपन्देही–२ मा एमाले उपाध्यक्ष विष्णु पौडेल र सत्ता गठबन्धनबाट एकीकृत समाजवादीका केन्द्रीय सदस्य तथा लुम्बिनी प्रदेश सचिव राजु गुरुङबीच प्रतिस्पर्धा हुँदैछ । गुरुङ बैंकिङ कसुरमा कालोसूचीमा परेको भन्दै निर्वाचन अधिकृतको कार्यालयले उनको उम्मेदवारी खारेज गरे पनि सर्वोच्च अदालतको अन्तरकालीन अन्तरिम आदेशले उनी उम्मेदवारमा कायम छन् ।

यसअघिका चुनावमा पौडेललाई जिताउन युवा मोर्चाको संयोजक बनेर खटिएका गुरुङ अहिले एकीकृत समाजवादी लुम्बिनी प्रदेश सचिव हुन् । उनी सत्तारुढ गठबन्धनको साझा उम्मेदवारका रुपमा मैदानमा छन् ।

कांग्रेसले स्थानीय तहको निर्वाचनमा वडाध्यक्ष पदमा प्राप्त गरेको मत ३२ हजार ९९९ छ । यहाँ एमालेले ३० हजार ३९४, राप्रपाले १४ हजार ५५२, जसपाले ६ हजार ६९५, माओवादीले ४ हजार २०२, नेकपा एकीकृत समाजवादीले एक हजार २४३ र लोसपाले ३२५ मत पाएको थियो ।

क्षेत्र नम्बर ३ मा गृहमन्त्री खाण र पूर्वमन्त्री बोहोराबीच प्रतिस्पर्धा

क्षेत्र नम्बर ३ मा कांग्रेस नेता तथा गृहमन्त्री बालकृष्ण खाण र पूर्वमन्त्री दीपक बोहोराबीच मुख्य प्रतिस्पर्धा हुने अनुमान गरिएको छ । राप्रपाका बोहोरा पटक पटक मन्त्री भइसकेका अनुभवी नेता हुन् । आसन्न निर्वाचनमा उनको क्षेत्रमा एमालेले राप्रपालाई सघाउने भएको छ ।

अर्कोतिर कांग्रेसका खाण पनि राष्ट्रिय राजनीतिमा प्रभावशाली भूमिका निर्वाह गर्दै आएका नेता हुन् । यो क्षेत्रमा २०७४ सालमा भएको निर्वाचनमा एमालेबाट घनश्याम भुसाल निर्वाचित भएका थिए । गत वैशाखमा सम्पन्न स्थानीय तह निर्वाचनमा यो क्षेत्रका वडामा कांग्रेसका वडा अध्यक्षका उम्मेदवारले ३४ हजार १५३ मत ल्याउँदा एमालेका वडा अध्यक्षहरूले २९ हजार ०४८ मत ल्याएका थिए । यो क्षेत्रमा राप्रपाको १३ हजार ३९७ मत छ भने माओवादी केन्द्रको २ हजार ८८१, लोसपाको २ हजार १७४ र एकीकृत समाजवादीको ९७७ मत छ ।

क्षेत्र नम्बर ४ मा दुई पूर्वमन्त्री भिड्दै

रुपन्देहीको क्षेत्र नम्बर ४ मा लोसपाबाट पूर्वमन्त्री सर्वेन्द्रनाथ शुक्ला उम्मेदवार छन् । यस्तै, जसपाबाट पूर्व राज्यमन्त्री ओमप्रकाश यादव उम्मेदवार छन् । शुक्ला जलस्रोत, पर्यटन, शिक्षा लगायत मन्त्रालय सम्हालिसकेका नेता हुन् । ओम प्रकाश यादव भने डा बाबुराम भट्टराई प्रधानमन्त्री हुँदा कृषि राज्यमन्त्री बनेका थिए ।

यहाँ कांग्रेसका प्रमोद यादव र जनमत पार्टीका केन्द्रीय सचिव भुपेन्द्र यादव पनि सशक्त उम्मेदवारका रुपमा मैदानमा छन् । स्थानीय तहको मतको आधारमा रुपन्देही–४ मा लोसपाको १६ हजार २२६, कांग्रेसको १५ हजार ६२७, जनमत पार्टीको ७ हजार ७३४, एमालेको ७ हजार ६०५, जसपाको ७ हजार ४९७, राप्रपाको ५ हजार ६९९, माओवादीको ३ हजार ८०२ र नेकपा एकीकृत समाजवादीको एक हजार १९८ मत छ ।

क्षेत्र नम्बर ५ मा पूर्व राज्यमन्त्री शाह र पूर्व नगरप्रमुखबीच प्रतिस्पर्धा

क्षेत्र नम्बर ५ मा पूर्व अर्थ राज्यमन्त्री भरत शाह सत्तारुढ गठबन्धनबाट उम्मेदवार छन् । उनी कांग्रेसका प्रभावशाली नेता पनि हुन् । यो क्षेत्रमा एमालेबाट बासुदेव घिमिरे उम्मेदवार छन् । उनी तिलोत्तमा नगरपालिकाका पूर्व मेयर पनि हुन् ।

प्रदेशमा पनि बहालवाला मन्त्रीदेखि पूर्व मन्त्रीसम्म मैदानमा

रुपन्देहीका प्रदेशसभा निर्वाचन क्षेत्रमा पनि बहालवाला मन्त्रीदेखि पूर्वमन्त्रीसम्म उम्मेदवार छन् । १० प्रदेशसभा क्षेत्र रहेको रुपन्देहीमा संघका पूर्वराज्यमन्त्रीदेखि प्रदेशका बहालवाला मन्त्रीसम्म उम्मेदवार छन् । रुपन्देहीको क्षेत्र नं. १ (क) मा सत्ता गठबन्धनका तर्फबाट प्रदेशसभा सदस्यमा नेपाली कांग्रेसका विश्वनाथ यादव र एमाले–राप्रपा गठबन्धनबाट आशिष चौधरी उम्मेदवार छन् । यस्तै, (ख) बाट नेपाली कांग्रेसका अब्दुल रज्जाक उम्मेदवार छन् । यो क्षेत्रमा एमालेबाट दधिराम न्यौपाने उम्मेदवार छन् ।

क्षेत्र नम्बर २ (क) मा लुम्बिनी प्रदेशका पूर्व पर्यटन वन तथा वातावरण मन्त्री लीला गिरी नेकपा एमालेबाट उम्मेदवार छन् । उनले नेपाली कांग्रेसका युवा नेता दीर्घबहादुर केसीसँग प्रतिस्पर्धा गर्नुपर्ने छ । क्षेत्र नम्बर (ख) मा एमालेबाट पूर्व स्वास्थ्य मन्त्री भोजप्रसाद श्रेष्ठ उम्मेदवार छन् भने सोही क्षेत्रमा माओवादीका वामदेव क्षेत्री सत्तारुढ गठबन्धनका उम्मेदवार छन् ।

क्षेत्र नम्बर ३(क) मा सत्तारुढ गठबन्धनबाट लोसपा नेता तथा लुम्बिनी प्रदेशका पूर्व भौतिक पूर्वाधार विकास मन्त्री सन्तोष पाण्डे उम्मेदवार छन् । सो क्षेत्रमा एमाले–राप्रपा गठबन्धनबाट महेन्द्र यादव उम्मेदवार छन् । (ख) मा नेपाली कांग्रेसका रामचन्द्र ढकालले एमालेका तुलसी प्रसाद चौधरीसँग प्रतिस्पर्धा गर्दैछन् ।

क्षेत्र नम्बर ४(क)मा नेपाली कांग्रेसका अष्टभुजा पाठक, लोसपाका कन्हैया यादव र जनमत पार्टीका जितेन्द्र नाथ शुक्ला (बल्लु) उम्मेदवार छन् । क्षेत्र नम्बर (ख)मा लुम्बिनी प्रदेशका शिक्षा मन्त्री बसिउद्दिन खानले जसपाका राम अवतार यादवसँग प्रतिस्पर्धा गर्दैछन् । यादवलाई एमालेले समर्थन गरेको छ ।

यस्तै क्षेत्र नम्बर ५(क)मा एमालेका भूमिश्वर ढकालले गठबन्धनको तर्फबाट उम्मेदवार बनेका माओवादी नेता विनोद पहाडीसँग प्रतिस्पर्धा गर्नुपर्ने छ । यी दुवै पुराना प्रतिस्पर्धी हुन् । क्षेत्र नम्बर (ख)मा नेपाली कांग्रेसका फकरुद्दिन खानले एमालेका रामचन्द्र यादवसँग प्रतिस्पर्धा गर्दैछन् । खानले २०७४ सालमा यही क्षेत्रबाट चुनाव जितेका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

तेजेन्द्र के.सी.
तेजेन्द्र के.सी.

केसी रातोपाटीका प्रदेश नम्बर ५ का संयोजक हुन् । 

लेखकबाट थप