आइतबार, ०६ जेठ २०८१
ताजा लोकप्रिय

बैंकको किस्ता तिर्ने समय २ वर्ष नथपे होटलहरु बन्द गर्ने चेतावनी

सोमबार, ३१ असोज २०७९, १३ : ५६
सोमबार, ३१ असोज २०७९

होटल संघ नेपाल (हान)ले बैंकको सावा ब्याजको किस्ता तिर्ने समय २ वर्ष थप नगरे होटलहरु बन्द गर्ने चेतावनी दिएको छ । होटलहरुको छाता संगठन होटल संघ नेपालले तत्काल बैंकको सावा ब्याज तिर्न नसक्ने घोषणा गरेको हो । 

संघले कोभिडबाट थलिएको होटल उद्योग अझै पनि सामान्य अवस्थामा नफर्किएको भन्दै थप दुई वर्षसम्मका लागि बैंकको सावा ब्याज पुनः तालिकीकरण उपलब्ध गराउन सरकारसँग माग गरेको छ । संघका उपाध्यक्ष विनायक साहले सरकारले तत्काल थप दुई वर्षसम्मका लागि बैंकको सावा ब्याज पुनः तालिकीकरण गर्नुपर्ने बताए । 

न्युज एजेन्सी नेपालसँग कुरा गर्दै सोमवार उपाध्यक्ष साहले सरकारले कोभिडको समयमा होटलहरुलाई दिएको बैंकको सावाँ,ब्याज तिर्ने समय खारेज गर्दा थप समस्या भएको बताए । उनले सरकारले कोभिडको मारको कारण अतिप्रभावित उद्योगका रुपमा हेरेकाले अझै अतिप्रभावित नै रहेकाले व्यवसायीहरुको मागलाई सम्बोधन गर्नुपर्ने बताए । 

उपाध्यक्ष साहले विगतको भन्दा होटलहरु सामान्य सुधार भएपनि पूर्ण रुपमा सञ्चालनमा आउन नसकेको बताए । उनले अहिले पनि होटलहरु दैनिक घाटामा नै सञ्चालनमा रहेका बेलामा पनि बैंकहरुले असोज मसान्तमा तिर्नुपर्ने सावाँ ब्याज तिर्न दबाब दिइरहेको बताए । 

 उपाध्यक्ष साहले पोखरा र भैरहवाका होटल व्यवसायीहरुले असोज मसान्तमा तिर्न सक्दैनौं भनेर घोषणा गरेको भन्दै देशभरका होटलहरूमा एउटै अवस्था आएकाले सरकारले समय थप नगरे होटलहरु बन्द गर्नुपर्ने चेतावनी दिए । 
उनले भने,‘साढे तीन वर्षदेखि कोरोना महामारीको कारण होटल उद्योग थलिएको छ । सरकारले अतिप्रभावित उद्योग भनेर छुट्याएको थियो । गत आर्थिक वर्षहरुमा बजेट र  मौद्रिक नीतिहरुले होटलहरुले बैंकहरुबाट लिएको सावाँ ब्याजमा दिने समय थप गरेको थियो ।

चालु आर्थिक वर्षदेखि होटलहरुलाई दिएको सहुलियत खारेज ग¥यो । सरकार,राष्ट्र बैंक र बैंकहरुले होटलहरु सामान्य अवस्थामा आएको भन्ने भएको छ । साढे तीन वर्षपछि पछिल्लो समय केही लयमा आएको वास्तविकता हो । तर होटलहरुले ब्रेक इभेन्ट कमाउन सकिए रहेका छैनौं । हरेक दिन होटलहरु घाटामा नै छन् । घाटामा नै होटलहरु सञ्चालन गरिरहेका छौं । होटलहरु पूर्णरुपमा चलेको अवस्था छैन । यस्तो अवस्था बैंकहरुले असोज मसान्तमा तिर्नुपर्ने सावाँ ब्याज तिर्न दबाब दिएका छन् ।

होटलहरुले धान्नसक्ने अवस्था छैन । पोखरा र भैरहवाका होटल व्यवसायीहरुले तिर्न सक्दैनौं भनेर घोषणा गर्नुभएको छ । देशैभरका होटलहरूमा एउटै अवस्था आएको छ । असोज मसान्तसम्म तिर्नुपर्ने सावाँ ब्याजलाई केही समय पछाडि सार्नका लागि सरकारसँग माग गर्छौं । होटलहरुले नतिर्ने भनेको होइन तिर्नुपर्ने सावा ब्याज तिर्छाैं । तर होटलहरुलाई समय चाहिन्छ । हामीलाई थप दुई वर्ष समय थप चाहियो । अहिले पनि होटल उद्योग अतिप्रभावित क्षेत्रमा नै छौं । कोरोनासँगै रुस र युक्रेनको लडाई चलिरहेको छ भने प्रतिनिधि सभाको निर्वाचन तत्कालै आइरहेको छ ।

नेपालमा तत्काल पर्यटक बढी हाल्ने अवस्था पनि छैन । बैंकहरुले सावा ब्याज तिर्न नसकेर सरकारसँग हारगुहार गरेका छौं । सरकारले होटल व्यवसायीहरुका कुरा सुनिदिएन भने होटलहरु क्रमिक रुपमा बन्द हुने अवस्था आउँछ । होटल बन्द हुने अवस्था नआओस् भने होटल एशोसिएशन को चाहना हो । चालु आर्थिक वर्षको बजेट मौद्रिक नीतिमा होटल व्यवसायीका मागहरु केही पनि सम्बोधन भएन ।

निरन्तर होटल व्यवसायीहरुको माग सम्बोधनको लागि माग गरिरहेका छौं तर हाम्रो मागको सुनुवाइ कतैबाट पनि भएको छैन । होटल उद्योगको लगानी बचाउनको लागि हामी अलि कडा रुपमा अगाडि आएका छौं । एकपछि अर्को गरेर बैंकहरुले ब्याज बढाउने र अनि सावाँ ब्याज तिर्न दबाब दिने मात्रै नभएर आम्दानी गर्ने स्रोत बनाइदिनुपर्छ । सरकारले विदेशी पर्यटन नेपालमा ल्याउने कुरामा ध्यान दिएको छैन । सरकारले होटल व्यवसायीहरुको मागलाई कसरी सम्बोधन गर्छ त्यही अनुसार हान अगाडि बढ्छ ।’

उनले अहिलेको परिस्थितिमा होटलहरुले लिएको सावाँको किस्ता र त्यसमा वहन गर्नुपर्ने ब्याज तिर्ने जिम्मेवारी रहेको भएपनि कुनैपनि हालतमा बैंकलाई सावाँब्याज बुझाउन असक्षम रहेको बताए । यो वर्ष ५ लाख पर्यटक पनि ल्याउन नसकेकाले होटल उद्योग ५० प्रतिशत पनि चल्न नसकेको उनको भनाइ छ । 

साहले कोरोना महामारीको असर समाधान नहुँदै देखिएको रसिया–युक्रेनको जारी युद्धको प्रभाव, नेपालमा तिब्र रुपमा फैलिरहेको डेंगुको प्रकोपले पर्यटन क्षेत्रमा नकारात्मक असर पुर्याएको बताए ।  उनले अहिले पर्यटक बढी आउने सिजनमा आसन्न निर्वाचनले समेत प्रत्यक्ष रुपमा पर्यटन आगमन र गतिविधिलाई कम गर्ने बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप