शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

अछाम–१ : भीम रावलको ‘मैदान’मा यस्तो छ कुँवर र बोहराको हिसाब

सोमबार, ३१ असोज २०७९, १२ : ५७
सोमबार, ३१ असोज २०७९

नेकपा एमालेले पार्टीका पूर्व उपाध्यक्ष डा. भीम रावललाई टिकट नदिएपछि अछाम–१ राष्ट्रिय मिडियामा चर्चाको विषय बनेको छ । एमालेको १० औँ महाधिवेशनमा पार्टी अध्यक्षका लागि केपी शर्मा ओलीसँग प्रतिस्पर्धामा उत्रिएका रावल उम्मेदवार बन्न वञ्चित भएपछि अछाम–१ चर्चामा छ ।

एमाले अछामले क्षेत्र नम्बर १ मा उम्मेदवारीका लागि रावलको नाम एकल सिफारिस गरेको थियो । जिल्लाबाट निर्विकल्प सिफारिस भएका रावललाई पन्छाएर अध्यक्ष ओलीले झपट बोहरालाई टिकट थमाए । यसले एमाले अछाममा विद्रोह निम्त्याएको छ । अछाम– १ का एमाले संयोजकसहित रावल निकट करिब ४० जना एमाले नेता–कार्यकर्ताले पार्टीबाट सामूहिक राजीनामा दिए ।

अछाममा उम्मेदवारी मनोनयनका क्रममा रावल समर्थकले एमाले उम्मेदवार बोहरालाई कालोझण्डा देखाउँदै पार्टी अध्यक्ष ओलीविरुद्ध नाराबाजीसमेत गरेका थिए । तर एमाले अछामले नेताहरूको सामूहिक राजीनामालाई बहुमतले अस्वीकृत गरेको छ । राजीनामा दिएका नेताहरू कात्तिक ४ गतेबाट चुनावी अभियानमा सहभागी हुने एमालेका क्षेत्रीय संयोजक प्रकाश शाहले रातोपाटीलाई बताए । अछाम– १ का एमाले संयोजक शाहले भने, ‘भीम रावलजस्तो राष्ट्रवादी नेताले टिकट नपाएपछि सामूहिक राजीनामा दिएका थियौँ । तर जिल्ला कमिटीको बहुमतले हाम्रो राजीनामा अस्वीकृत गरेको छ । अब कात्तिक ४ बाट अभियानमा लाग्छौँ ।’

तर बिहीबार काठमाडौँमा पत्रकार सम्मेलन गरी भीम रावलले एमालेका सबै उम्मेदवारलाई मत माग्न नसकिने बताए । एमालेले विगतमा एमालेको उछित्तो काढ्ने, विदेशीको चाटुकार, चाकडी र चाप्लुसी गर्नेहरूलाई पनि समर्थन गरेको भन्दै रावलले उनीहरूका लागि मत माग्न नसक्ने बताए । रावलले देशभक्त, मार्क्सवादसँग प्रतिबद्ध र एमालेका लागि रगत पसिना बगाउने उम्मेदवारलाई मात्र सहयोग गर्ने बताए ।

‘जसको विरुद्धमा एमाले कार्यकर्ताले रगत बगाउनुपर्‍यो, तिनका लागि मत माग्न सक्दिनँ,’ उनले भने । तर अछाम– १ का उम्मेदवार बोहरालाई मत माग्ने वा नमाग्ने भनेर रावलले कुनै निर्देशन भने नदिएको संयोजक शाहले बताए ।

यता रावल अछामको अभिभावक भएको भन्दै एमालेलाई जिताउन सहयोग गर्नेमा बोहरा विश्वस्त छन् । ‘डाक्टर भीम रावल हाम्रो नेतामात्र होइन, अभिभावक पनि हुनुहुन्छ । उहाँको अभिभावकीय भूमिका हुन्छ भन्ने मलाई लाग्छ,’ उनी भन्छन्, ‘अछाममा एमाले जिताउन उहाँले जस्तोसुकै स्थितिमा पनि सहयोग गर्नुहुन्छ भन्नेमा म विश्वस्त छु ।’

दुवै पक्षमा विद्रोहबाट बाजी मार्ने दाउ

अछाम– १ मा एमालेलाई मात्र नभई सत्ता गठबन्धनलाई पनि चुनौतीको पहाड बन्ने देखिन्छ । एमाले विभाजनपछि बनेको एकीकृत समाजवादीका नेता शेरबहादुर कुँवर गठबन्धनको साझा उम्मेदवारका रूपमा चुनावी मैदानमा उत्रिएका छन् ।

श्रममन्त्री कुँवरलाई कांग्रेस र माओवादीको दरिलो साथ छ । उनको सारथिका रूपमा प्रदेशसभा (क) मा कांग्रेसका सुदूरपश्चिम प्रदेश महामन्त्री मेघराज खड्का र (ख) मा माओवादीका नेता झपटबहादुर साउद उम्मेदवार छन् । यद्यपि प्रतिनिधिसभातर्फ गठबन्धनविरुद्ध कांग्रेसका युवा नेता राजन कुँवरको बागी उम्मेदवारी परेको छ ।

जिल्ला अधिवेशनमा कांग्रेस अछामका सभापतिका प्रत्याशी राजनले मन्त्री  कुँवरविरुद्ध उम्मेदवारी दर्ता गराएका छन् । मन्त्री कुँवरका अनुसार गठबन्धनले राजनलाई उम्मेदवारी निष्क्रिय बनाउन दबाब दिइरहेको छ ।

उनले भने, ‘एउटै दलभित्र एउटा पदका लागि १० औँ प्रतिस्पर्धी हुन्छन् भने तीन दलको बीचमा तीन जनाका दरले ९ जना हुन्थे । ९ जनामा ८ जनाले चित्त बुझाउनु भयो । एक जनाले चित्त नबुझाउनु स्वाभाविक रूपमा लिन्छु । तर उसलाई पनि सम्झाउने प्रयास जारी छ । दलहरू लागिरहेका छन् ।’

उम्मेदवारी निष्क्रिय बनाउने÷नबनाउने विषयमा आन्तरिक परामर्श भइरहेको राजनको भनाइ छ । तर उनको उम्मेदवारी निष्क्रिय भएन भने पनि दलका अगाडि व्यक्तिको केही नलाग्ने मन्त्री कुँवरको भनाइ छ । ‘दलीय व्यवस्थामा व्यक्ति होइन दल प्रधान हुन्छ । दलको निर्णय र ह्वीपलाई सबैले स्वीकार गर्नुहुन्छ,’ उनी भन्छन् ।

एमालेभित्रको विद्रोह र स्थानीय निर्वाचनमा सत्तारुढ गठबन्धन दोब्बर मतले अघि हुँदा राजनको उम्मेदवारीप्रति मन्त्री कुँवर खासै गम्भीर छैनन् । कांग्रेसबाट राजनीति गर्ने कुँवर समुदायका नेताबाट मन्त्री शेरबहादुर कुँवरलाई जिताउन राजनको उम्मेदवारी निष्क्रिय बनाउन लबिङ भइरहेको छ । अछाम– १ को राजनीतिमा शेरबहादुर कुँवरलाई जातीय फ्याक्टरले पनि साथ दिँदै आएको देखिन्छ । कुँवरको बाहुल्य रहेका कारण उनलाई यो फ्याक्टर पनि ‘प्लस प्वाइन्ट’ का रूपमा देखिन्छ ।

मन्त्री कुँवरले रातोपाटीसँग भने, ‘म चुनाव जित्नेमा ढुक्क छु । अछामी जनताले मलाई माया गर्नु हुन्छ ।’

आफू अहिले आयात गरिएको कार्यकर्ता नभएको भन्दै उनले अछामका हरेक घरमा पुगेको दाबी गरे । उनले भने, ‘मलाई कांग्रेस, माओवादी, एमालेले पनि चिन्छन् । अछामको कुनै पनि घर मेरालागि बिरानो छैनन् ।’

सत्ता गठबन्धनबाट आफ्नो उम्मेदवारीले अछाम १ मा उत्साह जागेको मन्त्री कुँवर बताउँछन् । ‘०६४ मा पनि यस्तै थियो । मैले जितेको हुँ,’ उनले भने । एमाले देशभर ३३ वटा सिटमा खुम्चिँदा पनि त्यतिबेला अछाम– १ मा कुँवरलाई जित  निकाल्न कठिन भएन ।

यस पटक सुदूरपश्चिम प्रदेशका १६ सिटमध्ये एकीकृत समाजवादीले अछाम– १, डोटी र बझाङमा उम्मेदवारी दिएको छ । उनी भन्छन्, ‘अहिले गठबन्धनका हामी सबै जना जित्ने निश्चित छ । हामी ढुक्क छौँ ।’

एमालेका उम्मेदवार बोहरा भने गठबन्धनमा आबद्ध दलहरू प्राविधिक रूपमा मात्र एक भएको तर मतदाताले त्यसरी मत नदिने दाबी गर्दछन् । ‘उम्मेदवारका सन्दर्भमा एउटा पार्टी नै व्यवस्थापन गर्न अप्ठ्यारो भइरहेका बेला गठबन्धनमा मत ट्रान्सफर हुन जटिल देखिन्छ,’ उनले भने, ‘गठबन्धन हुँदैमा हामी डराउनुपर्ने कारण छैन ।’

विगतमा एमाले नेतृत्वको सरकारले जनप्रिय र लोकप्रिय काम गरेकाले आफूहरू चुनाव जित्नेमा ढुक्क रहेको उनको भनाइ छ । एमालेको राष्ट्रवादी अडान र जनपक्षीय एजेण्डा नै आफूहरूको जितको आधार भएको उनले बताए ।

आफू सुदूरपश्चिम प्रदेशको अर्थमन्त्री हुँदा गरेको विकासले पनि एमालेलाई मत प्राप्त हुने बोहरा बताउँछन् । अर्कोतिर राजनको स्वतन्त्र उम्मेदवारी अन्तिमसम्म रहे एमालेलाई चुनाव जित्न थप सहज हुने एमाले नेताहरूको बुझाइ छ ।

यद्यपि रावल पक्षले मन्त्री शेरबहादुर कुँवर वा स्वतन्त्र उम्मेदवार राजनमध्ये एक जनालाई सघाउने चर्चा पनि अछाममा व्यापक छ ।

एमालेमा हुँदा रावलका विश्वास पात्र थिए शेरबहादुर कुँवर । तर एमाले विभाजन हुँदा कुँवरले रावलको साथ छोडे । उनी एकीकृत समाजवादीतिर लाग्दा १० बुँदे सहमति गरेर रावल एमालेमै बसे । पुरानो सम्बन्धका कारण शेरबहादुरप्रति रावलको सद्भाव रहने कतिपयको बुझाइ छ ।

एमालेका असन्तुष्ट र गठबन्धनमा विद्रोह गरेका राजन मिल्न सक्ने सम्भावनाको पनि चर्चा छ । रावल निकट संयोजक शाह भने त्यस्तो सम्भावना नरहेको बताउँछन् ।

उनले भने, ‘हिजो भीम रावलले विश्वास गरेका मान्छे शेरबहादुर कुँवर नै हो । तर पछिल्लो समयमा विद्रोह गरेर उहाँ अर्कोतिर जानुभयो । उहाँलाई सहयोग गर्नेबारे हामीलाई थाहा छैन । चर्चा त राजन कुँवरजीलाई सहयोग गर्ने भन्ने पनि छ । त्यस्तो नहोला । यो बजार हल्लामात्र हो कि !’

स्थानीय निर्वाचनको गणित

गत वैशाख ३० मा सम्पन्न स्थानीय तह निर्वाचनमा अछाम–१ का पालिकामा एमाले शून्य छ भने कांग्रेस ४ र माओवादी केन्द्रले एउटा पालिका प्रमुख जितेको छ । अछाम–१ का ४२ वडामध्ये कांग्रेसले १९, एमालेले १३, माओवादीले ५, एकीकृत समाजवादीले २ र स्वतन्त्र ३ जना वडाको अध्यक्ष पदमा निर्वाचित भएका छन् ।

अछाम–१ मा साँफेबगर नगरपालिका, रामारोशन, बान्नीगढी, चौरपाटी, मेल्लेख गाउँपालिका पर्छन् । साँफेबगरको मेयरमा कांग्रेस र उपमेयरमा एकीकृत समाजवादी निर्वाचित भएका छन् । १४ वडामध्ये कांग्रेस ८, एमाले ३, स्वतन्त्र २, र एकीकृत समाजवादीले एउटा वडा जितेको छ ।

यस्तै रामारोशन गाउँपालिका अध्यक्ष कांग्रेस र उपाध्यक्ष माओवादी केन्द्रले जितेको छ । यहाँका ७ वडामा माओवादी ३, कांग्रेस र एमाले २–२ वडामा निर्वाचित भएका छन् ।

यता मेल्लेखको अध्यक्ष माओवादी र उपाध्यक्ष कांग्रेस निर्वाचित भएको थियो । ८ वडामध्ये एमालेबाट ३, कांग्रेसबाट २, माओवादी, एकीकृत समाजवादीबाट १–१ र एक जना स्वतन्त्रले वडाध्यक्ष पदमा जित हासिल गरेका छन् ।

बान्नीगढीको अध्यक्षमा कांग्रेस र उपाध्यक्षमा एमालेले बाजी मारेको थियो । ६ वटा वडामध्ये कांग्रेसले ३, एमालेले २ र माओवादीले एउटा वडा जितेको छ । 

चौरपाटीमा अध्यक्ष र उपाध्यक्ष दुवै कांग्रेसबाट निर्वाचित छन् । चौरपाटीका ७ वडामध्ये कांग्रेसले ४ र एमालेले ३ वटा जितेको छ । यहाँ कांग्रेस वडाध्यक्षको मत १६ हजार ७२८ छ  भने एमालेको १६ हजार ५६७, माओवादीको ६ हजार ७९० र एकीकृत समाजवादीका वडाध्यक्षले २ हजार ७५२ मत पाएको देखिन्छ ।

स्थानीय निर्वाचनको पहिलो, दोस्रो र तेस्रो शक्तिको साझा उम्मेदवारका रूपमा मन्त्री कुँवर मैदानमा छन् । गठबन्धनले स्थानीय निर्वाचनमा २६ हजार २७० मत पाएको छ भने एमाले ९ हजार ७०३ मतले पछाडि छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

लोकेन्द्र भट्ट
लोकेन्द्र भट्ट

भट्ट रातोपाटीका लागि राजनीति तथा समसामयिक विषयमा रिपोर्टिङ गर्छन् । 

लेखकबाट थप