शनिबार, २२ वैशाख २०८१
ताजा लोकप्रिय

नवौँ राष्ट्रिय खेलकुद : त्रिभुवन आर्मी क्लब सेमिफाइनलमा

आइतबार, ३० असोज २०७९, २२ : ३२
आइतबार, ३० असोज २०७९

नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत पोखरा रङ्गशालामा आज अपराह्न भएको फुटबल खेलमा नेपाली सेनाको त्रिभुवन आर्मी क्लब अर्को विभागीय टोली नेपाल प्रहरीको पुलिस क्लबमाथि जीत निकाल्दै सेमिफाइनलमा प्रवेश गरेको छ ।
दुई विभागीय टोलीबीचको प्रतिस्पर्धामा आर्मीले पुलिसलाई २–० गोलले हराएको हो । आर्मीलाई जीत दिलाउन खेलको पहिलो हाफमा नवयुग श्रेष्ठ र दिनेश हेमजनले एक/एक गोल गरे । खेलको १५ औँ मिनेटमा नवयुगले गोल गर्दै टोलीको अग्रता बनाएकोमा २९ औँ मिनेटमा हेमजनले अग्रता दोब्बर बनाए ।

पुलिससँगको खेलमा विजयी भएसँगै आर्मी दुई खेलबाट अङ्क बटुल्दै समूह ‘सी’ को शीर्ष स्थानमा पुग्न सफल भयो । आफ्नो पहिलो खेलमा आर्मीले लुम्बिनी प्रदेशलाई ४–१ गोल अन्तरले हराएको थियो । सेमिफाइनलमा आर्मीले स्थान बनाउँदा आठौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको उपविजेता पुलिस क्लब र लुम्बिनी प्रदेश समूह चरणबाट नै बाहिरिएका छन् ।

प्रतियोगितामा पुरुष फुटबलमा ११ वटा टोलीले सहभागिता जनाएका छन् । प्रत्येक टोलीलाई चार समूहमा विभाजन गरिएको छ । समूह ‘ए’ मा गण्डकी प्रदेश, प्रदेश नं १ र एनआरएनको टोली छ । समूह ‘बी’मा बागमती, मधेस प्रदेश र एपीएफ रहेका छन् ।

त्यसैगरी आर्मी, लुम्बिनी प्रदेश र नेपाल पुलिस क्लब समूह ‘सी’ मा र समूह ‘डी’ मा कर्णाली र सुदूरपश्चिम प्रदेश छन् । पुरुष फुटबलको स्वर्ण पदकका लागि कात्तिक ३ गते खेल हुने तालिका छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप