बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

बारा-३ मा एमाले-जसपाबीच ‘मित्रवत प्रतिस्पर्धा’ हुँदा गठबन्धनका उम्मेदवारलाई फाइदा

आइतबार, ३० असोज २०७९, २० : ५६
आइतबार, ३० असोज २०७९

आसन्न निर्वाचनमा प्रतिनिधिसभा अन्तर्गत बारा क्षेत्र नं ३ मा सत्ता गठबन्धन, नेकपा एमाले र जनता समाजवादी पार्टीका उम्मेदवारबीच मुख्य प्रतिस्पर्धा हुने भएको छ । सो क्षेत्रमा सत्ता गठबन्धनतर्फ पूर्व संविधानसभा सदस्य तथा लोकतान्त्रिक समाजवादी पार्टीका उम्मेदवार लालबाबु सिंह, जसपाबाट सो पार्टीका मधेस प्रदेश अध्यक्ष रामबाबु कुमार यादव र एमालेबाट सो पार्टीका पोलिटब्युरो सदस्य ज्वालाकुमारी साह उम्मेदवार छन् ।

अन्य केही क्षेत्रमा जसपा र नेकपा एमालेबीच चुनावी तालमेल भए पनि बारा–३ मा दुवै दलबीच तालमेल हुन सकेन । दुवै दल ‘मित्रवत् प्रतिस्पर्धा’ मा उत्रिने भएसँगै त्यसको प्रत्यक्ष लाभ सत्तारुढ गठबन्धनका उम्मेदवारलाई हुने देखिएको छ । सत्ता गठबन्धनका साझा उम्मेदवार बनेका लोसपाका सिंह २०७४ को निर्वाचनमा बारा क्षेत्र नम्बर ४ मा तेस्रो स्थानमा सीमित रहेका थिए । जसपाका उम्मेदवार रामबाबु यादव बारा–३ का निवर्तमान संघीय सांसद हुन् । २०७४ को निर्वाचनमा यादवले एमाले नेता अध्यानन्द पाण्डेलाई ५ हजारभन्दा बढी मतले पराजित गरेका थिए ।

एमालेबाट बारा–३ मा उम्मेदवार बनेकी ज्वालाकुमारी साह शिक्षा, स्वास्थ्य र रोजगारीमा अनुभूति हुनेगरी काम गर्न र नीति निर्माण तहमा महिलालाई पु¥याउन आफू उम्मेदवार बनेको बताउँछिन् । एक कार्यकाल प्रदेशसभा सदस्यका रुपमा बिताइसकेकी उनले प्रदेश सांसदका रुपमा आफूले गरेको कामकै आधारमा जनताले मूल्याङ्कन गर्ने बताउँछिन् । तर, माओवादी केन्द्रबाट एमाले प्रवेश गरेलगत्तै जिल्लाका पुराना नेताहरुलाई पछि पार्दै एकैपटक पोलिटब्युरो सदस्य पद पाएको भन्दै उनीप्रति एमालेका पुराना कार्यकर्ता नै सन्तुष्ट देखिएका छैनन् ।

यता, जसपाबाट उम्मेदवार बनेका रामबाबु कुमार यादवले विगतमा आफूले निर्वाह गरेको भूमिकाका आधारमा पनि यस पटक जनताले आफूलाई नै विश्वास गर्ने बताए । उनले प्रस्तावित अन्तर्राष्ट्रिय विमानस्थलको राष्ट्रिय वन क्षेत्रभित्र रहेको टागियाँ बस्तीमा भौतिक रुपमै उपस्थित भएर विद्युतीकरणको काम सम्पन्न गरेका थिए । यादवकै पहलमा टाँगिया बस्तीका बासिन्दाले बिजुली बत्ती बाल्न पाएका छन् । जग्गा विवादका कारण २ वर्षदेखि अलपत्र रहेको सिमरा–कोहल्वी सडकखण्ड जोड्ने बडर्हवा पुल यादवकै पहलमा निर्माण सम्पन्न भएर सञ्चालनमा आएको छ ।

सत्तारुढ गठबन्धनबाट उम्मेदवारी दिएका लोसपाका लालबाबु सिंह भने कांग्रेस, माओवादी केन्द्र र लोसपाको मत एकत्रित हुँदा आफू सहजै जित्ने आकलनमा छन् । उनी कांग्रेस छाडेर लोसपामा प्रवेश गरी उम्मेदवार बनेका हुन् । त्यसैले गठबन्धनभित्र कांग्रेसको मत आफूतिर तान्न उनलाई त्यति कठिन नरहेको स्थानीय कार्यकर्ता बताउँछन् ।

उनी पनि कांग्रेसको भोट पूर्ण रुपमा आफूले पाउने दाबी गर्दछन् । ‘गठबन्धन इमानदार छ, मलाई कांग्रेसले पनि पूर्ण रुपमा सपोर्ट गरिरहेकाले चुनाव जित्न मलाई खासै समस्या छैन,’ सिंहले भने । बारा–३ का कांग्रेस क्षेत्रीय सभापति प्रभात चौरासियाले सत्ता गठबन्धन एकजुट भएमा चुनाव जित्न कुनै समस्या नरहेको बताए ।  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

शारदा पोखरेल
शारदा पोखरेल
लेखकबाट थप