जनताको चौकीदारी गर्न चाहन्छु : इश्तियाक राई
जनता समाजवादी पार्टीका नेता तथा बाँके क्षेत्र नं २ का प्रतिनिधिसभा उम्मेदवार मोहम्मद इश्तियाक राईले जनतालाई आश्वासनमात्रै नभएर आफूले गरेका कामहरूको फेहरिस्त लिएर भोट माग्न आएको बताएका छन् । उनले जनतालाई झुक्याउनेलाई नभएर कामको आधारमा उम्मेदवारहरू छान्न पनि मतदातालाई अपिल गरेका छन्।
बाँके क्षेत्र नं २ मा पार्टीका प्रचारप्रसार कार्यालयहरू उद्घाटन गर्ने क्रममा पार्टी कार्यकर्ता तथा मतदाताहरूलाई सम्बोधन गर्दै उनले जनता झुक्याउने नेतालाई यसपालिको चुनावले नै जवाफ दिने ठोकुवा पनि गरे।
‘मैले यहाँ तपाईंहरूलाई गफ दिइरहेको छैन। आश्वासन र सपनाहरू बाँडिरहेको मात्रै छैन। यसअघि पनि यो क्षेत्रले सांसद पायो। पूरै जिल्लाले प्रधानमन्त्री पनि पायो तर बाँकेले के पायो ? यो क्षेत्रका जनताले के पाए ? यहाँ के विकास भयो ?’ उनले भने ‘चौथोपटक चुनाव लडिरहेको छु। फेरि पनि मैले भोट मागिरहेको छु। दुई पटक मन्त्री हुँदामात्रै मैले के के गरेँ भन्ने कुरा तपाईंहरूले देखिरहनुभएकै छ।’
निवर्तमान भौतिक योजना तथा यातायात मन्त्रीसमेत रहेका उम्मेदवार राईले आफू समग्र जनताको सेवक बनेको पनि दाबी गरे। ‘कोही आइरहेका छन् धर्मको ठेकेदारी लिएर। समाजमा विखण्डन ल्याउन र सामाजिक सद्भाव बिथोल्ने मुद्दा बोकेर भोट मागिरहेका छन्। राजा बन्ने सोच भएकाहरू त्यही पुरानो सोच लिएर चुनावमा आइरहेका छन्’ उनले भने ‘तर म राजा बन्न होइन, तपाईंहरुको क्षेत्रको विकासका लागि भोट मागिरहेको छु। म राजा बन्न वा कसैलाई राजा बनाउन होइन तपाईंहरूको चौकीदार बन्न राजनीतिमा आएको हुँ र फेरि पनि तपाईंहरूकै चौकीदारी गर्नका लागि भोट मागिरहेको छु।’
देशमा संघीयता र गणतन्त्रको लडाईंमा अग्रणी भूमिका खेलेर परिवर्तनलाई संस्थागत गर्न आफ्नो पार्टीको महत्वपूर्ण भूमिका रहेको भन्दै व्यवस्थालाई उन्नत बनाउनका लागि पनि फेरि एकपटक आफूहरूलाई मौका दिन उनले अपिल गरे।
चुनाव प्रचारप्रसारका लागि जसपाले निर्वाचन क्षेत्रका सबै वडाहरूमा धमाधम प्रचार प्रसार कार्यालयहरू खोलिरहेको छ। आइतबार पनि नेपालगन्जका विभिन्न वडाहरूमा सम्पर्क तथा प्रचार प्रसार कार्यालयहरू खुलेका छन्। जसपा प्रचार विभागका अनुसार नेपालगन्ज उपमहानगर वडा नं २२ को पुरैनी, शान्ति चौक, वडा नं १० को गासाईगाउँ, वडा नं २० मनिकापुर, राझा एयरपोर्ट, वडा नं २३ को भज्जुपुरवा, वडा नं ५ र वडा नं ११ को नाका टोलमा प्रचार प्रसार कार्यालयहरू खुलेका छन्।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
परराष्ट्रमन्त्री राणा जर्मनीबाट भारत प्रस्थान
-
मलेसियाले दियो विदेशी श्रमिक व्यवस्थापन प्रणालीलाई निरन्तरता
-
स्वास्थ्य सेवालाई मजबुत बनाउँदै आँबुखैरेनी अस्पताल
-
सहिद स्कुलले जित्यो ‘कुलपति रनिङ शिल्ड’ फुटबलको उपाधि
-
मुख्यमन्त्री शाहको राजनीतिक सल्लाहकारमा उपाध्याय नियुक्त
-
गठबन्धन सरकार ढल्छ कि भन्ने भ्रममा नपर्न मन्त्री गुरुङको आग्रह