सोमबार, २४ असार २०८१
ताजा लोकप्रिय

विदेशबाट आयातित खाद्य वस्तुलाई प्रतिबन्ध लगाउन विज्ञहरुको जोड

आइतबार, ३० असोज २०७९, १७ : ०४
आइतबार, ३० असोज २०७९

नेपालको खाद्य प्रणालीमा सुधार र खाद्य सम्प्रभुताको लागि विदेशबाट आयात हुने कृषिजन्य वस्तु प्रतिवन्ध गर्नुपर्ने आवश्यकता रहेको विज्ञहरुले बताएका छन् । पछिल्लो समय विश्वमा नै वातावरणीय प्रभाव तथा अन्य कारणले खाद्य वस्तु उत्पादनमा कमी हुँदै गएको भन्दै विज्ञहरुले  विदेशबाट आयात हुने कृषिजन्य वस्तु प्रतिवन्ध गर्नुपर्ने आवश्यकता रहेको बताएका हुन् ।

आइतवार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै विज्ञहरुले वातावरणीय प्रभावको कारण खाद्य पदार्थ उत्पादनमा कमी आउँदा विश्वमा नै खाद्य संकट आउन थालेको बताए । कृषि विज्ञहरुले वातावरणीय प्रभावलाई सन्तुलनमा राखेर खाद्य वस्तुको उत्पादन र उत्पादकत्व बढाउन आवश्यक रहेको पनि बताए । नेपालमा खाद्य प्रणालीमा सुधार ल्याउन कृषि क्षेत्रमा लगानी वृद्धि र सरकारले कृषि क्षेत्रलाई व्यवस्थित बनाउने गरी प्रोत्साहन नीति बनाउनुपर्ने विज्ञहरुको सुझाव छ । उनीहरुले कृषि उत्पादनमा ठूलो सम्भावना हुँदासमेत कृषिजन्य सामग्री विदेशबाट आयात भइरहेकोप्रति दुःख प्रकट गरे । अब नेपाली रैथाने कृषि उत्पादनलाई प्राथमिकतामा राखेर सबै नेपालीले आयातित कृषिजन्य वस्तु प्रयोगमा प्रतिवन्ध लगाए मात्रै खाद्य प्रणालीमा सुधार र खाद्य संप्रभुता हुने उनीहरु बताउँछन् ।

४२ औं विश्व खाद्य दिवसको अवसरमा अखिल नेपाल किसान महासंघको आयोजनामा आयोजित नेपालको खाद्य प्रणाली र खाद्य संप्रभुता विषयक अन्तरक्रियामा बोल्दै कृषि विभागका उपहानिर्देशक डा. हरिबहादुर केसीले नेपालको कृषि क्षेत्रमा सरकार र निजी क्षेत्रको कृषि अनुसन्धान,जनशक्ति र लगानीको कमी रहेको बताए । उनले पछिल्लो समय कृषि क्षेत्रमा विकास भएका नयाँ प्रविधिहरूले नेपाली रैथाने प्रविधिलाई विस्थापित बनाएको पनि बताए । 

डा. केसीले नेपाली रैथाने प्रविधिलाई नयाँ प्रविधिमा विकास गर्न सकेमा कृषि क्षेत्रमा वैदेशीक रुपमा प्रतिष्पर्धा बढाउन सकिने अवस्था आउने बताए । उनले नेपाली किसानले उत्पादन गरेको वस्तुलाई बजारमा प्राथमिकता दिएर विदेशबाट आयात भएका कृषिजन्य वस्तुलाई प्रतिवन्ध गर्न आवश्यक रहेको बताए ।  डा. केसीले नेपालीहरुले नै नेपाली उत्पादनलाई प्राथमिकता दिन नसके नेपाली उत्पादनले बजार पाउन नसक्ने बताए । 

उनले नेपाली खाद्य सामग्रीलाई उपभोगयोग्य बनाउनुपर्ने आवश्यकता रहेको बताए । डा. केसीले नेपालले पछिल्लो केही वर्षमा कृषि उत्पादन बढेको भएपनि कृषिजन्य वस्तुमा आयात बढ्दै गएको बताए । त्यस्तै,अखिल नेपाल किसान महासंघका अध्यक्ष डा.प्रेम दंगालले खाद्य प्रणालीमा सुधार ल्याउन सरकारले खाद्य नियमावली ल्याएर राष्ट्रिय खाद्य संप्रभुता परिषद् बनाउनुपर्ने माग गरे । 

त्यस्तै, मानव अधिकार एलान्सका महासचिव विदुर सुवेदीले नेपालमा कृषि शिक्षाको अभाव रहेको बताए । उनले कृषि सम्बन्धि शिक्षा कमजोर हुँदै गएको अवस्थामा पनि कृषकहरु समेत विदेश जाने क्रम बढीरहेको भन्दै चिन्ता व्यक्त गरे । महासचिव सुवेदीले विकासित मुलुकहरुले हरित ग्यास उत्पादन गरेको कारण खाद्य संकट आउन थालेको बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप