सोमबार, ०७ जेठ २०८१
ताजा लोकप्रिय

कर्णालीमा गठबन्धनविरुद्ध नेकपा एकीकृत समाजवादीको विद्रोह, यी हुन् बागी उम्मेदवार

आइतबार, ३० असोज २०७९, १४ : ५६
आइतबार, ३० असोज २०७९

कर्णाली प्रदेशमा नेकपा एकीकृत समाजवादी केन्द्रका नेताहरुले सत्तारुढ गठबन्धनभित्र विद्रोह गरेका छन् । पार्टीको नेतृत्व तहमै रहेका नेताहरुले  गठबन्धनविरुद्ध बागी उम्मेदवारी दिएका हुन् । गठबन्धनको निर्णय अनुसार प्रतिनिधिसभातर्फ सल्यान, दैलेख–१ र डोल्पा र प्रदेशसभातर्फ मुगु (क) र जुम्ला (ख) नेकपा एकीकृत समाजवादीको भागमा परेको थियो । तथापि नेकपा एकीकृत समाजवादीका नेताहरुले रुकुमपश्चिम बाहेक आफ्नो उम्मेदवार नभएको क्षेत्रमा गठबन्धनकै उम्मेदवारविरुद्ध बागी उम्मेदवारी दिएका छन् ।

गठबन्धनकै निर्णय अनुसार नेकपा एकीकृत समाजवादीका उपमहासचिव एवं प्रदेश इञ्चार्ज प्रकाश ज्वाला सल्यानबाट प्रतिनिधिसभा सदस्य पदका लागि गठबन्धनका साझा उम्मेदवार छन् भने डोल्पामा धनबहादुर बुढा, दैलेख क्षेत्र नम्बर १ बाट प्रदेश अध्यक्ष अम्मरबहादुर थापा उम्मेदवार छन् ।

यस्तै प्रदेशसभा सदस्य पदका लागि जुम्ला (ख) बाट पदम बहादुर रोकाया र मुगु (क) बाट गोपाल बम उम्मेदवार बनेका छन् । प्रदेशसभातर्फ ५ निर्वाचन क्षेत्रमा बागी उम्मेदवारी दर्ता गराएको नेकपा एकीकृत समाजवादीले प्रतिनिधिसभातर्फ भने बागी उठाएको छैन ।

गठबन्धनको केन्द्रीय संयन्त्र र स्वयं नेकपा एकीकृत समाजवादीको केन्द्रीय कमिटीले समेत गठबन्धनविरुद्धको उम्मेदवारी फिर्ता लिन निर्देशन दिँदा पनि सो पार्टीका नेताको उम्मेदवारी फिर्ता भएको छैन । जसअनुसार सुर्खेतका दुई वटा निर्वाचन क्षेत्र, हुम्ला र कालिकोटका बागी उम्मेदवार पार्टीकै चुनाव चिन्हबाट चुनावी मैदानमा होमिएका छन् भने अन्यले स्वतन्त्र रुपमा उम्मेदवारी दिएका छन् ।

सुर्खेतमा नेकपा एकीकृत समाजवादीले सुरुमै प्रदेशसभातर्फ एउटा निर्वाचन क्षेत्र माग गरेको थियो । तर गठबन्धनको केन्द्रीय संयन्त्रले कुनै क्षेत्र पनि भाग नपारेपछि विद्रोहको चेतावनी स्वरुप स्वतन्त्र उम्मेदवारी दर्ता गराउने निर्णय ग¥यो । अन्तिममा आएर सुर्खेत निर्वाचन क्षेत्र नम्बर २ (क) र (ख) मा पार्टीकै निर्णय अनुसार भनेर नेकपा एकीकृत समाजवादीका नेताहरुले उम्मेदवारी दर्ता गराए ।

गठबन्धनको निर्णय अनुसार प्रदेशसभातर्फ सुर्खेत–२ (क) मा कांग्रेसका कालीप्रसाद शाक्य र (ख) मा माओवादीका विन्दमान विष्ट उम्मेदवार बनेका छन् । यद्यपि नेकपा एकीकृत समाजवादीले (क) मा जिल्ला इञ्चार्ज शिवप्रसाद उपाध्याय र (ख) मा जिल्ला अध्यक्ष मोहनसिंह बडुवालले उम्मेदवारी दिए । दुवै जनाको उम्मेदवारी अहिले कायम छ । उपाध्याय र बडुवाल दुवैले नेकपा एकीकृत समाजवादीकै चुनाव चिह्न लिएर चुनावी मैदानमा होमिएका हुन् ।

गठबन्धनकै उम्मेदवारविरुद्ध बागी उम्मेदवारी दर्ता गराउनेमा समाजवादीका दैलेख इञ्चार्ज टेकबहादुर खान पनि छन् । उनले गठबन्धनका साझा उम्मेदवार कांग्रेसका कृष्णकुमार विसी विरुद्ध उम्मेदवारी दिएका हुन् । दैलेख क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभा सदस्यका लागि प्रदेश अध्यक्ष अम्मरबहादुर थापा गठबन्धनका साझा उम्मेदवार हुँदाहुँदै पनि प्रदेशसभा निर्वाचन क्षेत्र १ (ख) मा नेकपा एकीकृत समाजवादीका जिल्ला इञ्चार्जले नै बागी उम्मेदवारी दिँदा कांग्रेस सशंकित बनेको छ ।

एमालेको बलियो प्रभाव रहेको उक्त क्षेत्रमा गठबन्धनभित्रबाटै धोका भएको खण्डमा नतिजा उल्टिन सक्ने आकलन कांग्रेस नेताहरुको छ । खानले स्वतन्त्रबाट चुनाव लड्ने भएका छन् ।

यस्तै नेकपा एकीकृत समाजवादीका जाजरकोट जिल्ला अध्यक्ष कमानबहादुर खड्काले पनि गठबन्धनका साझा उम्मेदवार कांग्रेसका वेदराज सिंहविरुद्ध उम्मेदवारी दिएका छन् । जाजरकोट (क) बाट प्रदेशसभा सदस्य पदका लागि उम्मेदवारी दर्ता गराएका उनले ‘काग’ चुनाव चिह्न प्राप्त गरेका छन् । खड्का गत वैशाख ३० गते सम्पन्न स्थानीय तहको निर्वाचनमा पराजित भएका थिए । उम्मेदवारी फिर्ताका लागि चर्को दबाबका बाबजुद उनले उम्मेदवारी फिर्ता लिएनन् ।

नेकपा एकीकृत समाजवादीका केन्द्रीय सदस्य हस्तबहादुर शाहीले पनि हुम्ला (क) बाट गठबन्धनको साझा उम्मेदवारविरुद्ध बागी उम्मेदवारी दिएका छन् । गठबन्धनबाट माओवादीका रनसिंह परियार उम्मेदवार छन् । उसो त त्यहाँ कांग्रेसका मंगलबहादुर शाही पनि स्वतन्त्र उम्मेदवार बनेका छन् । चार उम्मेदवार चुनावी मैदानमा प्रतिस्पर्धामा उत्रिएपछि परियारलाई घाटा लाग्ने देखिन्छ । किनकि कांग्रेस नेता शाहीको प्रभाव त्यहाँ बलियो रहेको नेताहरुको भनाइ छ ।

यस्तै नेकपा एकीकृत समाजवादीका कालिकोट जिल्ला अध्यक्ष विश्वराज बमले पनि गठबन्धनविरुद्ध बागी उम्मेदवारी दर्ता गराएका छन् । कालिकोट प्रदेशसभा (ख) का लागि गठबन्धनका साझा उम्मेदवार कांग्रेसका हिक्मत बहादुर विष्टविरुद्ध बमले उम्मेदवारी दिएका हुन् । 

कांग्रेस–माओवादीका नेताहरुले भने नेकपा एकीकृत समाजवादीमा नेताहरुले राजनीतिक इमानदारिता नदेखाएको आरोप लगाएका छन् । कांग्रेस कर्णाली प्रदेशका प्रवक्ता दमन शाहीले नेकपा एकीकृत समाजवादीका नेताहरुले राजनैतिक इमानदारिता बिर्सिएको बताए ।

यता, नेकपा एकीकृत समाजवादीका प्रदेश अध्यक्ष अम्मरबहादुर थापा गठबन्धनविरुद्ध उम्मेदवारी दिनेहरुलाई कारबाही गरिने बताउँछन् । ‘मैले उम्मेदवारी फिर्ता गर्ने भनेर निर्णय गरेर पार्टी केन्द्रमा पठाइसकेको छु,’ थापाले भने, ‘स्वतन्त्रको कुरा स्वतन्त्रले नै जान्ने हुन्छ, पार्टीको तर्फबाट भएका कुराहरु पार्टीले गर्छ । पार्टीकै नेतृत्वमा रहेका नेताहरुले नै बेइमानी गरेपछि पार्टीको साधारण सदस्य नरहने गरी कारबाही हुन्छ ।’

थापाले बागी उम्मेदवारहरुलाई तीन दिनको म्याद दिइएको रातोपाटीलाई बताए । उनले भने, ‘तीन दिनको म्याद दिइएको छ, सो समयावधिभित्र बागी उम्मेदवारहरुले उम्मेदवारी फिर्ता र गठबन्धनका उम्मेदवारलाई सहयोग गर्ने प्रतिबद्धता जाहेर नगरेको खण्डमा ठाउँको ठाउँ कारबाही हुन्छ ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

पंखबहादुर शाही
पंखबहादुर शाही
लेखकबाट थप