शनिबार, १२ असोज २०८१
ताजा लोकप्रिय

मोबाइल सेवा प्रदायकले ग्राहकको विवरण नदिँदा एमडीएमएस प्रयोगमा कठिनाइ !

आइतबार, ३० असोज २०७९, १२ : ३८
आइतबार, ३० असोज २०७९

मोबाइल सेवा प्रदायकहरूले ग्राहकको तथ्याङ्क नेपाल दूरसञ्चार प्राधिकरणको सिस्टममा नपठाइदिँदा मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस) कार्यान्वयनमा जटिलता देखिएको छ । नेपाल टेलिकम, एनसेल, स्मार्ट सेल लगायतका मोबाइल सेवा प्रदायकले ग्राहकको विद्युतीय विवरण प्राधिकरणको सिस्टममा अपलोड नगरिदिँदा एमडीएमएस कार्यान्वयनमा समस्या परेको हो । 

नेपाल दूरसञ्चार प्राधिकरणका सहायक प्रवक्ता अच्युतानन्द मिश्रका अनुसार एमएनओ अर्थात् मोबाइल नेटवर्क अपरेटरले एमडीएमएसमा ग्राहकको विवरण अपलोड नगरेका कारण एमडीएमएसको कार्यान्वयनमा समस्या परेको हो । 

नेपाल दूरसञ्चार प्राधिकरणले गत भदौ ३१ गतेदेखि नै एमडीएमएस प्रणाली प्रयोगमा ल्याएको थियो । नेपालमा अवैधरुपमा भित्रिएका मोबाइललाई बन्द गर्न पहिले नै दर्ता नभएका वा अवैध बाटो भएर राजश्व नतिरी भित्रिएका मोबाइललाई बन्द गर्नका लागि एमडीएमएस प्रविधि नेपालमा भित्राइएको थियो । 

प्राधिकरणले भदौ ३१ गतेबाटै एमडीएमएस प्रणाली सुरु भएको भने पनि मोबाइल सेवा प्रदायकले ग्राहकको तथ्याङ्कमा एमडीएमएसमा प्रविष्ट नगरिदिँदा त्यसपछि पनि अवैधरुपमा नेपाल भित्रिएका मोबाइल निर्वाधरुपमा चलिरहेका छन् । प्राधिकरणले एमडीएमएसमा दर्ता नभएका र भदौ ३१ गतेपछि नेपाली सिम प्रयोग भएको मोबाइल फोन १५ दिनपछि नचल्ने बताएको थियो । तर त्यसपछि उक्त मोबाइल फोन बन्द गराउनका लागि मोबाइल सेवा प्रदायकले त्यसको तथ्याङ्क एमडीएमएसको सिस्टममा अपलोड गर्नुपर्ने भए पनि नेपाल टेलिकम, एनसेल, स्मार्ट सेल लगायतका मोबाइल सेवा प्रदायकले ती तथ्याङ्क एमडीएमएसको सिस्टममा अपलोड नगरिदिएको प्राधिकरणका सहायक प्रवक्ता मिश्रले रातोपाटीलाई बताए । 

मिश्रले भने, ‘अब लागु हुन बाँकी भनेको चाहिँ मोबाइल नेटवर्क अपरेटर (एमएनओ) को हो । अहिले मोबाइल नेटवर्क अपरेटरको डाटा अनलाइन भइसकेको छैन । त्यसपछि ल इनफोर्समेण्ट एजेन्सी अर्थात् सेक्युरिटी मोडल बाँकी छ । त्यही भएर यसलाई अहिले सफ्ट लञ्च भनेका हौँ । केही कुराहरू परीक्षणकै क्रममा छन् । ती तथ्याङ्कहरू एमडीएमएसमा प्रविष्ट भएपछि एमडीएमएसमा दर्ता नभएका मोबाइल फोन चल्दैनन् ।’

भदौ ३१ गतेपछि नेपाल भित्रिएर नेपालमा चलेका मोबाइलहरू अब के हुन्छ भन्ने सन्दर्भमा पनि अहिले कुनै निर्णय नभएको मिश्रले बताए । भदौ ३१ को दुई महिनाभित्र मोबाइल नेटवर्क अपरेटरहरूलाई ग्राहकका सबै तथ्याङ्क प्राधिकरणको सिस्टममा अपलोड गर्न भनिएको र कात्तिक महिनाभित्र सबै तथ्याङ्क एमडीएमएसमा अपलोड हुने भएकाले मङ्सिर १ गतेपछि भने त्यस्ता मोबाइल १५ दिनपछि नचल्ने मिश्रले बताए ।

मिश्रले भने, ‘हाम्रो सिस्टममा भदौ ३१ गतेसम्म जुन मोबाइलहरू आएको थियो, त्यसलाई हामीले अटोमेटिक दर्ता गरिदियौँ । त्यसपछि पनि केही मोबाइल चलिरहेको होला । तर जबसम्म एमएनओ (मोबाइल नेटवर्क अपरेटर) मोडललाई अनलाइन ल्याउँदैनौ, तबसम्म केही फिचरहरू पूर्णरुपमा लागु हुँदैन । अब एमएनओ मोडल अर्थात् मोबाइल नेटवर्क अपरेटरलाई पनि हामीले भदौ ३१ पछि दुई महिनाको समय दिएर अनलाइन गरिसक्न भनेका छौँ । अब मङ्सिर १ पछि एमडीएमएस पूर्णरुपमा लागु हुन्छ । त्यसपछि नेपालको सिस्टम अर्थात् एमडीएमएसमा दर्ता नभएका मोबाइलहरू १५ दिनभन्दा बढी चल्न सक्दैनन् ।’

मिश्रका अनुसार मोबाइल सेवा प्रदायकहरूले ग्राहकको तथ्याङ्क आफ्नो सिस्टममा प्रविष्ट गर्दा अहिले एमडीएमएसलाई आवश्यक सबै तथ्याङ्क नराखेको कारण केही ढिला हुन गएको हो । अहिले मोबाइल सेवा प्रदायकहरूले डाटा इन्ट्रीको काम गरिरहेको कारण अब मङ्सिर १ गतेपछि एमडीएमएस पूर्णरुपमा लागू हुने बताए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप