सोमबार, ०७ जेठ २०८१
ताजा लोकप्रिय

रामचन्द्र पौडेललाई पर्न सक्छ जोशीको उम्मेदवारी भारी

आइतबार, ३० असोज २०७९, १२ : १८
आइतबार, ३० असोज २०७९

नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल प्रतिनिधिसभातर्फ तनहुँ–१ बाट उम्मेदवार बनेका छन् । उनी सत्ता गठबन्धनको साझा उम्मेदवारका रुपमा यो पटक चुनावी मैदानमा छन् । उनी सातौं पटक चुनावी प्रतिस्पर्धामा छन् ।

 ०४८ सालमा पहिलो पटक चुनाव लडेका पौडेलले पाँच वटा चुनाव जितिसकेका छन् । ०७४  सालमा वाम गठबन्धनका कृष्णकुमार श्रेष्ठसँग पहिलो पटक पराजित पौडेल यसपटक तनहुँ–१ मा सत्तारुढ गठबन्धनको साथबाट जित्ने अभियानमा छन् । तर, उनलाई आफ्नै पूर्वसहकर्मी तथा नेपाली कांग्रेसका पूर्व सहमहामन्त्री गोविन्दराज जोशीको स्वतन्त्र उम्मेदवारीले चुनौती बढाएको छ ।

जोशी स्थानीय कार्यकर्ता र मतदातासँग लोकप्रिय हुँदा पौडेलको मत काट्न सक्ने कांग्रेस नेताहरु बताउँछन् । ‘जोशीले स्थानीयस्तरमै रहेर राजनीति गर्नुभयो । पौडेल सधंै केन्द्रमै रमाउनुभयो,’ ती नेताले भने, ‘पछिल्लो दिनमा दुई नेताले एकअर्कालाई निषेध गर्दा तनहुँमा कांग्रेसको मत विभाजन हुने देखिन्छ ।’

०७४ को प्रतिनिधिसभा निर्वाचनमा टिकट नपाएपछि पौडेलविरुद्ध जोशीले बागी उम्मेदवारी दिएका थिए । आफ्नो मत काट्ने डरले पौडेलले जोशीको उम्मेदवारी खारेजीका लागि उजुरी नै गराए । जोशीविरुद्ध भ्रष्टाचार मुद्दा भएकाले उम्मेदवार हुन नमिल्ने भन्दै पौडेल पक्षकाले उजुरी दिएपछि निर्वाचन आयोगले जोशीको उम्मेदवारी खारेज ग¥यो । कांग्रेसले जोशीलाई पाँच वर्षका लागि पार्टीबाट निस्कासनसमेत ग¥यो । यसपछि झनै यी दुई नेताको सम्बन्ध तिक्ततापूर्ण बनेको छ ।

अघिल्लो निर्वाचनमा कृष्णकुमार श्रेष्ठसँग पौडेल ६ हजार ८ सय २ मतले पराजित भए । उनको पराजयमा जोशी पक्षका मतदाताको भूमिका महत्त्वपूर्ण रहेको स्थानीय कार्यकर्ता बताउँछन् ।

गत वैशाख ३० को स्थानीय तहको निर्वाचनमा आइपुग्दा जोशीका छोरा दीपकराज जोशी क्षेत्र नम्बर १ अन्तर्गत पर्ने व्यास नगरपालिकाको मेयरमा उम्मेदवार बने । मेयरका उम्मेदवार जोशीले ११ हजार ८ सय २६ मत ल्याएका थिए । उनलाई एमालेले समर्थन गरे पनि चुनाव हारे ।

स्थानीय निर्वाचनमा छोराले लोकप्रिय मत ल्याउनु र उक्त क्षेत्रमा पौडेलको उम्मेदवारी पर्नुले पनि गोविन्दराज जोशीको स्वतन्त्र उम्मेदवारीलाई कम आँक्न नमिल्ने कांग्रेसकै कार्यकर्ता बताउँछन् । जोशीले कांग्रेसको मत कति काट्न सक्छन् भन्ने विषयले रामचन्द्र पौडेलको जित वा हार निर्भर रहने स्थानीय विश्लेषकको भनाइ छ ।  

जोशी, पौडेल र रानाको त्रिपक्षीय भिडन्त

तनहुँ क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभा सदस्यका लागि १५ जनाको उम्मेदवारी परेको छ । यसमध्ये कांग्रेसका पौडेल, स्वतन्त्रबाट जोशी र एमालेका एकबहादुर राना बीच मुख्य प्रतिस्पर्धा हुने देखिन्छ । जनाधारको हिसाबले उक्त क्षेत्रमा कांग्रेसको राम्रो पकड मानिन्छ । तर, पौडेल र जोशी भिड्दा यसको फाइदा एमाले उम्मेदवारलाई पर्न सक्छ । एमाले उम्मेदवार एकबहादुर पनि यसको प्रत्यक्ष फाइदा एमालेलाई पर्ने बताउँछन् ।

‘एमालेको तयारी गठबन्धसँग एक्लै भिड्न सक्ने गरी भएको छ, यसमाथि कांग्रेसकै पूर्व सहकर्मीबीच प्रतिस्पर्धा हुँदा हामी सजिलै चुनाव जित्छौं,’ एकबहादुरले भने । स्थानीय तहको चुनावको मत हेरेर राष्ट्रिय राजनीतिमा खासै असर नपर्ने उनको भनाइ छ । ‘स्थानीय चुनावमा उम्मेदवारले असर गर्छ, पार्टीले पाउने भोट प्रदेशसभा र प्रतिनिधिसभा चुनावमा देखिन्छ । यही चुनाव कुरिरहेका छौं,’ उनले भने ।

यता गोविन्दाराज जोशीका छोरा दीपकराज जोशीले बुबा स्थानीय स्तरमा लोकप्रिय र काम गरेर देखाएको मान्छे भएकाले चुनाव जित्न कठिन नहुने बताए । उनी भन्छन्, ‘१८ वर्षसम्म केन्द्रीय राजनीतिमा रहेर बुबाले यो क्षेत्रका लागि धेरै काम गर्नुभएको छ । अहिले पनि ती कामले बुबा लोकप्रिय हुनुहुन्छ । यहाँ बुबाले गरेका काम नै उहाँले चुनाव जित्ने आधार छन्,’ छोरा दीपकले भने ।

उनले आफूहरुलाई एमालेले सहयोग गरेको एमालेलाई पनि फाइदा पुग्ने बताए । ‘तनहुँ जिल्लामा हाम्रो राम्रो छ । एमालेले साथ दिए सबै क्षेत्रमा जित्न सकिन्थ्यो । यहाँ पार्टी, सिद्धान्तभन्दा पनि विकास कसले गरेको छ भनेर जनताले खोज्ने रहेछन्,’ उनले भने ।

कांग्रेस जिल्ला सचिव लक्ष्मीभक्त खनाल भने कांग्रेसले सजिलै चुनाव जित्ने बताउँछन् । उनी भन्छन्, ‘स्वतन्त्रले भोट पक्कै काट्छन् । तर, हामीसँग गठबन्धको भोट भएकाले चुनाव जित्न कठिन हुँदैन ।’

तनहुँ–१ बाट प्रतिनिधिसभाका लागि जनता समाजवादी पार्टीबाट पासाङ थापामगर, राष्ट्रिय प्रजातन्त्र पार्टीबाट विनोदकुमार घर्ती, नेपाल मजदुर किसान पार्टीबाट रामकृष्ण त्वायना, हाम्रो नेपाली पार्टीबाट प्रवीण पौडेल, राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालबाट कृष्णप्रसाद पौडेल पनि उम्मेदवार छन् । यस्तै, मंगोल नेशनल अर्गनाइजेशनबाट प्रेमबहादुर थापा, नेश्नलिष्ट पिपल्स पार्टीबाट ताजमहमद मियाँ, राष्ट्रिय जनमुक्ति पार्टीबाट हस्तबहादुर किचिम थापा, राष्ट्रिय स्वतन्त्र पार्टीबाट विकास सिग्देल पनि यस क्षेत्रमै चुनावी मैदानमा छन् ।

यो क्षेत्रमा स्वतन्त्रतर्फ जोशीका अतिरिक्त रामचन्द्र कार्की, बेलबहादुर दरै र पृथ्वीनारायण श्रेष्ठ चुनावी प्रतिस्पर्धामा छन् । यसमा सत्ता गठबन्धन एकातिर र प्रमुखप्रतिपक्ष दल एमाले अर्कोतिर हुँदा प्रतिस्पर्धा थप रोचक बन्ने अनुमान गरिएको छ ।

गत वैशाख ३० गते सम्पन्न स्थानीय तहको निर्वाचनमा वडाध्यक्षले पाएको मतलाई विश्लेषण गर्दा यो क्षेत्रमा कांग्रेस बलियो देखिन्छ । तनहुँ–१ मा देवघाट गाउँपालिका, आबुखैरेनी गाउँपालिका, बन्दिपुर गाउँपालिका, भानु नगरपालिका, व्यास नगरपालिकाका १, २, ३, ४, ७, ८, ९, १०, ११, १२, १३, १४ वडा पर्छन् ।

स्थानीय निर्वाचनमा १ नम्बर क्षेत्रमा दलले पाएको मत

–कांग्रेस ३३,१०६

–नेकपा एमाले २२,२१०

–नेकपा माओवादी केन्द्र ८,४७४

–नेकपा एकीकृत समाजवादी ८९२

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप