शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

ललितपुर–१ मा उदय शमशेर र नवराज सिलवालको दोस्रो रोचक भिडन्त

सिलवालसँग बदला लिने रणनीतिमा राणा, फेरि पराजित गर्ने सिलवालको दावी
आइतबार, ३० असोज २०७९, १० : ५३
आइतबार, ३० असोज २०७९

ललितपुर क्षेत्र नम्बर १ मा २०७४ सालको प्रतिनिधि सभा निर्वाचनमा जस्तै आसन्न निर्वाचनमा पनि मुख्य दुई प्रतिस्पर्धी नवराज सिलवाल र उदय शमशेर राणा आमने–सामने भएका छन् । अघिल्लो प्रतिनिधि सभा निर्वाचनमा राणालाई पराजित गर्दै विजय हासिल गरेका सिलवाल पुनः उनलाई पराजित गर्ने ध्याउन्नमा छन् भने राणा सिलवालसँग बदला लिने रणनीतिमा छन् ।

यी दुई उम्मेदवारबीच अहिले अघिल्लो निर्वाचनको समयभन्दा भन्दा ठीक विपरित राजनीतिक वातावरण सिर्जना हुन पुगेको छ । जतिबेला एमालेबाट उम्मेदवार बनेका सिलवालले माओवादीको साथ पाएका थिए ।  यतिबेला भने राणाको साथमा माओवादी केन्द्र र एमालेबाट फुटेको एकीकृत समाजवादी आइपुगेको छ । अर्थात, अघिल्लो पटक गठबन्धनबाट विजयी भएका सिलवाल अहिले अहिले सत्ता गठबन्धनसँग एक्लै चुनाव लडेर जित निकाल्नुपर्ने चुनौतीमा छन् ।

अघिल्लो चुनावमा वाम गठबन्धनका उम्मेदवार सिलवालले २६ हजार ९५१ मत पाएका थिए भने कांग्रेसका राणाले २० हजार ७२९ मत पाएका थिए । उनीहरुबीच करिब ६ हजार भोटको मतान्तर रहेको थियो ।

ललितपुर क्षेत्र नम्बर १ मा गोदावरी नगरपालिकाको वडा नम्बर १ देखि ११ सम्म र वडा नम्बर १३ पर्छ । वडा नम्बर १२ र १४ क्षेत्र नम्बर २ मा पर्छ । यस्तै कोञ्ज्योसोम गाउँपालिका, बागमती गाउँपालिका र महाँकाल गाउँपालिका पर्दछ ।

५ वर्षमा गरेको काम नै मेरो जितको आधार हो : सिलवाल

अघिल्लो पटक कांग्रेस उम्मेदवार राणालाई पराजित गरेका एमाले उम्मेदवार सिलवाल फेरि पनि पराजित गर्ने रणनीतिका साथ चुनावी मैदानमा उत्रिएका छन् । आफूले ५ वर्षको अवधिमा गरेको काम नै जितको आधार भएको उनको दाबी छ ।

सिलवालले भने, ‘मैले ५ वर्षमा काम गर्दा जनताको जीवनलाई छोएको छु । समाजमा भिजेको छु । समाजमा रहेका विविधतासँग गाँसिएको छु । विकास, पूर्वाधार निर्माणको सवालमा मैले जसरी काम गरेको छु । शिक्षा, स्वास्थ्य, सामाजिक सुरक्षाको सम्बन्धमा मैले काम गरेको छु । खेलकुददेखि महिला स्वावलम्बी बनाउने लगायतका जति पनि काम गरेको छु, जसको कारण जनताले व्यक्ति व्यक्ति घर घरले मलाई चिन्छन् । यो मेरो जन्म ठाउँ पनि हो । म यहीँ हुर्केको, पढेको क्षेत्र हो । मसँग प्रतिस्पर्धा गर्ने व्यक्ति बाहिरबाट आउने भएको र म यहीँको बासिन्दा भएकोले चुनाव जित्नेमा शतप्रतिशत विश्वस्त छु ।’

उनले गठबन्धनले सो क्षेत्रका जनताको मन परिवर्तन गर्न नसक्ने दावी गरे । गठबन्धन सरकारले गरेको काम अस्तव्यस्त रहेको, भष्टाचार महँगी बढेको लगायतका कारण ललितपुर क्षेत्र नम्बर १ का जनताले गठबन्धनलाई विश्वास नगर्ने उनको दावी छ ।

२०७४ सालको प्रतिनिधि सभाको निर्वाचन अघि भएको स्थानीय तहको निर्वाचनमा एमालेले महाँकाल गाउँपालिकामा मात्र विजय भएपनि प्रतिनिधि सभा सदस्य एमालेले जितेको बताउँदै यस वर्ष भएको स्थानीय तहको निर्वाचनको मत परिणामका आधारमा आगामी चुनावको भोटको मूल्याङ्कन गर्न नसकिने सिलवालको भनाइ छ ।

यो पटक एमालेको खासै चुनौती छैन : राणा

अघिल्लो पटक एमाले उम्मेदवार सिलवालसँग पराजय भोगेका कांग्रेसका उम्मेदवार राणा यो पटक आफ्नो जित सुनिश्चित रहेको दाबी गर्छन् ।  हाल चुनावी प्रचार प्रसारको कार्यक्रमका लागि सत्ता गठबन्धनका विभिन्न तहका कमिटीसँग छलफलमा जुटिरहेको उनको भनाइ छ ।

अघिल्लो पटक वाम गठबन्धनका कारण एमाले चुनौतीको रुपमा रहेपनि यो पटकको निर्वाचनमा खासै चुनौती नभएको उनको दावी छ ।

उम्मेदवार राणाले भने, ‘गठबन्धनबाट चुनाव जित्नका लागि धेरै सहज भइहाल्ने भयो । मुख्य कुरा के हो भने निर्वाचित भइसकेपछि जनताका समस्या हेर्ने, विकास गर्नुपर्ने हुन्छ । विकासको कुरा गर्दा खासै उपलब्धिमूलक काम भएको देखिएको छैन । २०७० सालको चुनाव जितेपछि कांग्रेसको सरकार थियो र मैले यही क्षेत्रबाट प्रतिनिधित्व पनि गरेको थिएँ । यहाँका जनताले २०७० सालपछि र २०७४ सालपछि कसको पालामा धेरै विकास भयो यसका जनताले पनि मुल्याङ्कन गर्नुहुनेछ भन्ने विश्वास लिएको छु ।’

२०६४ सालमा माओवादी केन्द्रका वर्षमान पुन विजयी भएपछि उनी अर्थमन्त्री बनेको बेला सो क्षेत्रका लागि धेरै बजेट हालेको र २०७० सालमा आफू निर्वाचित भएपछि पनि आफूले विकास गरेको दावी गरे ।

उनले भने, ‘यो क्षेत्रमा माओवादी र कांग्रेसले जितेको बेला बढी विकास भएको छ कि एमालेले जितेको बेला भएको छ त्यो जनताले हेर्नुहुनेछ भन्ने मलाई लागेको छ ।’ सो आधारमा यो पटक एमालेको खासै चुनौती महसुस नगरेको र जित्ने आधार बलियो रहेको राणाको दावी छ ।

यस्तो थियो स्थानीय तह चुनावमा दलहरूको नतिजाको अवस्था

गत स्थानीय तहको निर्वाचनमा ललितपुर क्षेत्र नम्बर १ अन्तर्गत रहेका स्थानीय तहको निर्वाचनमा सत्ता गठबन्धन दल कांग्रेस र माओवादी केन्द्रबीच चुनावी तालमेल भएको थियो । कुनै स्थानीय तहमा भने तालमेल प्रभावकारी ढंगले कार्यान्वयन भएको थिएन ।

सिलवाल र राणाले प्रतिस्पर्धा गर्ने यो क्षेत्रका स्थानीय तहमा ३० वडा छन् । जसमध्ये २२ वटा वडामा कांग्रेसले जित हात पारेको थियो । स्थानीय तहको निर्वाचनमा यो क्षेत्रमा कांग्रेसले करिब २३ हजार ८ सय ५४ मत पाएको थियो भने एमालेले करिब १८ हजार ९ सय ९३ मत पाएको थियो ।

यो निर्वाचन क्षेत्रका ४ वटा स्थानीय तह मध्ये गोदावरी नगरपालिकामा कांग्रेसबाट प्रमुख र उपप्रमुख विजयी भएका थिए ।

बागमती गाउँपालिकामा सत्ता गठबन्धनबाट प्रमुखमा नेपाली कांग्रेस र उपप्रमुखमा माओवादी केन्द्र विजयी भएको थियो । कोञ्ज्योसोम गाउँपालिका अध्यक्षमा एमाले र उपप्रमुखमा कांग्रेस विजयी भएको थियो ।

यस्तै महाँकाल गाउँपालिकामा गठबन्धनबाट प्रमुखमा कांग्रेस र उपप्रमुखमा माओवादी केन्द्र विजयी भएको थियो ।

गोदावरी नगरपालिकामा सत्ता गठबन्धन माओवादी र एमालेबीच चुनावी तालमेल गर्ने भनिएपनि वास्तविक रुपमा तालमेल भएको थिएन । केन्द्रबाट तालमेलको निर्देशन भएपनि स्थानीय तहबाट फरक रुपमा चुनावी प्रतिस्पर्धा भएको थियो ।

गोदावरी नगरपालिका प्रमुख र उप्रमुखका लागि कांग्रेस र एमालेका उम्मेदवारबीच प्रतिस्पर्धा भएको थियो । यो दुवै पदमा माओवादी केन्द्रले उम्मेदवार उठाएको थिएन । गोदावरी नगरपालिका वडा नम्बर १ गोदामचौरमा माओवादी केन्द्र र एमालेबीच तालमेल भएको थियो । यस्तै वडा नंबर ४ र ८ मा पनि माओवादी केन्द्रको भोट एमालेलाई गएको कांग्रेसबाट उपप्रमुखमा निर्वाचित मुना अधिकारीले रातोपाटीलाई बताइन् । कांग्रेसको प्रमुख र उपप्रमुखलाई माओवादी केन्द्रको भोट पूरै नआएको र एक किसिमले स्वतन्त्र ढंगको प्रतिस्पर्धा भएको बताइन् । सोही नगरपालिकाको वडा नंबर ३ मा माओवादी केन्द्रबाट निर्वाचित भएका राज घिमिरेले पनि केन्द्रबाट कांग्रेस र माओवादीबीच चुनावी तालमेल गर्ने निर्देशन भएपनि दलहरुबीच स्वतन्त्र प्रतिस्पर्धा भएको बताए ।

बागमती गाउँपालिकामा भने कांग्रेस र माओवादी केन्द्रबीच सबै वडामा तालमेल भएको थियो । यो गाउँपालिका अध्यक्षमा कांग्रेसका वीरबहादुर लोप्चन र उपाध्यक्षमा माओवादी केन्द्रका भक्त बहादुर मगर निर्वाचित भएका थिए ।

यस्तै महाँकाल गाउँपालिकामा कांग्रेस र माओवादी केन्द्रको आंशिक चुनावी तालमेल भएको थियो । गाउँपालिका अध्यक्ष र उपाध्यक्षका साथै वडा नंबर ३ र ४ मा तालमेल भएको माओवादी केन्द्रबाट महांकाल गाउँपालिका उपाध्यक्ष रहेकी डोल्मा माया गोलेले रातोपाटीलाई जानकारी दिइन् । यो गाउँपालिका अध्यक्ष कांग्रेसले जितेको थियो भने उपाध्यक्ष पद माओवादी केन्द्रले जितेको थियो । २ वडाबाहेक अन्य वडाहरुमा भने स्वतन्त्र प्रतिस्पर्धा भएको थियो ।

यी स्थानीय तहमा हाल भने कांग्रेस र माओवादी केन्द्रबीच गठबन्धन बलियो रुपमा रहेको कांग्रेस र माओवादी केन्द्रका स्थानीय नेता बताउँछन् ।

क्षेत्र नम्बर १ मा अरु को–को छन् उम्मेदवार ?

ललितपुर क्षेत्र नम्बर १ मा सिलवाल र राणाबाहेक जनता समाजवादी पार्टी, नेपालका गोपाल राज राई, राष्ट्रिय प्रजातन्त्र पार्टीका सन्दिप आचार्य, नेपाल मजदुर किसान पार्टीका कविन्द्र डंगोल मैदानमा छन् । यस्तै लोकतान्त्रिक समाजवादी पार्टी नेपालका मनिष बहादुर श्रेष्ठ, मंगोल नेशनल अर्गनाइजेसनका सूर्य तामाङ्ग बल, नेश्नलिष्ट पिपल्स पार्टीका सुभद्रा महर्जन, राष्ट्रिय जनमुक्ति पार्टीका बालकृष्ण घिमिरे, आमूल परिवर्तन मसिहा पार्टी नेपालका विष्णु लामा र राष्ट्रिय स्वतन्त्र पार्टीका  सचिन कुमार घिमिरे उम्मेदवार छन् ।

यस्तै स्वतन्त्रबाट गोविन्द घिमिरे केसी, सुमन भुम्जन, राज कुमार तिमिल्सिनाफूल माया लोनवराज घिमिरेविशाल तामाङ, भुपेन्द्र सिलवाल, गोकुल तिमल्सिना, शैलेन्द्र बिष्ट र  कृष्णकाजी महर्जन पनि उम्मेदवार छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

शम्भु दंगाल
शम्भु दंगाल

शम्भु दंगाल संसदीय मामिला, पुनर्निर्माण र समसामायिक विषयमा रिपोर्टिङ गर्छन् ।

लेखकबाट थप