आइतबार, ०६ जेठ २०८१
ताजा लोकप्रिय

हिजो काँग्रेस र हामी दुई ध्रुव भएर लड्यौँ , अहिले मिल्नुपर्ने अवस्था छ: पुन

शनिबार, २९ असोज २०७९, १८ : २६
शनिबार, २९ असोज २०७९

नेकपा माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुन अनन्तले लोकतन्त्र र संविधान रक्षाका लागि सत्ता गठबन्धनका दलहरुबीच चुनावी तालमेल भएको बताएका छन् । गृह जिल्ला रोल्पाको लिवाङमा शनिबार गठबन्धनद्वारा आयोजित पत्रकार सम्मेलनमा पुनले गठबन्धन निश्चित उद्देश्यमा आधारित रहेको बताए । 

‘पटकपटक संसद विघटन भयो र संविधान मिच्ने काम भयो । लोकतान्त्रिमाथि प्रहार भयो’, पुनले भने, ‘संविधान र लोकतन्त्र बचाउन सडकमा संघर्ष गरेको शक्तिले सरकार बनायो, अहिले त्यही गठबन्धनको सरकार छ । हामीले निर्वाचनमा सँगसँगै जाने निर्णय गरेका छौँ । यो आम जानकारीकै विषय छ ।’

पुनले माओवादी केन्द्र र काँग्रेसको मिलन इतिहासको आवश्यकता भएको औँल्याए । कुनै बेला दुई प्रमुख शक्तिबीच आमने सामने लडाइँ भएको स्मरण गर्दै उनले अहिले मिल्नु परिस्थितिको आवश्यकता भएको तर्क गरे । ‘हिजो माओवादी र काँग्रेस दुई ध्रुवजस्तो भएर लड्यौँ । त्यतिबेला प्रतिस्पर्धा थियो, अहिले सहकार्य आवश्यक भएकाले गठबन्धन गरेका छौँ ।’ 

पुनले गठबन्धनका साझा उम्मेदवारविरुद्ध उम्मेदवारी दिएकाहरूलाई उम्मेदवारी फिर्ताका लागि अपिल गरे । सत्ता गठबन्धनद्वारा सिट बाँडफाँटका लागि गठित कार्यदल सदस्यसमेत रहेका पुनले देशभर करिब दुई सय स्थानमा बागी उम्मेदवारी दर्ता भएकामा अब त्यो संख्या ८/१० जनामा झरेको बताए । उनले रोल्पा (ख) बाट बागी उम्मेदवारी दिएका माओवादी पोलिट्ब्युरो सदस्य दीपेन्द्र पुन राजनीतिक रूपमा उम्मेदवारी फिर्ता लिएर गठबन्धनका उम्मेदवारलाई सघाउन सकारात्मक रहेको जानकारी दिए । 

उक्त प्रदेशमा गठबन्धनका तर्फबाट काँग्रेस लुम्बिनी प्रदेश अध्यक्ष अमरसिंह पुन उम्मेदवार छन् । उनले देशभर काँग्रेसको सहयोगमा माओवादी उम्मेदवार जित्नुपर्ने अवस्थामा आफूहरुले अवस्था सुदृढ भएको रोल्पा र रुकुमजस्ता जिल्ला मात्र हेरेर ढिपी गर्न नहुने उनको भनाइ थियो । ‘हामीले आफू बलियो भएको रोल्पा र रुकुम मात्र हेरेर हुँदैन’, उनले भने, ‘देशभर हाम्रा साथीहरू काँग्रेसको सहयोगमा उम्मेदवार बन्नुभएको छ । उहाँहरूको जितलाई पनि हामीले हेर्नुपर्छ ।’

पुन सत्ता गठबन्धनका तर्फबाट एक मात्र प्रतिनिधिसभा निर्वाचन क्षेत्र रहेको रोल्पाबाट उम्मेदवार छन् । उनी ०७४ को निर्वाचनमा पनि रोल्पाबाटै प्रतिनिधिसभामा निर्वाचित भएका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप