बुधबार, १९ असार २०८१
ताजा लोकप्रिय

आसन्न निर्वाचनका लागि बारामा ५५५ मतदान केन्द्र

शनिबार, २९ असोज २०७९, १५ : ५४
शनिबार, २९ असोज २०७९

निर्वाचन आयोगले आसन्न निर्वाचनका लागि बाराको ४ वटा संघीय र ८ वटा प्रदेशसभा सदस्य निर्वाचनमा ५५५ वटा मतदान केन्द्र निर्धारण गरेको छ । जिल्ला निर्वाचन कार्यालय बाराले सार्वजनिक गरेको तथ्याङ्कअनुसार जिल्लाको निर्वाचन क्षेत्र नं १ (क) मा ८६, (ख) मा ६९ वटा मतदान केन्द्र तोकिएको छ भने जिल्लाको दक्षिणी भेगमा भारतीय सीमासँग जोडिएको  निर्वाचन क्षेत्र नं २ (क)मा  ६९ (ख) मा ६७ वटा मतदान केन्द्रहरु रहेका छन् । 

जिल्लाको निर्वाचन क्षेत्र नं ३ (क)मा ६९ र (ख) मा ६३ वटा र जिल्लाको उत्तरी भेग मकवानपुरसँग जोडिएका बारा–पर्सा औधोगिक करिडोर समेटिएको महत्वपुर्ण निर्वाचन क्षेत्र नं ४ मा  (क)मा  ६४ र (ख) ६८ वटा मतदान केन्द्रहरु रहेका छन् । आयोगले संघ र प्रदेशमा  जिल्लाभरका लागि ३०५ वटा मतदान स्थल निर्धारण गरेको छ ।

जिल्ला निर्वाचन कार्यालय बाराका प्रमुख निर्वाचन अधिकृत सरोजकुमार चौधरीले एउटै मतदान स्थलमा ‘क’ र ‘ख’ गरी दुई वा दुई भन्दा बढी मतदान केन्द्र रहने भएकाले मतदान स्थलको तुलनामा मतदान केन्द्रको संख्या अधिक भएको बताएका छन् । 

जिल्ला निर्वाचन कार्यालयले स्थानिय तह निर्वाचन पछि थपिएको १२ हजार ७४५ मतदाता सहित जिल्लामा ४ लाख ३३ हजार ५०४ मतदाता रहेको  जनाएको छ । जसमध्ये महिला संख्या अधिक रहेको छ ।  महिला मतदाता २ लाख ३६ हजार ८८० र १ लाख ९६ हजार ६१२ पुरुष मतदाता रहेका छन् ।

महिला पुरुष बाहेक अन्य समूह (तेस्रो लिङ्गी) १२ जना रहेका छन् । जिल्लाको ४ वटा संघीय निर्वाचन क्षेत्रमध्ये सबैभन्दा धेरै मतदाता क्षेत्र नं १ मा रहेका छन् । सो क्षेत्रमा १ लाख १९ हजार ३७५ मतदाता र बाँकी ३ वटा संघीय निर्वाचन क्षेत्रमा भने १ लाख ३ हजार देखि १ लाख ५ हजारको हाराहारीमा रहेका छन् ।

 जिल्लाको ४ वटा संघीय निर्वाचन क्षेत्र मध्ये क्षेत्र नं १ र ४ सबैभन्दा धेरै महत्वपुर्ण क्षेत्र मानिन्छ । प्रस्तावित निजगढ दोस्रो अन्तराष्ट्रिय विमानस्थल,काठमाडौ–तराई÷मधेश द्रुतमार्ग, विशेष आर्थिक क्षेत्र प्राधिकरण ‘सिमरा सेज’, बारा–पर्सा औधोगिक करिडोर, प्राकृतिक श्रोत साधन, वन जंगल, शिक्षा, स्वास्थ्य, विकास निर्माण, सबैखाले समुदायहरुको बसोबास, वार्षिक ५० करोड हाराहारीमा खोलाजन्य पदार्थको आम्दानी लगायत कारणले यी दुई निर्वाचन क्षेत्र महत्वपूर्ण रहेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप