शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

‘सूर्य’ले फक्रिएला कमल ?

शनिबार, २९ असोज २०७९, १५ : ४९
शनिबार, २९ असोज २०७९

मकवानपुरलाई प्रतिनिधित्व गरेर देशको राजनीतिक तहको सबैभन्दा उच्च तहमा पुग्ने नेता हुन् कमल थापा । उनी मकवानपुरलाई प्रतिनिधित्व गर्दै देशको उपप्रधानमन्त्री समेत भइसकेका छन् । 

पञ्चायतकालदेखि नै सत्ताको स्वाद चाख्दै आएका थापाले राजाको प्रत्यक्ष शासनकालदेखि गणतन्त्र प्राप्ति पछि पनि सत्ताभोग गर्ने सौभाग्य प्राप्त गरेका छन् । २०३८ सालको निर्वाचनदेखि संसदीय पदमा चुनाव लड्दै आएका थापाले अहिले पनि चुनावी प्रतिस्पर्धालाई जारी नै राखेका छन् । उनी आगामी मङ्सिर ४ गते हुने निर्वाचनमा पनि मकवानपुर–१ बाट प्रतिनिधिसभा सदस्य पदका उम्मेदवार हुन् । 

थापाले यसअघि प्रत्यक्ष प्रतिस्पर्धा गरेका चुनावमध्ये एउटामा मात्र सफल भएका छन् अन्य सबैमा उनी पराजित भएका छन् । २०५१ मा भएको निर्वाचनमा उनी मकवानपुर–१ बाट निर्वाचित भएका थिए भने त्यस यताका निर्वाचनमा उनी लगातार पराजित भएका छन् । गणतन्त्र प्राप्ति पछि मकवानपुरबाट थापाले अपेक्षाकृत मत पाउन नै सकेका छैनन् । त्यसैले राप्रपा नेपालका अध्यक्षसमेत रहेका थापा आगामी निर्वाचनमा मकवानपुर–१ मा प्रतिनिधिसभा सदस्य पदका लागि एमालेको ‘सूर्य’ चिन्हबाट चुनाव लड्दैछन् ।

लामो समयदेखि राजतन्त्र र हिन्दु धर्मको पक्षमा राजनीति गर्दै आएका थापा एमालेको चुनाव चिह्न ‘सूर्य’ लिएर उम्मेदवार बनेसँगै मुलुकको देशको राजनीति नै तरङ्गित बनेको छ । अघिल्लो पटक यसै निर्वाचन क्षेत्रबाट कांग्रेसको सहयोगमा राप्रपा नेपालको ‘गाई’ चुनाव चिह्न लिएर मैदानमा उत्रिएका थापा वाम गठबन्धनबाट नेकपा एमालेका उम्मेदवार कृष्ण प्रसाद दाहालसँग पराजित भएका थिए । दाहालले ४० हजार ६३१ मत ल्याउँदा थापाले ३४ हजार ६५८ मत ल्याएका थिए ।

‘सूर्य’ ब्राण्डको लोभ

एमालेले आगामी निर्वाचनका लागि मकवानपुर–१ मा पार्टीको मकवानपुरका इन्चार्जसमेत रहेका रामेश्वर रानालाई टिकट दिने निर्णय नै गरेको थियो । तर, त्यसको भोलिपल्ट नै रानाको टिकट खोसेर एमाले अध्यक्ष ओलीले थापालाई उम्मेदवार बनाउने गरी टिकट दिएर पठाए । टिकट लिनका लागि थापा आफै बालकोट पुगेका थिए  ।

यसअघि पनि २०७४ को निर्वाचनमा राप्रपा हुँदा नै झापामा राजेन्द्र लिङ्देनले एमालेसँग तालमेल गरे पनि थापाले भने मकवानपुरमा कांग्रेसको साथ रोजेका थिए । सो समयमा कांग्रेसले धोका दिएकाले उनको दाबी छ । जसले गर्दा उनी यस  पटक भने एमालेको सारथि बनेका छन् । एमाले अध्यक्ष ओलीसँगको राम्रो सम्बन्धका कारण उनले अन्तिम समयमा टिकट पाउन सफल भए ।

ओली पहिलो पटक प्रधानमन्त्री हुँदा परराष्ट्रमन्त्री बनेका थापाले भारतीय नाकाबन्दीको समयमा डटेर साथ दिएका थिए । अन्तर्राष्ट्रिय मञ्चमा पनि ओलीको बलियो समर्थकका रूपमा थापा उभिएका थिए । यसै कारण पनि उनलाई टिकट ल्याउन सहज भएको एमाले मकवानपुरका नेताहरूको अनुमान छ । आफ्नै पार्टीको चुनाव चिन्ह ‘तीर’ बाट चुनाव लड्दा हार्ने डर भएपछि थापाले ‘सूर्य’ ब्राण्ड रोजेको एमालेका नेताहरू बताउँछन् ।

उनी आफैले पनि एमाले मकवानपुरले आयोजना गरेको एक कार्यक्रममा सम्बोधन गर्दै भनेका छन् ‘एमालेको चुनाव चिन्ह ब्राण्ड भइसकेको छ । तपाईंका कार्यकर्ताहरू एकजुट हुनुहुन्छ । चुनावको अनुभव मसँग पनि छ तपाईसँग पनि छ । मसँग हारेको अनुभव छ तपाईहरुसँग जितेको । त्यसैले अहिले देशलाई एकताको आवश्यकता छ । हामी एकै स्थानमा छौँ । तपाईहरु विभाजित अवस्थामा हुनुहुन्छ । उता ५ दलीय गठबन्धन तपाईंहरुलाई पराजित गर्न, राष्ट्रवादी शक्तिलाई समाप्त पार्न एकजुट भएका छन् । तपाईंहरुको ब्राण्ड र साथले हामी उनीहरुलाई रोक्न सक्छौँ । त्यसैले हामी एक जुट हुन जरुरी भएकाले म तपाईहरु सामु आएको हुँ ।’

थापालाई कति सहज ?

‘तीर’ छोडेर एमालेबाट चुनाव लड्न लागेका थापालाई यसपटक पनि संकट भने टरेको छैन । एमालेको साथ पाएको भए पनि मकवानपुरमा थापाले सोचे जस्तो अवस्थामा एमाले अहिले छैन । एमाले यतिबेला विभाजित भने एमालेको आन्तरिक विवाद उनका लागि थप चुनौती बन्न सक्छ छ । टिकट वितरणमा जिल्लाका नेताहरू असन्तुष्ट छन् ।

उता थापाले नै पार्टीमा आबद्ध गराएर राजनीतिमा अग्रसार बनेका दीपकबहादुर सिंह पनि सोही क्षेत्रमा चुनावी प्रतिस्पर्धामा रहेका छन् । कुनै समयका थापाका सहयात्री रहेका सिंह राप्रपाबाट सोही क्षेत्रमा प्रतिनिधिसभातर्फ नै निर्वाचन लड्दै छन् । यसअघि २०७९ को स्थानीय तहको निर्वाचनमा उपमहानगरपालिकाको मेयर पदमा उनले सत्ता गठबन्धन र एमालेविरुद्ध एक्लै प्रतिसपर्धा गरेर २० हजार बन्दा बढी मत ल्याएका थिए । सो निर्वाचनमा सत्ता गठबन्धनबाट उम्मेदवार बनेकी एकीकृत समाजवादीकी मीनाकुमारी लामाल करिव २४ हजार मत ल्याएर चुनाव जितेकी थिइन् ।

राप्रपा महाधिवेशनमा अध्यक्ष पदमा राजेन्द्र लिङ्देनसँग पराजित भएपछि थापाले पार्टी परित्याग गर्दै राप्रपा नेपाल गठन गरेका हुन् । जिल्लामा हाल राप्रपा पनि विभाजित छ । राजतन्त्र र हिन्दु राज्यको मुद्दा बोक्दै आएका थापाले अहिले राजतन्त्रको मुद्दा पनि त्यागेका छन् । अहिले थापाको एक मात्र एजेण्डा हिन्दु राष्ट्र रहेको छ । 

राजतन्त्रको एजेन्डा त्यागेका थापालाई लामो समय आफूसँगै राजनीतिक गरेका सहकर्मीहरुले पनि साथ छाडेका छन् । बहुमत सदस्य राप्रपा नेपालमा रहेको दाबी थापाले गर्दै आएको भए पनि स्थानीय तहको परिणामले राप्रपाको मत अझै सिंहतिर नै रहेको देखिन्छ । थापा उम्मेदवार रहेको क्षेत्रबाट कांग्रेस सहमहामन्त्री महालक्ष्मी उपाध्याय डिना प्रतिस्पर्धामा छिन् ।

गत वैशाख ३० मा सम्पन्न स्थानीय तहको निर्वाचनको परिणामका आधारमा हेर्ने हो भने पनि थापाले चुनाव जित्न निकै मिहिनेत गर्नुपर्ने देखिन्छ । उनी माथि गत स्थानीय तहको निर्वाचनमा एमालेलाई धोका दिएको आरोप पनि छ । थापाले सो निर्वाचनमा जिल्लाभर राप्रपा नेपालको एउटा पनि उम्मेदवार नउठाएर एमालेलाई सहयोग गर्न विज्ञप्ति नै जारी गरे पनि मत भने सिंहलाई मत हाल्न लगाएको एमाले स्थानीय नेताको आरोप छ । मकवानपुरका १० स्थानीय तहमध्ये गत स्थानीय तहको निर्वाचनमा ८ वटा पालिकाको नेतृत्व सत्ता गठबन्धनले लिएको छ भने एमालेले २ वटा मात्र पालिका जितेको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

गणेश दुलाल
गणेश दुलाल
लेखकबाट थप