शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

माओवादीका आधा पदाधिकारी पनि चुनावमा उम्मेदवार भएनन्

शनिबार, २९ असोज २०७९, १४ : ३१
शनिबार, २९ असोज २०७९

नेकपा माओवादी केन्द्रका कुल २१ पदाधिकारीमध्ये आधा पदाधिकारी पनि चुनावमा उम्मेदवार भएका छैनन् । पार्टीका २१ पदाधिकारीमध्ये १० जना मात्रै उम्मेदवार भएका छन् भने ११ जना प्रदेश र प्रतिनिधि दुवै सभाका उम्मेदवार छैनन् ।

माओवादीले गत वर्षको पुस ११ गते महाधिवेशन गरेकोमा गत भदौ ४ गते अर्थात् आठ महिनामा पदाधिकारी चयन गरेको थियो । आठ महिनापछि पदाधिकारी चयन गरेको माओवादीले पदाधिकारीबाट अध्यक्षसहित जम्मा १० जनालाई मात्रै प्रतिनिधि सभा उम्मेदवार बनाएको छ । अरू ११ जना पदाधिकारी प्रत्यक्ष नसमेटिए पनि हितराज पाण्डे एक जना समानुपातिक सूचीमा समेटिएका छन् ।

पार्टी वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ गोरखा–२ बाट चुनाव लड्ने योजना बनाएका थिए । राष्ट्रिय सभा सदस्यबाट राजीनामा दिएर प्रत्यक्ष चुनाव लड्ने उनको योजना थियो ।  तर अन्तिममा अध्यक्ष प्रचण्ड आफै चितवन–३ छोडेर गोरखा–२ बाट चुनाव लड्न गएपछि श्रेष्ठ ब्याक भएका हुन् । यस्तै उपाध्यक्ष कृष्णबहादुर महरालाई दाङ–२ बाट चुनाव लड्न पार्टीले आग्रह गरेको थियो । महरा आफै प्रत्यक्ष चुनाव नलड्ने भन्दै समानुपातिकमा बसेका थिए । उनी समानुपातिकमा बसेको भन्दै पार्टीभित्र र बाहिर आलोचना भएपछि समानुपातिक सूचीबाट समेत आफ्नो नाम हटाउन लगाएका थिए ।

पार्टीका ७ जना उपमहासचिवमध्ये हरिबोल गजुरेलले मात्रै टिकट पाएनन् । सिन्धुली–२ बाट माओवादीकै राजन दाहाल उम्मेदवार भएकाले उनी उम्मेदवार हुन पाएनन् । आफूलाई टिकट नदिइ राजन दाहाललाई दिएको भन्दै गजुरेल प्रचण्डसँग असन्तुष्ट छन् । यद्यपि उनले आफ्नो असन्तुष्टि पार्टी बाहिर पोखेका छैनन् । 

नौ जना सचिवबाट २ जना मात्रै उम्मेदवार 

यस्तै माओवादीका नौ जना सचिवमध्येबाट २ जनाले मात्रै टिकट पाएका छन् । जसमा देवेन्द्र पौडेलले बागलुङ–२ बाट र चक्रपाणि खनालले कपिलवस्तु–१ बाट मात्रै टिकट पाएका हुन् । सचिवबाट टिकट नपाउनेको सङ्ख्या धेरै छ । जसमा दीनानाथ शर्मा, लीलामणि पोखरेल, गणेश शाह, हितमान शाक्य, हितराज पाण्डे, डिलाराम आचार्य र राम कार्की छन् ।

बागलुङको एक क्षेत्रमा जनमोर्चा र अर्को क्षेत्रमा देवेन्द्र पौडेल उठ्ने भएपछि शर्माले मौका पाएनन् । शर्मा आफैँले पनि प्रत्यक्षमा चुनाव लड्ने उति सारो जोडबल समेत नगरेको नेताहरू बताउँछन् । यस्तै गणेश शाह र हितमान शाक्य चुनावमा उठाउन खोजे पनि नउठेका नेता हुन् । शाक्यलाई काठमाडौँको कुनै एक क्षेत्रबाट चुनाव लड्न आग्रह गरिएको थियो भने भने शाहलाई इच्छा भए चुनाव लड्न भनिएको थियो । अन्तिममा उनीहरूले उम्मेदवार बन्न नमानेपछि नउठेको एक नेताले बताए । ‘मलाई चुनाव सुनाव उठ्ने इच्छा थिएन त्यसैले उठिनँ । अब उमेर पनि धेरै भयो नयाँलाई मौका दिनुपर्छ भनेर छोडिदिए,’ शाहले भने । 

यस्तै सचिव लीलामणि पोखरेलले प्युठान र काठमाडौँ २ मध्ये एक क्षेत्रबाट चुनाव लड्न खोजेका थिए । अन्तिममा प्युठान जनमोर्चा काठमाडौँ–२ ओन्सरी घर्ती चुनाव  लड्ने भएपछि पोखरेल पछि हटेका हुन् । हितराज पाण्डे गोरखाबाट प्रत्यक्ष चुनाव उठ्न खोजेका थिए । गोरखा–२ बाट प्रचण्ड उठ्ने भएपछि उनलाई समानुपातिक राखिएको छ । डिलाराम आचार्यले अर्घाखाँची र राम कार्कीले झापा–१ बाट प्रत्यक्ष उठ्न खोजेका थिए । ती दुवै क्षेत्र कांग्रेसको भागमा परेपछि चुनावमा उम्मेदवार हुनबाट रोकिएका हुन् । यसअघि निर्वाचित क्षेत्र कांग्रेसको भागमा परेपछि आचार्यलाई रुपन्देही र कार्कीलाई झापाबाहेक अन्य जिल्लाबाट  लड्न आग्रह गरिएको थियो । अन्तिममा आचार्य र कार्की दुवै आ–आफ्नो जिल्ला छोड्न नमानेपछि चुनाव लडेनन् । 

यस्तै पार्टी कोषाध्यक्ष श्रीराम ढकाल समेत यो चुनावमा उम्मेदवार भएनन् । पार्टी कार्यालयको जिम्मेवारीमा रहेका ढकाल तनहुँबाट टिकट पाएमा चुनाव लड्ने सोचेका थिए । ढकालको क्षेत्रबाट कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेल उठ्ने भएपछि उनी ब्याक भए । 

पार्टी सचिव गणेश शाहले पार्टीका अधिकांश पदाधिकारी चुनाव लड्न क्षेत्रको समस्या भएकाले नलडेको प्रतिक्रिया दिए । अरू  कतिपय नेताहरू आफै पनि चुनाव नलड्ने इच्छा व्यक्त गरेकाले कम पदाधिकारीले प्रतिस्पर्धा गर्ने अवस्था आएको जिकिर गरे । ‘अहिले गठबन्धन भएकाले अधिकांश पदाधिकारी चुनाव लड्ने तयारी गर्नुभएको थियो । धेरैको चुनावी क्षेत्र नमिल्दा उठ्नु भएन । कतिपय आफैले चुनाव लड्दिन भन्ने भएपछि कम पदाधिकारी चुनाव लड्ने अवस्था आयो’ शाहले भने, ‘चुनाव लडेर नेता बन्ने सबैलाई इच्छा हुन्छ । इच्छा हुँदाहुँदै पनि प्राविधिक हिसाबले सबैले चुनाव लड्न पाउनु भएन ।’ अर्को पदाधिकारीमा भएका अधिकांश धेरै पटक चुनावमा लडिसकेकाले युवा मौका दिन कम चुनावमा भाग लिएको शाहले बताए । 

 पदाधिकारीबाट को कहाँबाट उम्मेदवार भए 

अध्यक्ष प्रचण्ड गोरखा–२ बाट प्रतिनिधि सभा उम्मेदवार भएका छन् । पहिलो संविधान सभा चुनावमा रोल्पा र काठमाडौँबाट उम्मेदवार भई निर्वाचित भएका थिए । दोस्रो संविधान सभा चुनावमा काठमाडौँ र सिराहाबाट उम्मेदवार भएका प्रचण्ड सिराहाबाट मात्रै निर्वाचित भएका थिए । २०७४ सालको प्रतिनिधि सभा चुनावमा चितवन– ३ बाट निर्वाचित भएका थिए । यस्तै महासचिव देवप्रसाद गुरुङ लमजुङबाट उम्मेदवार भएका छन् । उपमहासचिव  वर्षमान पुन, रोल्पाबाट जनार्दन शर्मा पश्चिम रुकुमबाट , शक्तिबहादुर बस्नेत जाजरकोटबाट , मातृका यादव धनुषा–१ बाट, गिरिराजमणि पोखरेल महोत्तरी–१ बाट र पम्फा भुसाल ललितपुर–३ बाट उम्मेदवार भएका छन् । यस्तै सचिव देवेन्द्र पौडेल बागलुङ–२ बाट चक्रपाणि खनाल कपिलवस्तु–१ बाट उम्मेदवार भएका छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

वीरेन्द्र ओली
वीरेन्द्र ओली
लेखकबाट थप