बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

देउवालाई रोक्ने मल्लको सपनामा धक्का !

शनिबार, २९ असोज २०७९, १४ : १८
शनिबार, २९ असोज २०७९

प्रधानमन्त्री तथा नेपाली कांग्रेस सभापति शेरबहादुर देउवा सातौँ पटक चुनावी मैदानमा उत्रिएका छन् । सातौँपटक यस क्षेत्रबाट उम्मेदवार बनेका देउवाले चुनावमा सात प्रतिस्पर्धीको सामना गर्नुपर्ने भएको हो । 

नेकपा एमालेले नेपाली कांग्रेस (वीपी) का उम्मेदवारलाई सघाउने गरी तालमेल गरे पनि शुक्रबार मात्र तालमेल भङ्ग गरेको छ । देउवाको प्रतिस्पर्धीका रूपमा कांग्रेस (वीपी) बाट कर्णबहादुर मल्ल उम्मेदवार छन् । यहाँ जसपा नेपालबाट श्याम सिनाल, राप्रपाबाट गोविन्द खडायत उम्मेदवार छन् । डडेलधुरामा स्वतन्त्र उम्मेदवारीका रूपमा एमालेका विक्रमबहादुर शाही, गुल्मीका युवा सागर ढकाल, ८४ वर्षीय वृद्ध कर्णसिंह रावल र लालबहादुर कठायत छन् । 

तर २०४८ यता भएका सबै संसदीय निर्वाचनमा डडेलधुराबाट निर्वाचित देउवा गणितीय रूपमा बलियो अवस्थामा छन् । यसपटक डडेलधुराको दोस्रो ठुलो पार्टी माओवादी पनि देउवाको साथमा छ । ०६४ यता डडेलधुरामा देउवाका मुख्य प्रतिस्पर्धी माओवादी केन्द्रका सुदूरपश्चिम प्रदेश इन्चार्ज खगराज अधिकारी नै अहिले मुख्य सारथि बनेको अवस्था छ ।

अधिकारी सत्ता गठबन्धनबाट प्रदेशसभा–१ मा र कांग्रेस नेता गोविन्द बोहरा प्रदेशसभा–२ मा उम्मेदवार छन् । तर कांग्रेस डडेलधुराको करिब १ दशक नेतृत्व गरेका मल्ल देउवाको मुख्य प्रतिस्पर्धीका रूपमा अगाडि आएका छन् । मल्लको साथमा एकीकृत समाजवादी डडेलधुराका प्रभावशाली नेता डा. तारा जोशीको समूह उभिएको छ । 

लामो समय देउवाको स्वकीय सचिवको जिम्मेवारी समेत सम्हालेका मल्ल गत स्थानीय निर्वाचनबाट औपचारिक रूपमा कांग्रेसविरुद्ध डडेलधुरामा डटेर लागेको अवस्था छ । गत मङ्सिरमा सम्पन्न कांग्रेसको १४ औँ महाधिवेशन प्रक्रिया बहिस्कार गरेका मल्ल गते ३० वैशाखको स्थानीय निर्वाचनअघि पार्टीबाट निष्कासित भएका थिए ।

कांग्रेसबाट अनिश्चितकालका लागि निष्कासित भएपछि मल्ल कांग्रेस बिपीमा प्रवेश गरेर एमाले डडेलधुरासँग सहकार्य गरेका थिए । स्थानीय निर्वाचनमा एमाले र कांग्रेस बिपीको तालमेलले परिणाम प्राप्त भएको थिएन र अहिले पनि सहकार्य बीचैमा तुहिएको छ ।

​यसमा सत्ता गठबन्धनमा सिट बाँडफाँटमा असन्तुष्ट एकीकृत समाजवादीका नेता जोशीको समूह भने अहिले थपिएको छ । यद्यपि एमाले नेता विक्रमबहादुर शाहीले स्वतन्त्र उम्मेदवारी दिएका छन् ।

एमालेबाट प्रदेशसभा (क) मा पठानसिंह बोहरा र प्रदेशसभा (ख) मा गजेन्द्र शाही उम्मेदवार छन् । 

जोशीको समूहको समर्थनले जीतको नजिक पुर्‍याउन आफूलाई ठुलो हौसला र उत्साह मिलेको मल्लले बताए ।  उनी भन्छन् ‘स्थानीय निर्वाचनको भन्दा भिन्न ढङ्गले मत परिणाम आउँछ । कांग्रेसका मतदाताले यो निर्वाचनको गर्भबाट कर्णबहादुर मल्ललाई उत्पादन गर्नुपर्दैछ भन्ने सोचेर मतदान गर्ने अवस्था बनेको छ ।’

प्रधानमन्त्री देउवाले चुनाव जितेर फेरि प्रधानमन्त्री बने पनि डडेलधुरामा केही फरक नहुने बुझेर मतदाताले आफूलाई मतदान गर्ने उनको दाबी छ । ‘३१ वर्षसम्म नभएका अधुरा काम छन् । पाँच वर्षमा पुरा गरेर नयाँ पूर्वाधारका सुरु गर्ने सङ्कल्पका साथ जनताका बीचमा उभिएको छु । मैले चुनाव जित्नेमा विश्वस्त छु,’ देउवाबाट नयाँ कुराको अपेक्षा राख्नु व्यर्थ हुने भन्दै आफू निर्वाचित भएर उदाहरणीय बन्ने बताए । दुर्व्यसन मुक्त समाज, धार्मिक पर्यटनको विकास र डडेल्धुरा–तराई द्रुतमार्ग निर्माण लगायतका एजेण्डा लिएर पाँच वर्षका लागि जनताको बीचमा गएको मल्लले सुनाए । 

जिल्ला सभापति भीमबहादुर साउदका अनुसार यसअघि प्रतिकूल परिस्थितिका बीच पनि डडेलधुरामा देउवाको पक्षमा परिणाम आउने गरेको छ । उनले भने, ‘कांग्रेस ०५१ को कांग्रेसभित्रको अन्तरकलह, ०६४ को माओवादीको प्रभाव र ०७४ को वाम लहरले समेत देउवाको जित रोक्न सकेको थिएन । स्थानीय चुनावको परिणामले देउवालाई सहज देखिन्छ ।’ 

२०७४ मा कांग्रेसले सातमध्ये चार पालिका र १७ वडामा मात्र जितेको थियो । सदरमुकाम रहेको अमरगढी नगरपालिका एमालेले जितेको थियो । यसपटक एमालेले डडेलधुराका कुनै पनि स्थानीय तहको प्रमुख पद जित्न सकेन । कांग्रेसले अमरगढीसहित पाँच पालिका र २९ वडा अध्यक्ष जितेको छ । बाँकी दुई पालिका र १३ वडा अध्यक्ष नेकपा माओवादी केन्द्रले जितेको छ । एमाले ५२ मध्ये ४ वडा अध्यक्षमा सीमित भएको छ । त्यस्तै, नेकपा एकीकृत समाजवादीका २, कांग्रेस (बीपी) का २ र स्वतन्त्र २ वडाअध्यक्ष छन् । 

स्थानीय चुनावमा डडेलधुरामा कांग्रेस २१,७३५, माओवादी १२,८७८, एमाले १०,४४९, नेकपा एस ५,०४१, राप्रपा ७१४, जसपा १५६ मत रहेको छ । डडेलधुरामा सत्ता गठबन्धनसँग ३९ हजार ६ सय ५४ मत छ । बीपी कांग्रेसबाट उम्मेदवार बनेका वडा अध्यक्षका उम्मेदवारले करुवा चुनाव चिह्नमा ३ हजार ५४२ मत पाएका छन् ।

एकीकृत समाजवादीका नेता तारा जोशीले मल्ललाई समर्थन गरेपछि उक्त पार्टीको पाँच हजार मध्ये केही मत घट्न सक्छ । स्थानीय निर्वाचनको मत अनुसार सत्ता गठबन्धनका साझा उम्मेदवार देउवा २५ हजार मतान्तरले मल्लअघि छन् ।

०७४ मा सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा देउवा ६ हजार ९२९ मतान्तरले विजयी भएका थिए । देउवाले २८ हजार ४४ मत प्राप्त गर्दा तत्कालीन वाम गठबन्धनबाट माओवादीका खगराज भट्टले २१ हजार ११५ मत पाएका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

लोकेन्द्र भट्ट
लोकेन्द्र भट्ट

भट्ट रातोपाटीका लागि राजनीति तथा समसामयिक विषयमा रिपोर्टिङ गर्छन् । 

लेखकबाट थप