शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

आहा चित्लाङ !

छोट्टियो चित्लाङ जाने बाटो, आन्तरिक पर्यटक बढ्दै
शनिबार, २९ असोज २०७९, १२ : ४५
शनिबार, २९ असोज २०७९

के तपाईं काठमाडौँ उपत्यकाको भीडभाडबाट एक दुई दिनको लागि कतै बाहिर निस्कन चाहनु हुन्छ ? केही चिसो, शान्त र प्राकृतिक सुन्दरताले भरिपूर्ण नजिकको स्थान जान चाहनु हुन्छ ? यदि त्यस्तो मनसुवा बनाउनु भएको छ भने, तपाईंका लागि राम्रो गन्तव्य हुन सक्छ, ‘चित्लाङ’ । 

काठमाडौँको कलङ्कीबाट २० किलोमिटरको दुरीमा रहेको चित्लाङ गाउँ यतिबेला धेरै आन्तरिक पर्यटकको गन्तव्य बन्न थालेको छ । 

पहिले काठमाडौँबाट दक्षिणकाली हुँदै करिब ३ घण्टाको यात्रा गरेर पुग्नुपर्ने चित्लाङ अहिले चन्द्रागिरिको मोटरबाटो खुलेपछि एक घण्टामै पुग्न सकिन्छ । छोटो बाटो र नजिकै भएकाले अहिले काठमाडौँ खाल्डोबाट निस्किनेहरूलाई चित्लाङ आन्तरिक पर्यटकको आकर्षक गन्तव्य स्थल बन्न थालेको छ । 

काठमाडौँ खाल्डोबाट बाहिर निस्कने बित्तिकै चन्द्रागिरि डाँडाको ठिक तल रहेको एउटा सानो अनि सुन्दर उपत्यका हो, चित्लाङ । 

काठमाडौँको थानकोट चेकपोष्टबाट चन्द्रागिरि हिल्स जाने बाटो हुँदै चित्लाङ पुग्न सकिन्छ । चेकपोष्टबाट १५ किलोमिटरको कच्ची बाटो पार गरेपछि चित्लाङ पुग्न सकिन्छ । चन्द्रागिरि डाँडा हुँदै चित्लाङ पुग्न चेकपोष्टबाट मात्रै ४५ मिनेटको मोटरसाइकल यात्रामा पुग्न सकिन्छ । 

चित्लाङका पर्यटन व्यवसायी देवेन्द्र नेपाल भन्छन्, ‘काठमाडौँबाट पहिले दक्षिणकाली, फाखेल हुँदै करिब ३ घण्टाको यात्रा पूरा गरेर पुगिन्थ्यो चित्लाङ । अहिले चन्द्रागिरिको बाटो खुलेपछि आन्तरिक पर्यटकको सङ्ख्यामा वृद्धि भएको  छ ।’ नेपालका अनुसार शुक्रबार र शनिवार चित्लाङका होटल र रिसोर्टले पर्यटकलाई कोठा उपलब्ध गराउनै हम्मे हम्मे पर्ने अवस्था छ । 

रमणीय चित्लाङ

प्रकृतिले नै चित्लाङलाई सुन्दरता प्रदान गरेको छ । काठमाडौँ खाल्डोको दक्षिण–पश्चिममा रहेको चित्लाङ एउटा पुरानो र ऐतिहासिक बस्ती हो । काठमाडौँ उपत्यकामा बस्ती नबस्दै चित्लाङमा बस्ती रहेको इतिहास पाइएको चित्लाङका पर्यटन व्यवसायी देवेन्द्र नेपालको भनाई छ । उनका अनुसार काठमाडौँ खाल्डोमा पानी मात्रै हुँदा पनि चित्लाङमा बस्ती थियो भन्ने इतिहास छ । त्यसैले, यो ऐतिहासिक र पुरानो बस्ती पनि हो ।’

चित्लाङको विशेषता भनेको प्राकृतिक सुन्दरता र भौगोलिक विशेषता रहेको पर्यटन व्यवसायी नेपाल बताउँछन् । काठमाडौँबाट बाहिर भएको कारण सफा, काठमाडौँभन्दा केही चिसो र चारैतिर जङ्गल भएको कारण हरियाली पनि छ । चारैतिर जङ्गल रहेको कारण सफा पानीको मुहान र बिहानै घाम झुल्किन्छ । चारैतिर जङ्गल भएको यो सानी भ्याली पनि हो, यहाँको सुन्दरता हरियाली र शान्त वातावरण नै हो । ​

चित्लाङको अर्को विशेषता भनेको जातीय विविधता तर एकीकृत समाज पनि हो । चित्लाङ भ्यालीमा आधा जनसङ्ख्या नेवार समुदायको छ । त्यसपछि तामाङ र बाहुन तथा क्षेत्रीको बाक्लो वासस्थान छ । केही स्थानमा गुरुङ समुदायको पनि वासस्थान छ । 

आकर्षणको केन्द्रः बगैँचा र भेडा फार्म

पर्यटकका लागि आकर्षणको केन्द्र हो, यहाँको नास्पातीको बगैँचा । हाल मदन भण्डारी प्राविधिक विश्वविद्यालय बनाउन लागिएको स्थानमा नास्पातीको रुखै रुख छ, जहाँ वैशाखदेखि कात्तिकसम्म हरियाली देखिन्छ । यही हरियालीमा रमाउन पनि पर्यटकहरू चित्लाङ आइ पुग्छन् । 

बगैंचापछि चित्लाङको आकर्षणको अर्को केन्द्र भेडा फार्म हो । मार्खुनजिकै एउटा ठूलो क्षेत्रफलमा भेडा र बाख्रा चराउने प्रयोजनका लागि सुरक्षित गरिएको भेडा फर्म बसन्त याममा निकै सुन्दर देखिन्छ । 

फिल्म तथा म्युजिक भिडियोको सुटिङ गर्नेदेखि टिकटक बनाउनेसम्म भेडाफर्ममा पुग्ने गरेका छन् । भेडा फार्मको सुन्दरताले यहाँ पुग्ने धेरैलाई लोभ्याउने गरेको छ ।

भेडा फार्म नजिकै रहेको मार्खुमा इन्द्र सरोवर ताल छ । तालमा बोटिङ गर्न जाने पर्यटकको सङ्ख्या पनि उत्तिकै छ । सामान्य डुङ्गा वा मोटरबोटबाट इन्द्र सरोवर तालको रमणीय दृश्य अवलोकन गर्न पनि पर्यटकहरू चित्लाङ पुग्ने गरेका छन् । 

एक रात एक दिनको टुर

चित्लाङ जानका लागि मात्रै एक दिनको समय छुट्याए पुग्छ । काठमाडौँमा कामकाज गर्नेहरूले शुक्रबार वा सार्वजनिक विदाको अघिल्लो साँझ चित्लाङ पुग्न सक्छन् । साँझ ५ बजे काठमाडौँको कलङ्कीबाट मोटरसाइकल वा जिपमा एक घण्टाको यात्रामा चित्लाङ पुग्न सकिन्छ । 

चन्द्रागिरिबाट चित्लाङ जाने बाटो कच्ची भएको कारण चन्द्रागिरिको डाँडासम्म पुग्न केही अप्ठेरो बाटो छ । भिरमा खनेर बाटो बनाएको कारण डाँडासम्म पुग्ने बाटो उभरखाभर ग्रेभलिङले केही कठिन छ । चन्द्रागिरिबाट ६ किलोमिटर यात्रा गरेपछि डाँडामा पुगेपछि भने बाटो केही राम्रो छ । 

अहिले चित्लाङमा ५ वटा होटल तथा रिसोर्ट सञ्चालनमा छन् । पहिल्यै बुकिङ गरेर आफ्नो आर्थिक हैसियत अनुसारका रिसोर्टमा बस्न सकिन्छ । चित्लाङका रिसोर्टले आफै पुग्ने पर्यटकसँग १५ सयदेखि २५ सय रुपैयाँसम्म प्रतिव्यक्ति लिई कोठा, खाना र भोलिपल्टको ब्रेक फास्ट दिने गरेका छन् । 

आफ्नै सवारीसाधन नहुने वा आफ्नो सवारीसाधन नलैजाने पर्यटकका लागि चित्लाङका रिसोर्टले यातायात र मार्खुमा डुङ्गा सयर तथा बिहानको खानासमेतको व्यवस्था गरी प्याकेज पनि सञ्चालनमा ल्याएका छन् । त्यसका लागि ३ हजारदेखि ४ हजार रुपैयाँसम्मको प्याकेज रहेको चित्लाङ पर्यटनका पिता समेत भनेर चिनिने चित्लाङ रिसोर्टका सञ्चालक देवेन्द्र नेपालले बताए । उनी भन्छन्, दिनभर रमणीय स्थलको भ्रमण गरी साँझ क्याम्प फायर गर्दै चिसो मौसममा रमाइलो गर्नुको बेग्लै आनन्द छ । 

चित्लाङमा पर्यटन बिस्तारको कथा

चित्लाङमा पर्यटन बिस्तारको सुरुवाती कथा भने सन् २००३ बाट सुरु भएको हो । स्थानीय युवा देवेन्द्र नेपाल काठमाडौँमा पर्यटनसम्बन्धी विषयमा स्नातक तह अध्ययन गर्दै थिए । त्यही समयमा उनले रमणीय र शान्त स्थल चित्लाङलाई पर्यटकीय स्थल बनाउन सकिन्छ भनेर सुरुमा हाइकिङबाट पर्यटक लैजाने सुरुवात गरे । 

आफ्नै सहकर्मीहरूलाई उनी थानकोटबाट हाइकिङ गराएर चित्लाङ लैजान्थे, त्यहाँ खाना खुवाउँथे र त्यहाँको रमणीय स्थल घुमाउँथे । अनि साँझ जिपबाट पुनः काठमाडौँ ल्याउँथे । पछि उनी आफैले कलेजमा पढाउन थाले र कलेजका विद्यार्थीहरूलाई डे पिकनिकसहित हाइकिङ गराएर चित्लाङ लैजान थाले । सुरुमा त्यहाँको सुन्दरता भनेको नास्पातीको बगैँचा मात्रै थियो ।

यो क्रम सन् २००९ सम्म चल्यो । त्यहाँ पुग्ने कतिपयले रात बस्ने योजना पनि बनाउन थाले । तर त्यहाँ रात बस्नका न होटलको व्यवस्था थियो, न त कुनै कोठा नै । 

बस्न चाहने साथीहरुलाई सुरुमा देवेन्द्रले आफ्नै घरमा पनि राख्न थाले । तर सधैँ त्यसरी सम्भव नहुने भन्दै उनले सन् २००९ मा चित्लाङ अर्ग्यानिक भिलेज रिसोर्ट दर्ता गरे । उनका दाजु पोखरामा पर्यटन व्यवसायमै संलग्न रहेको कारण दाइले विद्यालयको स्वामित्वमा रहेको बगैँचा भाडामा लिएर रिसोर्ट चलाउन सुझाए । र, दुइटा कटेजसहित डाइनिङ हल र किचेन बनाइदिए । 

कटेज र डाइनिङ बन्नुभन्दा अगाडि उनले काठमाडौँबाट टेन्ट भाडामा लगेर बगैँचामै टेन्ट गाडेर टुरमा जानेलाई सुताउने गरेका थिए । त्यस्तै, गाउँबाट खाना तयार पारी डोकोमा बोकेर बगैँचामा लगेर खुवाउने गरेका थिए । 

तर आफ्नै डाइनिङ हल र किचेनसहित दुईवटा कटेज बनेपछि उनलाई त्यहाँ रात बस्ने गरी जाने पर्यटकलाई सेवा दिन सजिलो भयो । त्यसभन्दा अगाडि रात बस्ने पर्यटकलाई बगैँचा नजिकैका व्यक्तिको घरमा सुताउनुपर्ने बाध्यता थियो, त्यो बाध्यता पनि हट्यो । 

शान्त स्थान र चिसो अनि प्राकृतिक रुपले रमणीय रहेको चित्लाङमा त्यसपछि पर्यटकको सङ्ख्या बढ्न थाल्यो । डे टुर र पिकनिक स्थलको रूपमा रहेको बगैँचा र चित्लाङ अब नाइट स्टेका लागि पनि आकर्षक स्थान बन्न थाल्यो । 

बगैँचामा रहेको रिसोर्ट सामान्य र सस्तो रिसोर्ट थियो । पर्यटकले अझै राम्रो रिसोर्ट र कोठा खोज्न थालेपछि देवेन्द्रले आफ्नै जमिनमा रिसोर्ट बनाउन थाले । पर्यटकको सङ्ख्या बढ्न थालेपछि स्थानीय व्यक्तिहरूले पनि रिसोर्ट बनाउन थाले । 

यतिबेला देवेन्द्रले २६ वटा कोठा भएको नयाँ रिसोर्ट खोलेका छन् भने अन्य पर्यटन व्यवसायीले पनि खोलेका छन् । हाल चित्लाङमा ५ वटा रिसोर्ट छन् भने सातामा करिब १ हजार पर्यटकले चित्लाङको भ्रमण गर्ने गरेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

मदन ढुङ्गाना
मदन ढुङ्गाना
लेखकबाट थप