शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय

चितवनमा सत्ता गठबन्धनका नयाँ उम्मेदवार परीक्षणमा, एक्लिए हेभिवेट पाण्डे

चितवनको ३ मध्ये २ मा मात्र एमालेको उम्मेदवारी, चितवन–३ मा बागीलाई समर्थन
शनिबार, २९ असोज २०७९, १२ : २१
शनिबार, २९ असोज २०७९

आगामी मङ्सिर ४ गते हुने निर्वाचनमा चितवनको ३ मध्ये २ वटा क्षेत्रमा मात्र नेकपा एमालेले उम्मेदवारी दिएको छ । एमालेले चितवनको क्षेत्र नम्बर–१ र २ मा उम्मेदवारी दिएको छ भने क्षेत्र नम्बर–३ मा दिएको छैन । 

चितवनको क्षेत्र नम्बर–३ मा कांग्रेसका बागी उम्मेदवारलाई समर्थन गर्दै एमालेले आफ्नो उम्मेदवारलाई उम्मेदवारी फिर्ता गराएको छ । एमालेबाट चितवन–३ मा चुनाव लड्न उम्मेदवारी दिएका राम न्यौपानेले बिहीबार उम्मेदवारी फिर्ता लिएका हुन् । उनले कांग्रेसका बागी उम्मेदवार दिनेश कोइरालालाई समर्थन गर्दै उम्मेदवारी फिर्ता लिएका हुन् । कोइराला केन्द्रीय सदस्यसमेत रहेका थिए । बागी उम्मेदवारी दिएका उनलाई कांग्रेसले पार्टीबाट निष्कासन समेत गरिसकेको छ । 

सो क्षेत्रमा सत्ता गठबन्धनका तर्फबाट माओवादी केन्द्रका डा. भोजराज अधिकारी उम्मेदवार रहेका छन् । डा. अधिकारी पहिलो पटक चुनाव लड्दै छन् । उनी यस अघि चितवनको भरतपुर अस्पतालको अध्यक्ष भएर काम गरिरहेका थिए । पार्टीले उम्मेदवार बनाउने भएपछि उनले अस्पताल अध्यक्षबाट राजीनामा गरेर चुनावमा होमिएका छन् । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ चुनाव लड्दै आएको सो क्षेत्रमा डा. अधिकारीलाई उम्मेदवार बनाइएको हो ।

त्यस्तै सो क्षेत्रमा चुनाव लड्न राप्रपाका विक्रम पाण्डेले पनि उम्मेदवारी दिएका छन् । चितवन पाण्डेको गृह जिल्ला समेत हो भने उनी चितवन–३ मा विगतदेखि नै चुनाव लड्दै आएका छन् । उनी गत २०७४ को निर्वाचनमा पनि सोही क्षेत्रबाट माओवादी केन्द्रका ‘प्रचण्ड’ सँग पराजित भएका थिए । सो निर्वाचनमा माओवादी केन्द्र र एमाले एकजुट भएर चुनाव लडेका थिए भने राप्रपाका पाण्डेलाई कांग्रेसको समर्थन रहेको थियो । गत निर्वाचनमा कांग्रेसको साथ पाएका पाण्डे यस पटक भने एक्लिएका छन् ।

सो क्षेत्रमा चुनाव लड्न जनता समाजवादी पाटीका काशीम मिया, नेपाल मजदुर किसान पार्टी पदम थापा मगर, राष्ट्रिय नागरिक पार्टी नवराज घले, मंगोल नेशनल अर्गनाइजेसन  फैन्द्र जंङ गुरुङ, राष्ट्रिय जनमुक्ति पार्टी जग बहादुर पुन मगर, राष्ट्रिय स्वतन्त्र पार्टी जीता बराल र स्वतन्त्रबाट १२ जनाको उम्मेदवारी परेको छ ।

सो क्षेत्रमा चुनाव लड्न स्वतन्त्रबाट कांग्रेसका बागी उम्मेदवार कोइराला सहित विद्रोही कांग्रेसका जगन्नाथ पौडेल, राजन सापकोटा, तारानाथ पौडेल, सुमित्रा राई गिरी, भीमसेन बस्नेत, नन्दराज उपाध्याय, वासुदेव सापकोटा, बद्री सिलवाल, हरि तामाङ, तारा प्रसाद पौडेल र चन्द्र विलास अधिकारीको उम्मेदवारी रहेको छ ।

त्यस्तै चितवन–१ मा एमाले सुरेन्द्र प्रसाद पाण्डे विरुद्ध सत्ता गठबन्धनको तर्फबाट कांग्रेस विश्वनाथ पौडेल उम्मेदवार बनेका छन् । सो क्षेत्रमा पनि कांग्रेसले नयाँ उम्मेदवारलाई अघि सारेको छ । लगातार २ वटा चुनाव जितेका पाण्डे विरुद्ध कांग्रेसले नयाँ उम्मेदवारलाई पौडेललाई टिकट दिएको हो । ह्याट्रिक पुरा गर्ने दाउमा रहेका एमालेका पाण्डे विरुद्ध कांग्रेसले राष्ट्रिय योजना आयोगका उपाध्यक्ष रहेका पौडेललाई राजीनामा गराएर चुनावमा उम्मेदवार बनाएको हो ।

सो क्षेत्रमा पनि कांग्रेसबाट बागी उम्मेदवारी परेको छ । सो क्षेत्रमा गत निर्वाचनमा कांग्रेसबाट चुनाव लड्दै आएका राजेन्द्र प्रसाद बुर्लाकोटीले बागी उम्मेदवारी दिएका छन् ।

सो क्षेत्रमा चुनाव लड्न जनता समाजवादी पार्टीका अजय ठाकुर हजाम, राप्रपाका मधुप कुमार भट्टराई, नेपाल मजदुर किसान पार्टी अर्जुन प्रजा, मंगोल नेशनल अर्गनाइजेसनकी कुमारी थिङ, एकीकृत शक्ति नेपालका नवीन खड्का, नेपाल सुशासन पार्टीका गोविन्द प्रसाद रिजाल, राष्ट्रिय स्वतन्त्र पार्टीका हरि ढकालसहित स्वतन्त्रबाट १० जनाको उम्मेदवारी परेको छ ।

सो क्षेत्रमा चुनाव लड्न कांग्रेसका बागी बुर्लाकोटीसहित जीवन तामाङ, विष्णु लामा, दीपक पाठक, अरुण कुमार उप्रेती, ओमकृष्ण थपलिया, तिलक मणि पाठक, उत्सव धमला, कुमार आचार्य र राजन न्यौपानेको उम्मेदवारी परेको छ ।

त्यसै गरी चितवन–२ मा एमालेका कृष्णभक्त पोखरेल विरुद्ध कांग्रेसले सत्ता गठबन्धनको तर्फबाट संघीय सरकारका बहालवाला मन्त्री उमेश श्रेष्ठलाई उम्मेदवार बनाएको छ । चितवन–२ मा जितको ह्याट्रिक खोजिरहेका  एमालेका पोखरेल विरुद्ध कांग्रेसले मन्त्री श्रेष्ठलाई चुनाव लडाउने भएको हो ।

मन्त्री श्रेष्ठ समानुपातिकबाट २ पटक संघीय सांसद भइसकेका छन् तर, प्रत्यक्ष तर्फ भने यो पहिलो चुनावी प्रतिस्पर्धा हो । उनी २०७० को दोस्रो संविधानसभा र २०७४ को निर्वाचनमा गरी २ पटक प्रतिनिधिसभा सांसद बनिसकेका छन् । २०७४ मा पनि कांग्रेसको समानुपातिक सूचिबाटबाट नै सांसद बनेको उनी सोही कार्यकालमा कांग्रेस सभापति शेरबहादुर देउवा नेतृत्वको सरकारमा स्वास्थ्य तथा जनसङ्ख्या राज्यमन्त्री र पछि उक्त जिम्मेवारीबाट हटाएर प्रधानमन्त्री तथा मन्त्री परिषद्मा मन्त्रीको जिम्मेवारी रहेका छन् ।

सोही क्षेत्रमा चुनाव लड्न राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले पनि उम्मेदवारी दर्ता गराएका छन् । त्यसै गरी चुनाव लड्न जनता समाजवादी पार्टीका मुस्तफा अली, राप्रपाका रविन अधिकारी, नेपाल मजदुर किसान पार्टी ज्ञानेन्द्र प्रजा, हाम्रो नेपाली पार्टी अमृत तामाङ, राप्रपा नेपालका सुनिल कुमार क्षेत्री, मंगोल नेशनल अर्गनाइजेसनका टेक बहादुर तामाङ, जन समाजवादी पार्टी नेपालकी प्रभा त्रिपाठी र स्वतन्त्रबाट ७ जनाको उम्मेदवारी परेको छ ।

स्वतन्त्रबाट देविका कुवर, भास्कर चन्द्र न्यौपाने, खेमराज भट्टराई, अङ्गुर पन्त, सुदर्शन प्रधान र सुन्दर डल्लाकोटीले उम्मेदवारी दिएका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

गणेश दुलाल
गणेश दुलाल
लेखकबाट थप