शुक्रबार, ०७ मङ्सिर २०८१
ताजा लोकप्रिय

कर्णाली प्रदेशसभाका लागि कांग्रेसका १२ उम्मेदवार, संस्थापन पक्षको वर्चश्व !

तीन जना मुख्यमन्त्रीका दाबेदार
शनिबार, २९ असोज २०७९, ०६ : ५८
शनिबार, २९ असोज २०७९

सुर्खेत । ०७४ मा कर्णाली प्रदेशसभा सदस्यमा प्रत्यक्षतर्फ २४ मध्ये जम्मा १ सिट जितेको नेपाली कांग्रेसले आसन्न निर्वाचनमा गठबन्धन दलहरुसँगको सहयोगमा १२ सिटमा उम्मेदवारी दिएको छ । कर्णाली प्रदेशसभामा कांग्रेसले गठबनधनका अन्य दलको तुलनामा बढी सिटमा उम्मेदवारी दिएको हो ।

माओवादीले कर्णाली प्रदेशसभामा १० सिटमा उम्मेदवारी दिएको छ । माओवादीले ०७४ मा कर्णाली प्रदेशसभाको प्रत्यक्षतर्फ ९ सिट जितेको थियो । सत्तारुढ गठबन्धनभित्र भागबण्डा अनुसार कांग्रेसले दैलेखमा ३, सुर्खेतमा २, सल्यानमा १, हुम्लामा १, कालिकोटमा १, डोल्पामा १, जुम्लामा १ र जाजरकोटमा २ सिट पाएको छ । मुगु र रुकुम पश्चिममा कांग्रेस सिटबिहीन बनेको छ ।

कांग्रेसले आसन्न निर्वाचनमा प्रदेशसभा सदस्य पदका लागि उठाएका अधिकांश नेता यसअघि पनि कुनै न कुनै चुनावमा भाग लिइसकेका छन् । कांग्रेसबाट उम्मेदवार बनेकामा अधिकांश संस्थापन पक्षधर छन् ।

हिमाली जिल्ला डोल्पा (ख) बाट जिल्ला सभापति दीपेन्द्रबहादुर शाही उम्मेदवार बनेका छन् । उनी पहिलो पटक चुनावमा भाग लिँदैछन् । कांग्रेसका प्रदेश सभापति ललितजङ्ग शाही पनि यो पटक चुनावी मैदानमा उत्रिएका छन् । जुम्ला प्रदेश सभा (ख) का लागि उम्मेदवार बनेका उनलाई कर्णालीको भावी मुख्यमन्त्रीको आकांक्षीका रुपमा समेत हेरिएको छ । शाहीको विरुद्धमा कांग्रेसकै इतर पक्षधर नेता देवेन्द्र शाहीले उम्मेदवारी दिएका छन् । गठबन्धनविरुद्ध बागी उम्मेदवारी फिर्ता लिन भनिए पनि उनले फिर्ता लिएनन् । स्वतन्त्र उम्मेदवार शाही ०७४ मा प्रतिनिधिसभा सदस्य निर्वाचनमा पराजित भएका थिए ।

यस्तै कालिकोट प्रदेशसभा (ख) का लागि हिक्मत बहादुर विष्ट कांग्रेसबाट उम्मेदवार छन् । नेमकिपाको राजनीतिबाट आएका विष्ट ०६४ को पहिलो संविधानसभा निर्वाचनमा पनि उम्मेदवार थिए । यद्यपि उनी पराजित भएका थिए ।

विष्टको विरुद्धमा गठबन्धनको साझेदार दल नेकपा एकीकृत समाजवादीका विश्वराज बमले बागी उम्मेदवारी दिएका छन् । समाजवादीका जिल्ला अध्यक्ष बमले पनि उम्मेदवारी फिर्ता लिएनन् ।

जाजरकोटमा प्रतिनिधिसभा सदस्यतर्फ माओवादीले भागबण्डा पाउँदा प्रदेशसभाका दुवै निर्वाचन क्षेत्र कांग्रेसको भागमा परेको थियो । सोही अनुसार (क) बाट कांग्रेसका जिल्ला सभापति वेदराज सिंह उम्मेदवार बनेका छन् भने (ख) मा संविधानसभा सदस्य राजिव विक्रम शाह चुनावी मैदानमा छन् । सभापति सिंह ०७४ मा माओवादीका गणेश प्रसाद सिंहसँग पराजित भएका थिए ।

माओवादी नेता सिंह १६ हजार ९११ मतसहित विजयी हुँदा कांग्रेस नेता सिंह १२ हजार ८७८ मा सीमित बनेका थिए । सिंहविरुद्ध पनि समाजवादीकै नेता कमान खड्काले बागी उम्मेदवारी दिएका छन् ।

यस्तै राजिव विक्रम शाहलाई पनि प्रदेशको मुख्यमन्त्रीको दाबेदारका रुपमा हेरिएको छ । उनी अन्तिम पटक भए पनि प्रतिनिधिसभामा जान चाहेका थिए । तर माओवादी नेता शक्ति बस्नेतलाई ‘स्पेस’ दिनुपर्ने भएपछि उनी प्रदेशसभामा झरेका हुन् ।

०७४ मा दैलेख क्षेत्र नम्बर १ (क) बाट प्रदेशसभा सदस्यमा पराजित कांग्रेसका पूर्व जिल्ला सभापति कृष्ण कुमार विसीले भने यो पटक निर्वाचन क्षेत्र बदलेका छन् । उनी १ (क) बाट प्रदेशसभा सदस्यमा उम्मेदवार छन् । ०७४ मा उनी माओवादीका धर्मराज रेग्मीसँग झण्डै २ हजार मतान्तरले पराजित भएका थिए । यद्यपि अहिले रेग्मी एमालेबाट सोही क्षेत्रमा चुनावी प्रतिस्पर्धामा छन् भने विसीले क्षेत्र बदलेका हुन् । कांग्रेसले १ (क) बाट पुर्णबहादुर खत्रीलाई उम्मेदवार बनाएको छ ।

दैलेख क्षेत्र नम्बर २ (क) बाट युवा नेता घनश्याम भण्डारी उम्मेदवार छन् । दुल्लु नगरपालिकाका पूर्व मेयर उनी यसपटक प्रदेशसभामा उम्मेदवार बनेका छन् । युवामाझ लोकप्रिय भण्डारी कांग्रेसभित्र आशलाग्दा नेताका रुपमा स्थापित छन् । यद्यपि उनले पाँच वर्ष नेतृत्व गरेको दुल्लु नगरपालिकाको विकास र परिवर्तनमा कत्तिको भूमिका निभाउन सके, त्यसको मूल्याङ्कन हुन बाँकी छ ।

यस्तै प्रदेशसभातर्फ चार वटा निर्वाचन क्षेत्र रहेको सुर्खेतमा २ वटामा कांग्रेसले उम्मेदवार उठाएको छ । १ (क) बाट जिल्ला सभापति खड्गबहादुर पोखरेल र २ (क) बाट कालिप्रसाद शाक्य उम्मेदवार छन् । जसमध्ये पोखरेल ०७४ मा सिम्ता गाउँपालिकाको अध्यक्षमा पराजित नेता हुन् भने शाक्य ०४९ सालमा वीरेन्द्रनगर नगरपालिकाको मेयरमा पराजित भएका थिए ।

सल्यान (ख) बाट सुरेश अधिकारी उम्मेदवार बनेका छन् । अधिकारी यसअघि शारदा नगरपालिकाको मेयर थिए । उनी कांग्रेसको प्रदेशसभा (ख) कार्यसमितिको सभापतिसमेत हुन् ।

कर्णाली प्रदेशसभा सदस्यका लागि चुनावी मैदानमा होमिएका दैलेख क्षेत्र नम्बर १ (ख) का उम्मेदवार कृष्णकमार विसी र सल्यानका अधिकारी बाहेक सबै कांग्रेस उम्मेदवार संस्थापन पक्षधर हुन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

पंखबहादुर शाही
पंखबहादुर शाही
लेखकबाट थप