शनिबार, २९ वैशाख २०८१
ताजा लोकप्रिय

एकपटक मौका दिए जनताले गौरव गर्ने जनप्रतिनिधि बन्छु : रेखा थापा

शुक्रबार, २८ असोज २०७९, २२ : २७
शुक्रबार, २८ असोज २०७९

अभिनेत्री एवं राष्ट्रिय प्रजातन्त्र पार्टीकी नेतृ रेखा थापाले एकपटक सेवा गर्ने मौका दिए जनताले गौरव गर्ने जनप्रतिनिधि बनेर देखाउने बताएकी छन् । मोरङ क्षेत्र नम्बर ३ बाट प्रतिनिधिसभाकी उम्मेदवार बनेकी रेखाले शुक्रबार पथरी शनिश्चरेमा मतदातासँगको भेटमा यस्तो बताएकी हुन् ।  

रेखाले आफू आश्वासन र झुटको राजनीति गर्न कहिल्यै नजान्ने र बोलेका कुराहरू पुरा गर्ने बताइन् । यसअघि जितेका जनप्रतिनिधिले उक्त क्षेत्रको विकासको लागि सिन्को पनि नभाँचेकोले गलत परम्परा तोड्नको लागि आफू चुनावी मैदानमा खडा भएको उनले बताइन् ।

उनले आफू कुराभन्दा पनि काममा विश्वास गर्ने व्यक्ति भएकोले जनताले जिताएर पठाए सो क्षेत्रको मुहार फेर्ने विश्वास दिलाइन् । थापाले आफ्नो निर्वाचन क्षेत्रको विकासको लागि शिक्षा, स्वास्थ्य, खानेपानी, सुकुम्बासी समस्यालगायतका क्षेत्रमा थुप्रै काम गर्ने बताइन् ।

‘म आँट लिएर यो क्षेत्र बनाउने महान अभियानमा जुटेको छु,मलाई एकपटक सेवा गर्न दिनुहोस्, सिर्फ पाँच वर्षका लागि,’ उनले भनिन्, ‘म यो ठाउँकी छोरी हुँ । धेरै बोल्न र नेताहरू जस्तो अभिनय गर्न जान्दिनँ । मलाई नेताहरूको जस्तो भाषण गर्न आउँदैन। कलाकारको तुलनामा नेताहरू बोल्न र अभिनय गर्न सिपालु हुन्छन् ।’

उनले आफूलाई जिताए जनप्रतिनिधि भनेको रेखा जस्तै हुनुपर्छ भन्ने गौरव गर्न लायक बन्ने प्रतिवद्धता व्यक्त गरिन् । ‘यो क्षेत्रबाट हामीले धेरैलाई जनप्रतिनिधि बनाइसक्यौँ तर उल्लेखनीय रूपमा सुधार हुन सकेन,’ उनले भनिन्, ‘यसैले पनि उम्मेदवारका रूपमा यहाँ आएकी हुँ ।’ –न्युज कारखाना

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप