बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

नेपालबाट घरेलु कामदार लैजान कतारको दबाब, कामदार नलैजानेसम्मको चेतावनी

शुक्रबार, २८ असोज २०७९, २० : ४१
शुक्रबार, २८ असोज २०७९

कतारले घरेलु कामदारमाथिको प्रतिबन्ध खोल्न नेपाललाई दबाब दिएको छ । आफ्नो देशमा घरेलु कामदारको अभाव चर्किएपछि कतारले नेपालबाट घरेलु कामदार लैजाने खोजेको थियो । तर, नेपालमा २०७३ सालदेखि नै घरेलु कामदार पठाउन प्रतिबन्ध छ । 

कतारले विभिन्न प्रलोभन देखाउनेदेखि लिएर कामदार रोक्नेसम्मको धम्की नेपाललाई दिएको हो । कतारमा अहिले साढे ३ लाख भन्दा बढी जना घरेलु कामदारको माग छ । त्यो माग परिपूर्ति गर्न कतारले म्यानमार, फिलिपिन्स लगायतका देशबाट कामदार लगिरहेको छ । कतारमा अन्य क्षेत्रमा कामदार पठाइरहेको नेपाललाई घरेलु क्षेत्रमा पनि कामदार पठाउन आग्रह गर्दै आएको हो । यसका लागि कतारले विभिन्न अफरदेखि धम्कीसमेत दिने गरेको छ ।

जनवरी २०२१ मा नेपाल र कतारको संयुक्त कमिटीको बैठक बसेको थियो । जसमा कतारले घरेलु कामदार पठाउन आग्रह गरेको थियो । त्यसपछिको भेटघाटको क्रममा पनि कतारले घरेलु कामदारको विषय पटक-पटक उठान गर्दै आएको थियो । 

कतारले नेपाललाई घरेलु कामदार पठाउन र त्यसका लागि जे जस्तो सर्त अघि सारेपनि मान्न तयार रहेको धारणा राख्दै आएको छ । ‘हामीलाई घरेलु कामदारको अभाव छ । तपाईंहरूले पठाइदिनुपर्‍यो । त्यसका लागि हामीले जे जस्तो काम गर्नुपर्ने हो त्यो गर्छौँ भन्ने कतारको तर्फबाट आयो,’ श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सहायक प्रवक्ता डा. थानेश्वर भुसालले भने । 

तर स्रोत भन्छ - फकाउँदा समेत नेपालले कुनै प्रतिक्रिया नदिएपछि कतारले धम्कीको भाषा प्रयोग गर्न थालेको हो । ‘कामदारको सुरक्षाको प्रत्याभूति गराउनेदेखि लिएर उनीहरूलाई सीप दिने समेत हामी गर्छौँ भन्नुभएको थियो,’ मन्त्रालय स्रोतले भन्यो, ‘आग्रह गर्दा नभएपछि उहाँहरूले नेपालबाट अन्य क्षेत्रका कामदारलाई रोक लगाउनेसम्मको कुरा गर्नुभयो । सुरुमा फकाउनुभयो, पछि गइरहेका कामदारमाथि असर पर्न सक्छ भन्ने कुरा आयो ।’ 

कतारमा हाल साढे ४ लाख भन्दा बढी नेपाली श्रमिक कार्यरत छन् । हरेक वर्ष २० देखि ३० हजारको सङ्ख्यामा कामदार कतार गइरहेका छन् । कतारलाई नेपालीले प्रमुख श्रम गन्तव्यका रूपमा लिने गरेका छन् । 

पटक पटकको अनुरोधलाई नेपालले बेवास्ता गर्दै आएपछि कतारले घरेलु कामदारको लागि आवेदन नै आह्वान गरेको छ । कतारको आन्तरिक मन्त्रालयले एक सूचना जारी गरेर नेपालबाट महिला र पुरुषलाई आवेदन दिन आह्वान गरेको छ । यस विषयमा श्रम मन्त्रालयले खासै चासो दिएको छैन । मन्त्रालयका सहायक प्रवक्ता डा. भुसालले यो उनीहरूको आन्तरिक विषय भएको बताए ।

‘नेपालबाट महिला जान पाउँदैनन् । त्यो कतार भिसा सेन्टर (क्यूभिसी) अन्तर्गत सबै देशका लागि हो । जति पनि देशमा भिसा सेन्टर खोलेका छन् ति सबै देशका लागि भनेर हो,’ उनले भने, ‘नेपालले महिलालाई पठाउने गरेको छैन, त्यसमा पुरुषहरू जान सक्ने भए । पुरुषले जान सक्नेछन् । महिलाले जान पाउँदैनन् ।’ 

घरेलु कामदार सरोकार समाजका अध्यक्ष किसन प्रधानले सरकार उदासीन हुँदा कतार आफैँ बाध्य भएको बताए । ‘हामीले तिमीहरूका त्यत्रो कामदार लिइरहेका छौँ । हामीलाई घरेलु कामदारको अभाव छ । पठाइदिनुर्‍यो भनिरहेको लामो समय भयो । त्यसका लागि हामीले के–के सहयोग गर्नुपर्छ सहयोग गर्छौ भनेका छन् । तर, सरकार मौन बसेको छ । जसले गर्दा कतार आफैँ अग्रसर भएको हो,’ उनले भने ।  

प्रतिबन्धपछि पनि कतार लगायतका देशमा लाखौँ नेपालीहरू घरेलु कामदारको रूपमा कार्यरत रहेको उनको भनाई छ । ‘एउटा मान्छे पनि कतारमा नछिरेको भए ल ठिकै थियो, तर, १० औँ हजार मानिसहरू अहिले पनि घरेलु कामदारको रूपमा काम गरिरहेका छन् । त्यही भएर लिगल्ली नै पठाउनुपर्‍यो भनेर कतारले दबाब दिइरहेको होला । सरकार खोल्न तयार नभएपछि बाध्य भएर आफैँ खोल्नतिर लाग्यो,’ अध्यक्ष प्रधानले भने ।  

सरकारले घरेलु कामदार पठाउने विषयमा अध्ययन गरिरहेको छ । मन्त्रालयका सहसचिव राजीव पोखरेलेको संयोजकत्वको समितिले अध्ययन गरिरहेको सहायक प्रवक्ता डा. भुसालले बताए । चौतर्फी दबाब तथा अनुरोध आए पनि सरकारले त्यो देशमा घरेलु कामदार पठाउँदा सुरक्षित हुन्छ कि हुँदैन भनेर हेर्ने हो । सरकारले गरेका विभिन्न अध्ययन र प्रमाणहरूले अझै पनि घरेलु कामदार पठाउन सुरक्षित नरहेको उनको भनाई छ । 

‘दूतावासबाट पनि त्यो देशबारे जानकारी लिइरहेका छौँ । ८० प्रतिशतभन्दा निकायबाट सुरक्षित छैन भन्ने आइरहेको छ । अहिले हामीले पठाउने निर्णय गर्‍यौँ भने भोलि अर्को समस्या आउन सक्छ ।’ सहायक प्रवक्ता डा. भुसालले भने । 

घरेलु कामदार चौबिसै घण्टा एउटा बाउण्ड्रीभित्र काम गर्नुपर्ने भएकाले बढी जोखिम हुने उनको भनाई छ । त्यसमा फेरि सेवा सुविधा पनि त्यति धेरै आकर्षक नरहेको उनको भनाई छ । ‘हामीले सोचेजस्तो सेवा सुविधा छैन । त्यति पैसा अरू काममा गए पनि कमाउँछन् । त्यही भएर हामीले घरेलु कामदारको रूपमा पठाउनुपर्छ नै भन्ने मलाई लाग्दैन,’ भुसालले भने । 

अहिले खोल्नुपर्छ भनेर वकालत गर्दै आएका संघ संस्थाहरूको दोहोरो चरित्र देखिने गरेको उनको भनाई छ । ‘वकालत गर्ने संस्थाहरूले पनि पठाउन खोज्दा सरकारले बेचबिखन गर्न खोज्यो भन्छन् । नपठाएर रोक्दा पनि अवैध बाटोबाट बेचबिखन बढ्यो भन्ने कुरा गर्नुहुन्छ । एउटै व्यक्तिले दोहोरो कुरा गर्छन्,’ उनले भने । 

कतारमा अरू देशहरूले पनि घरेलु कामदार पठाइरहेका छन् । म्यानमार, फिलिपिन्स लगायतका देशबाट पनि कतारमा घरेलु कामदार गइरहेका छन् । अरू देशले कसरी पठाइरहेका छन्, त्यो कुरामा पनि अध्ययन गर्नुपर्ने उनको भनाई छ । 

यसका लागि श्रम मन्त्रालयले मात्र नभएर सरोकारवाला सबै निकायको निर्णयको आधारमा अगाडि बढ्नुपर्ने बताए । ‘नखोल्दासम्म खोल्नुपर्छ भन्ने दबाब दिन्छन् । खोल्यो भने तपाईंहरूलाई अरू क्षेत्र थिएन, जहाँ बढी समस्या छ त्यही खोल्नुहुन्छ भनेर भन्छन् । भोलि सरकारले उहाँहरूले नै औँला ठड्याउनुहुन्छ ।’ उनले भने । 

कतारमा घरेलु कामदार पठाउने विषयमा मन्त्रालय सकारात्मक रहेको र त्यसलाई पाइलट प्रोजेक्टको आधारमा अगाडि बढाइने बताए । ‘अब कामदार पठाउने नै हो भने पाइलटिङ गरेर पठाउनुपर्छ । पहिलो चरणमा थोरैको सङ्ख्यामा पढाएर त्यहाँबाट कस्तो खालको रेस्पोन्स आउँछ अनि त्यही आधारमा अगाडि बढ्दा राम्रो हुन्छ,’ उनले भने । 

२०० जना पठाउँदा एक जना पनि पीडित भयो भने त्यो ठुलो कुरा हुने उनको भनाई छ । ‘१/२ जना परिहाल्छ नि भन्ने हुँदैन । हाम्रो लागि त एउटा ज्यान पनि ठुलो ज्यान हो नि,’ उनले भने । श्रम मन्त्रालयले कतार सरकारले घरेलु कामदारको लागि आवेदन आह्वान गरे पनि कानुन विपरीत कुनै पनि काम गर्न नसकिने प्रस्ट पारेको छ । सरकारले आफ्नो तर्फबाट काम गरिरहेको भन्दै सोही आधारमा मात्र अगाडि बढिने सहायक प्रवक्ता भुसालको भनाई छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

कृष्णसिंह धामी
कृष्णसिंह धामी
लेखकबाट थप