मङ्गलबार, ११ वैशाख २०८१
ताजा लोकप्रिय

बागमती प्रदेशका ६ जना सांसद संघमा चुनाव लड्दै

शुक्रबार, २८ असोज २०७९, १९ : ०९
शुक्रबार, २८ असोज २०७९

बागमती प्रदेशका ६ जना सांसद आगामी निर्वाचनमा प्रतिनिधिसभातर्फको प्रत्यक्षबाट चुनाव लड्दैछन् । आगामी मंसिर ४ गते हुने निर्वाचनमा यसअघि बागमती प्रदेशसभा सदस्य भइसकेका ६ जनाले विभिन्न पार्टीबाट चुनावी प्रतिस्पर्धा गर्दैछन् ।

प्रदेशसभाबाट संघतर्फ चुनाव लड्नेमा सबैभन्दा बढी नेकपा एमालेका सांसद छन् । प्रदेशसभामा एक कार्यकाल बिताएर एमालेबाट ४ जनाले संघमा चुनाव लड्ने अवसर पाएका छन् भने एकीकृत समाजवादी र राष्ट्रिय स्वतन्त्र पार्टीबाट एक जनाले संघमा चुनाव लड्दैछन् ।

एमालेबाट रामेछाप–१, सिन्धुली–१, नुवाकोट–१ र सिन्धुपाल्चोक–१ मा यस अघि २०७४ को निर्वाचनमा प्रदेशसभा सदस्य निर्वाचित भएका व्यक्तिलाई प्रतिनिधिसभातर्फ उम्मेदवार बनाइएको हो । त्यस्तै प्रदेशसभा सांसद बनिसकेकामध्ये एकीकृत समाजवादीले धादिङ–१ र राष्ट्रिय स्वतन्त्र पार्टीले काठमाडौं–८ मा एक–एक जना उम्मेदवार बनाएका छन् ।

एमालेले रामेछाप–१ मा कैलाश प्रसाद ढुंगेललाई प्रतिनिधिसभा सदस्य पदमा उम्मेदवार बनाएको छ । उनी २०७४ को निर्वाचनमा सोही क्षेत्रको प्रदेशसभा तर्फको (ख)बाट निर्वाचित भएका थिए । साढे ३ वर्ष प्रदेशको आर्थिक मामिला तथा योजना मन्त्रीको जिम्मेवारीसमेत सम्हालेका उनलाई एमालेले प्रतिनिधिसभातर्फ उम्मेदवार बनाएको छ ।

सिन्धुली–१ मा पनि एमालेले प्रदेशसभा सांसद बनिसकेकालाई प्रतिनिधिसभा तर्फको टिकट दिएको छ । एमालेबाट सो क्षेत्रमा प्रदिप कुमार कटुवाल क्षेत्री (केसी) उम्मेदवार छन् । उनी २०७४ को निर्वाचनमा सोही क्षेत्रको प्रदेशसभा तर्फको (ख)बाट निर्वाचित भएका थिए ।

नुवाकोट–१ मा एमालेले बद्री मैनालीलाई उम्मेदवार बनाएको छ । उनी २०७४ को निर्वाचनमा प्रदेशसभा सदस्यमा निर्वाचित भएका थिए । उनी एमाले नुवाकोटको अध्यक्षसमेत हुन् भने एमाले विभाजनपछि अष्टलक्ष्मी शाक्य नेतृत्वको सरकारमा मन्त्रीसमेत बनेका थिए । उनले २ महिना ९ दिन मन्त्रीको जिम्मेवारी सम्हालेका थिए ।

एमालेले सिन्धुपाल्चोक–१ बाट सरेश नेपाललाई संघ तर्फको उम्मेदवार बनाएको छ । २०७४ को निर्वाचनमा सोही क्षेत्रको प्रदेश तर्फको (ख)बाट चुनाव जितेर प्रदेशसभा सांसद बनेका उनलाई आगामी निर्वाचनमा एमालेले संघको उम्मेदवार बनाएको हो । उनी २०७७ वैशाखमा डोरमणि पौडेल नेतृत्वको प्रदेश सरकारमा उद्योग, पर्यटन वन तथा वातावरण मन्त्री नियुक्त भएका थिए ।

गत २०७४ को निर्वाचनमा विवेकशील साझा पार्टीको समानुपातिक सूचीबाट सांसद बनेका विराजभक्त श्रेष्ठ आगामी निर्वाचनमा प्रत्यक्षबाट चुनाव लड्दैछन् । उनी रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टीबाट काठमाडौं–८ मा प्रतिनिधिसभा सदस्य पदमा उम्मेदवार बनेका छन् । उनले बागमती प्रदेशसभा सदस्य रहँदा प्रतिपक्षको बेञ्च सक्रिय भूमिकामा थिए । पछिल्लो समय विवेकशील साझाभित्रको आन्तरिक विवादमा फरक मत राख्दै आएका उनले सो क्षेत्रमा स्वतन्त्रबाट चुनाव लड्न गत भदौमा पार्टीको केन्द्रीय सदस्य पद त्यागेका थिए । स्वतन्त्रबाट चुनाव लड्ने तयारी गरेका श्रेष्ठ रणनीतिक रुपमा राष्ट्रिय स्वतन्त्र पार्टीको चुनाव चिन्ह प्रयोग गर्ने गरी चुनावी मैदानमा छन् ।

सत्ता गठबन्धनमा रहेको एकीकृत समाजवादीबाट धादिङ–१ मा सोही पार्टीका उपाध्यक्ष एवं बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्र प्रसाद पाण्डेले चुनाव लड्दैछन् । उनी गत निर्वाचनमा सोही क्षेत्रको प्रदेशतर्फको (क)बाट निर्वाचित भएका थिए । एमाले विभाजनपछि गत कात्तिक ११ गते पाण्डेले बागमती प्रदेशको तेस्रो मुख्यमन्त्रीको रुपमा सत्तारोहण गरेका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

गणेश दुलाल
गणेश दुलाल
लेखकबाट थप