मधेस प्रदेशका माओवादी मन्त्री भन्छन्– हामीलाई मुख्यमन्त्रीले केही भनेका छैनन्
मधेस प्रदेशका कांग्रेस, माओवादी केन्द्र र नेकपा एसका मन्त्रीहरूले शुक्रबार दिनभरमा पनि राजीनामा नगरे मुख्यमन्त्री लालबाबु राउतले पदबाट हटाउने भएका छन् । केन्द्र सरकारको गठबन्धन फरिएसँगै त्यसको असर मधेस प्रदेश सरकारमा पनि परेको हो । पाँच दलीय गठबन्धनमा रहेको जनता समाजवादी पार्टी चुनावी तालमेल गर्न नेकपा एमालेसँग पुगेपछि प्रधानमन्त्री शेरबहादुर देउवाले केन्द्र सरकारमा सामेल जसपाका चार मन्त्रीलाई बिहीबार हटाएका थिए ।
जनता समाजवादी पार्टी (जसपा)का मधेस प्रदेश अध्यक्ष रामबाबु कुमार यादवले शुक्रबार दिनभरमा पनि कांग्रेस, माओवादी र नेकपा एसका मन्त्रीले राजीनामा नदिए मुख्यमन्त्रीले साँझ हटाउने बताए । ‘केन्द्रमा एलाइन्स फेरिएको छ । नयाँ समीकरण बुझेर उहाँहरू आफैले राजीनामा दिनुपर्ने हो । यदि आज दिनभरमा उहाँहरुले राजीनामा दिनुभएन भने मुख्यमन्त्रीले आजै साँझ बर्खास्त गर्नुहुन्छ’, यादवले रातोपाटीसँग भने, ‘फेरिएको समीकरणमा राजीनामा दिनुस् भनेर भनिरहन पर्दैन, आफैले बुझ्ने कुरा हो ।’
मधेस प्रदेश सरकारमा कांग्रेसका ३, माओवादी केन्द्रका राज्यमन्त्रीसहित २ र नेकपा एकीकृत समाजवादीका १ गरी ६ जना मन्त्री छन् । कांग्रेसबाट मन्त्री हुनेमा भौतिक पूर्वाधार विकास मन्त्री रामसरोज यादव, महिला बालबालिका युवा तथा खेलकुद मन्त्री वीरेन्द्र प्रसाद सिंह, खानेपानी तथा ऊर्जा मन्त्री ओम प्रकाश शर्मा रहेका छन् । माओवादी केन्द्रबाट भने आन्तरिक मामिला तथा सञ्चार मन्त्री भरत प्रसाद साह, राज्यमन्त्री रुवी कर्ण र नेकपा एसको तर्फबाट उद्योग पर्यटन तथा वन मन्त्री शत्रुधन महतो छन् ।
माओवादी नेता तथा आन्तरिक मामिला तथा सञ्चार मन्त्री भरत प्रसाद साहले मुख्यमन्त्रीले आफूलाई केही नभनेकाले आफूहरूले कुनै निर्णय गरी नसकेको बताए । ‘कांग्रेसका मन्त्रीहरूलाई राजीनामा दिनुस् भनेर मुख्यमन्त्रीले भन्नु भयो भन्ने सुनियो, तर, हामीलाई कसैले केही भनेको छैन । त्यसैले हामी कुनै निर्णयमा पुगेका छैनौ’, मन्त्री साहले रातोपाटीसँग भने ।