शुक्रबार, २१ असार २०८१
ताजा लोकप्रिय

काठमाडौं १० मा त्रिपक्षीय भीडन्त : राजन केसीलाई विशंखेको पनि चुनौती

शुक्रबार, २८ असोज २०७९, ०७ : ४१
शुक्रबार, २८ असोज २०७९

काठमाडौं क्षेत्र नम्बर १० मा सत्ता गठबन्धनको तालमेल नभएपछि त्रिपक्षीय भीडन्त हुने भएको छ । कांग्रेसका केन्द्रीय सदस्य राजन केसीलाई नेकपा एमालेका हिमेश केसी र नेकपा माओवादी केन्द्रकी अञ्जना विशंखेले टक्कर दिन लागेका हुन् ।

काठमाडौं १० माओवादीले आफ्नो दाबी छोड्न मानेको थिएन । त्यसैले गठबन्धनबाट माओवादकी विशंखेले चुनाव लड्ने तयारी गरेकी थिइन् । तर, कांग्रेसका राजन केसीले छोड्न नमानेपछि तालमेल हुन नसकेको हो । २०७० साल र २०७४ सालमा समेत केसीले चुनाव जितेकाले माओवादीलाई छोड्न मानेन् । आफू स्वतन्त्र उठेपनि चुनाव जित्ने चेतावनी दिँदै केसीले तालमेल गर्न नमानेको एक नेताले बताए ।

‘काठमाडौं क्षेत्र नम्बर १० मा चुनावी तालमेल छैन । कांग्रेसबाट म आधिकारिक उम्मेदवार हुँ । माओवादीबाट पनि अन्जनाजी आधिकारिक उम्मेदवार हुनुहुन्छ,’ रातोपाटीसँग केसीले भने, ‘प्रदेश सभा ‘क’ मा तालमेल छैन । प्रदेश सभा‘ख’बाट हाम्रो पार्टीबाट उम्मेदवार छैन । एकीकृत समाजवादीबाट  रमा आलेमगर हुनुहुन्छ । माओवादीले आफ्नै उम्मेदवार उठायो ।’

आफ्नो क्षेत्रमा तालमेल नभएपनि सजिलै निर्वाचित भएरै देखाउने केसीले बताए । तर, माओवादी केन्द्रबाट उम्मेदवार भएकी विशंखेले काठमाडौं १० का जनताले नयाँ अनुसार खोजेकाले आफू सजिलै जित्ने दाबी गरिन् ।

‘राजनजी यो क्षेत्रबाट धेरै पटक निर्वाचित भइ सक्नुभयो । अब यहाँका जनताले नयाँ अनुहार खोज्नु भएको छ भन्ने अनुभूति गरेकी छु,’ विशंखेले भनिन्, ‘यहाँको भाषा, संस्कृति र ऐतिहासक महत्व राजन भन्दा मैले बुझेकी छु । यस क्षेत्रमा जन्मे हुर्के पढेकाले मलाई बढी ज्ञान छ ।’ २०६४ सालमा अध्यक्ष प्रचण्डले जीत जस्तै आफू पनि चमत्कारिक ढंगले निर्वाचित हुने विशंखेको दाबी छ ।

यस क्षेत्रबाट कांग्रेसका राजन केसी, एमालेका हिमेश केसी र माओवादीबाट अन्जना विंसख्य सहित १७ जना प्रतिनिधि सभा उम्मेदवार छन् ।  राजकुमार थापा, रामबाबु ठाकुर र तिलकबहादुर रिज्याल तीन जनाले स्वतन्त्र उम्मेदवारी दिएका छन् । कांग्रेसका केसीले यसअघि २ पटक चुनाव जिति सकेकाले उनलाई हराउन एमाले र माओवादीलाई गाह्रो हुने देखिएको छ ।  

प्रदेश सभा ‘ख’ मात्रै तालमेल

प्रदेश सभा ‘क’ मा कांग्रेस, एमाले र माओवादीबीच त्रिपक्षीय भीडन्त हुने भएको छ । प्रदेश सभा ‘क’बाट कांग्रेसका पुकार महर्जन, एमालेका शिवभक्ति बलामी र माओवादीबाट दिलिप महर्जनले उम्मेदवारी दिएका छन् । यस प्रदेश सभामा कुल ९ उम्मेदवारी परेको छ । सुरेन्द्र महर्जनको मात्रै स्वतन्त्र उम्मेदवारी परेको छ ।

प्रदेश सभा ‘ख’ कांग्रेस र नेकपा एकीकृत समाजवादीबीच मात्रै तालमेल भएकाले माओवादीले आफ्नो आफ्नो उम्मेदवार उठाएको छ । एकीकृत समाजवादीबाट रमा आलेमगर, माओवादी केन्द्रबाट गणेशबहादुर कुँवर र एमालेबाट रामशरण आले मगरले उम्मेदवारी दिएका छन् । प्रदेश सभा ‘ख’बाट १२ जनाले उम्मेदवारी दिएका छन् भने सूर्यबहादुर महर्जन र दिपकप्रसाद तिवारीको स्वतन्त्र उम्मेदवारी दिएका छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप