सोमबार, १४ असोज २०८१
ताजा लोकप्रिय

प्रमुख तेल उत्पादक मुलुकहरुले विश्व अर्थतन्त्रलाई मन्दीमा धकेल्न सक्ने आईईए चेतावनी

बिहीबार, २७ असोज २०७९, २१ : ५५
बिहीबार, २७ असोज २०७९

ओपेक प्लसले गत हप्ता महामारी सुरु भएदेखि यताकै सबैभन्दा ठूलो परिणामको तेल उत्खनन् घटाउने निर्णय गरेपछि पश्चिमी सरकारहरू आक्रोशित भएका छन् । अहिले आएर ठूला तेल उत्पादक मुलुकहरुको उक्त कार्टेलको निर्णयले विश्व अर्थतन्त्रलाई मन्दीमा धकेल्न सक्ने अन्तर्राष्ट्रिय ऊर्जा एजेन्सी(आईईए)ले चेतावनी दिएको छ  ।

पेरिसमा मुख्यालय रहेको एजेन्सीले बिहीबार आफ्नो मासिक तेल बजार प्रतिवेदनमा भनेको छ– ‘कठोर मुद्रास्फीतिको दबाब र ब्याज दर वृद्धिको साथसाथै उच्च तेलको मूल्यले पहिले नै मन्दीको छेउमा पुगको विश्व अर्थतन्त्र अब झन् मन्दीको संघारमै पुग्नेछ ।’

आईईएले अर्को वर्षको लागि विश्वभर हुने तेलको माग वृद्धिको आफ्नो पूर्वानुमान २०% भन्दा बढीले घटाएको छ । विशेषत मन्दीको समयमा तेलको माग कम हुने गर्छ ।  अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ) ले यसअघि नै धेरै मानिसहरूको लागि सन् २०२३ ‘मन्दीजस्तो महसुस हुनेछ’ बताएको छ । उसले यसै कारणले वैश्विक कुल ग्राहस्थ उत्पादन वृद्धिको पूर्वानुमान २.७ प्रतिशतमा झारेको छ । पहिले आईएमएफले आगामी वर्ष विश्वको अर्थतन्त्र ३.२ प्रतिशत हुने प्रक्षेपण गरेको थियो । 

तेलको मागमा न्युन वृद्धि भएतापनि, साउदी अरेबिया र अन्य प्रमुख तेल उत्पादकहरू मुलुकहरुले तेलको आपूर्ति कटौती गरे भने विश्वव्यापी तेल भण्डारणमा तीव्र कमी आउनेछ, जसले तेलको मूल्यहरू उच्च रहने तिनको अपेक्षा छ ।
‘ओपेक प्लसले तेल आपूर्तिमा गर्ने ठूलो कटौतीले विश्वभर ऊर्जा सुरक्षामा जोखिम बढाउँछ,’ आईईएले भनेको छ । 

ठूला तेल उत्पादक मुलुकहरुको कार्टेलले तेल उत्पादन प्रति दिन २० लाख ब्यारेल घटाउने निर्णय गरेसँगै अमेरिका र साउदी अरबबीच तनाव बढेको छ । अमेरिकाले साउदी अरब प्रभावशाली रहेको ओपेक प्लसले रसियासँग गठबन्धन गरेको आरोप लगाएको छ । 

ओपेक प्लसको तेल उत्पादन कटौती गर्ने निर्णयपछि अमेरिकी राष्ट्रपति जो बाइडेनले ‘वाशिंगटनले रियादसँगको आफ्नो सम्बन्धलाई ‘पुनर्विचार’ गर्ने स्थितिमा पुगेको’ सम्म बताएका छन् । ओपेक प्लसको निर्णयले अमेरिकामा मध्यावधि चुनावअघि पेट्रोलको मूल्य बढ्ने अवस्था आएमा त्यो बाईडेनको पार्टी डेमोक्रेटिकलाई भारी पर्न सक्छ । 

साउदी अरबका विदेश राज्यमन्त्री अदेल अल–जुबेरले भने तेल उत्पादन कटौती गर्ने निर्णय तेल बजारलाई स्थिर बनाउने उद्देश्यले गरिएको बताए ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप