आइतबार, ०६ जेठ २०८१
ताजा लोकप्रिय

संघको साइड इफेक्ट मधेस प्रदेशमा : कांग्रेस, माओवादी र समाजवादीका मन्त्री हटाउने तयारी

बिहीबार, २७ असोज २०७९, १९ : ३७
बिहीबार, २७ असोज २०७९

केन्द्र सरकारमा रहेका जनता समाजवादी पार्टी (जसपा) नेपालका मन्त्रीहरूलाई हटाएसँगै त्यसको साइड इफेक्ट मधेस प्रदेशमा देखिने भएको छ । प्रधानमन्त्री शेरबहादुर देउवाले संघीय सरकारमा रहेका जसपाका चारजना मन्त्रीलाई हटाएसँगै मधेस प्रदेशका मुख्यमन्त्री लालबाबु राउतले पनि आफ्नो मन्त्रीमण्डलमा रहेका नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीका मन्त्रीहरूलाई हटाउने तयारी गरेका हुन् ।

रातोपाटीसँग कुराकानी गर्दै मुख्यमन्त्री राउतले भने, 'संघमा हाम्रो पार्टीका मन्त्रीहरू हटाएपछि अब हामीले यहाँ पनि मन्त्रीहरू हटाउँछौँ । त्यसका लागि हामी छलफल गरिरहेका छौँ ।' हाल मधेस प्रदेश सरकारमा माओवादीका एक मन्त्री र एक राज्य मन्त्री, एकीकृत समाजवादीका एक मन्त्री र एक राज्यमन्त्री तथा नेपाली कांग्रेसका तीन जना मन्त्रीहरू छन् । कांग्रेसबाट भौतिक पूर्वाधार विकास मन्त्री रामसरोज यादव खानेपानी तथा ऊर्जा विकास मन्त्री ओमप्रकाश शर्मा महिला, बालबालिका, युवा तथा खेलकुद मन्त्री वीरेन्द्रप्रसाद सिंह रहेका छन् भने नेकपा एकीकृत समाजवादीबाट उद्योग, पर्यटन तथा वन मन्त्री शत्रुधन महतो कानुन, न्याय तथा प्रदेशसभा मामिला मन्त्री प्रमोद यादव उद्योग, पर्यटन तथा वन राज्यमन्त्री नागेन्द्र राय यादव छन् । माओवादीबाट आन्तरिक मामिला तथा सञ्चारमन्त्री भरत साह र रुवि कर्ण छन् ।

जसपाले सत्ता गठबन्धन छाडेर प्रमुख प्रतिपक्षी दल नेकपा एमालेसँग चुनावी गठबन्धन गरेपछि  देउवाले बिहीबार संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री राजेन्द्र श्रेष्ठ, भौतिक पूर्वाधार तथा यातायात मन्त्री मोहम्मद इस्तियाक राई, कृषि तथा पशुपन्छी विकासमन्त्री मृगेन्द्रकुमार सिंह र वन तथा वातावरणमन्त्री प्रदीप यादव बर्खास्त गरेका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप