शनिबार, २२ वैशाख २०८१
ताजा लोकप्रिय

निर्वाचन अघि नै विदेशमा अलपत्र परेका नेपालीको उद्धार गरिसक्ने सरकारको योजना

बिहीबार, २७ असोज २०७९, १८ : ३३
बिहीबार, २७ असोज २०७९

वैदेशिक रोजगारीमा गई घाइते, अंगभंग तथा बिरामी भई समस्यामा परेका नेपालीहरूको उद्धार थालिएको छ । परराष्ट्र मन्त्रालय तथा वैदेशिक रोजगार बोर्डले समस्यामा परेका नेपालीहरूको उद्धार थालेको हो । 

चालु आर्थिक वर्षको हालसम्म ४३ जनाको उद्धार गरिएको वैदेशिक रोजगार बोर्डले जनाएको छ । उद्धार गरिएकामध्ये २६ जना साउदी अरेबियामा थिए । त्यस्तै ९ जना मलेसिया, ५ जना युएई र ३ जना कतारमा रहेका नेपालीको उद्धार गरिएको बोर्डले जनाएको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले वैदेशिक रोजगारीमा गई विभिन्न मुलुकमा कार्यरत रहेको अवस्थामा, घाइते, अंगभंग तथा बिरामी भई समस्यामा परेका नेपाली नागरिकको अवस्था पहिचान गरी आवश्यकता अनुसार उद्धार एवम् समुचित व्यवस्थापन गर्न एक कार्यदल गठन गरेको थियो । 

६ साउन २०७९ को मन्त्रीस्तरीय निर्णय अनुसार मन्त्रालयका सहसचिवको संयोजकत्वमा कार्यदल गठन गरेको थियो । कार्यदलले सरोकारवालासँग छलफल तथा अध्ययन गरेर प्रतिवेदन तयार पार्दै मन्त्रालयमा पेश गरेको थियो । श्रम मन्त्रालयले उक्त प्रतिवेदन कार्यान्वयनका लागि परराष्ट्र मन्त्रालय र वैदेशिक रोजगार बोर्डको सचिवालयमा पठाएको थियो । बोर्ड र परराष्ट्र मन्त्रालयले उक्त प्रतिवेदन कार्यान्वयनमा लगेको हो । प्रतिवेदनले आंैल्याएका र उद्धार गर्नुपर्ने भनिएका व्यक्तिहरूको उद्धार गर्ने काम भइरहेको बोर्डका कार्यकारी निर्देशक डा. द्वारिका उप्रेतीले जानकारी दिए । 

विदेशमा कोमामा बसेकाहरू, घाइते भएर उपचार गराइरहेका, कोही मानसिक सन्तुलन गुमाएकाहरूलाई ल्याउने काम भइरहेको छ । प्रतिवेदन कार्यान्वयनको चरणमा गएपछि दशभरमा मात्रै १० जनाको उद्धार भइसकेको छ । कार्यकारी निर्देशक डा. उप्रेतीले भने । कार्यदलले बुझाएको प्रतिवेदनको आधारमा विदेशमा समस्यामा परेका नेपालीहरूको उद्धार धमाधम भइरहेको उनको भनाई छ । कार्यदलले सम्बन्धित देशमा रहेका सहचारीमार्फत समस्यामा परेका नेपालीहरूको अवस्थाबारे जानकारी लिएको थियो । हाल विभिन्न देशमा २६ जना कोमामा थिए । तीमध्ये केही व्यक्तिलाई नेपाल ल्याइसकिएको बोर्डले जनाएको छ । 

त्यस्तै बिरामी परेर समस्यामा परेका, दुर्घटनामा परी अस्पतालमा उपचार गराइरहेका नेपालीहरूका समेत उद्धार भइरहेको उनको भनाई छ । ‘उद्धारको लागि भनेर निवेदन परेको हुन्छ । त्यही आधारमा हामीले यताबाट पैसा पठाइँदिन्छौं अनि उद्धार गरिन्छ । यदि पैसा कम भयो भने विदेशमा रहेका नेपालीहरूले नै सहयोग पनि उठाइरहेका छन्,’ डा. उप्रेतीले भने । उद्धार गरिएकामध्ये केही कोमामा रहेका बिरामी थिए भने एक जना बेडबाटै बाहिर निस्किन नसक्ने अवस्थाका थिए । नेपाल ल्याएर उनीहरूलाई घरसम्म पु¥याउने काम बोर्डले गर्ने गरेको छ । ‘उद्धार गरेर उनीहरूको घरसम्म पु¥याइँदिन्छौं । नेपाल आएपछि एक पटक स्वास्थ्य जाँच गराएर उनीहरूको घरसम्म पु¥याउँछौं,’ उनले भने । 

कोमामा गएका बिरामीलाई समेत उद्धार गरेर उनीहरूका घरमै पठाइदिएको उनको भनाई छ । विदेशमा कोमामा रहेका नेपालीहरूलाई सम्बन्धित परिवारले ल्याउन अस्वीकार गर्दा उनीहरूको उद्धारमा समस्या भइरहेको सरकारको भनाई छ । ‘केही काम नलाग्ने भइसकेका हुन्छन् । उनीहरूलाई नेपाल ल्याएर उल्टै खर्च हुन्छ भन्ने घर परिवारको भनाई हुन्छ । अनि नेपाल ल्याउनै मान्दैनन् । उनीहरूलाई कन्भिन्स गरेर ल्याउने गरेका छौं,’ डा. उप्रेतीले भने ।

अवैध नेपालीको उद्धारमा समस्या: 

वैधानिक तवरबाट वैदेशिक रोजगारीमा गएर समस्यामा परेका नेपालीहरूको उद्धार सरकारले गर्छ । अवैधानिक रूपमा गएर समस्यामा परेकाहरूको उद्धार गर्न कठिन रहेको श्रम मन्त्रालयले जनाएको छ । मन्त्रालयका प्रवक्ता डण्डुराज घिमिरेले अवैधानिक तवरबाट वैदेशिक रोजगारीमा गएकाहरूको उद्धारमा समस्या भइरहेको बताए । ‘वैधानिक तवरबाट गएकाहरूको उद्धार गर्न समस्या हुँदैन । भिजिट भिसामा गएर उतै लुकेर बसेकाहरू, भागेर अर्को कम्पनीमा काम गरिरहेकाहरुलाई उद्धार गर्नमा समस्या छ,’ उनले भने ।  गत वर्ष मात्रै ४५० भन्दा बढीको उद्धार गरिएको बोर्डको तथ्यांकले देखाएको छ । त्यस्तै १५० भन्दा बढी व्यक्तिको शव बोर्डमार्फत नेपाल ल्याइएको थियो ।  

चुनावअघि नै उद्धार गरिसक्न मन्त्रीको ताकेता: 

श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शेरबहादुर कुँवर अछाम १ बाट प्रतिनिधिसभा सदस्यका लागि चुनाव लड्दैछन् । एक साताभन्दा लामो समयदेखि उनी अछाममै चुनावी अभियानमा छन् । उनले चुनाव अघि नै विदेशमा समस्यामा परेका तथा अलपत्र परेका नेपालीहरूका उद्धार गर्न सरोकारवाला निकायलाई निर्देशन दिइसकेका छन् । कार्यदलले दिएको प्रतिवेदनका आधारमा उनीहरूको उद्धार गर्न भनेका हुन् । उद्धार गरेर उनीहरूको समुचित व्यवस्थापन गर्न समेत उनको निर्देशन छ । सोही आधारमा कार्यदलले दिएको सुझावकै आधारमा धमाधम उद्धार गर्ने कामलाई तिव्रता दिइएको कार्यकारी निर्देशक डा. उप्रेतीले बताए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप