साढे चार वर्षदेखि ‘राष्ट्रिय आँखा स्वास्थ्य नीति’ कागजमै सीमित
सरकारले विद्यालय भर्ना हुनुअघि विद्यार्थीको अनिवार्य आँखा परीक्षण गर्ने व्यवस्थालाई कागजमा मात्रै सीमित राखेको छ । ‘राष्ट्रिय आँखा स्वास्थ्य नीति’ तयार परेको साढे चार वर्ष बितिसक्दा पनि नीतिमा उल्लेख गरिएअनुसार विद्यालय भर्ना हुने बालबालिकाको आँखा परीक्षण कार्यक्रमलाई कार्यान्वयनमा ल्याउन नसकेको हो ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले तयार पारेको राष्ट्रिय आँखा स्वास्थ्य नीति ०७४ लाई मन्त्रिपरिषद् बैठकले पारित गरेको छ । यद्यपि मन्त्रालयले यस व्यवस्थालाई कार्यान्वयन गर्न नसकेको आँखा रोग विशेषज्ञहरू सुनाउँछन् । पाँच वर्षदेखि एघार वर्षसम्मका बालबालिकाको अनिवार्य रूपमा आँखा परीक्षण गर्ने नीतिमा उल्लेख गरिएको छ ।
पछिल्लो समय बालबालिकाहरूमा आँखा स्वास्थ्य समस्या बढ्दै गए पनि अन्य शारीरिक स्वास्थ्य समस्या झैँ परीक्षण गर्ने परिपाटी विकास नभएको स्वास्थ्य सेवा विभाग आँखा, नाक, कान, घाँटी, तथा मुख स्वास्थ्य उपचारात्मक सेवा महाशाखाका पूर्व प्रमुख डाक्टर प्रकाश बुढाथोकीले सुनाउँछन् । विद्यालयमा आँखा परीक्षण गर्ने व्यवस्था गरिएमा ८० प्रतिशत बालबालिकामा हुने अन्धोपनलाई उपचारबाट हटाउन सकिने डा. बुढाथोकी सुनाउँछन् । सन् २०१४ मा नेपालमा गरिएको पेडियाट्रिक अकुलर डिजिज अध्ययन सर्भेमा ०.०६५ बालबालिकामा बाल अन्धोपन देखिने उल्लेख गरिएको छ । त्यसमध्ये ८० प्रतिशत बालबालिकाको उपचारमार्फत अन्धोपन हटाउन सकिने उल्लेख गरिएको छ । सरकारले भने बालबालिकाको आँखा परीक्षण कार्यक्रमका लागि बजेट नै विनियोजन गर्न सकेको छैन ।
२० प्रतिशत बालबालिकाले जेनेटिक वा अन्य कारणले आँखा नदेखे पनि उनीहरूलाई परीक्षणमार्फत निर्क्योल गरी सोहीअनुसार वातावरण सृजना गर्न सकिने डा.बुढाथोकीले बताए । उनी भन्छन्, ‘कुनै जेनेटिक कारण आँखा नदेख्ने भएर जन्मिए पनि आँखाका लागि नानीको प्रतिस्थापन सकिन्छ, आँखा नदेख्ने अवस्था भएमा त्यहीअनुसारको जीवनशैलीका लागि वातावरण सृजना गरिदिन सकिन्छ ।’
स्वास्थ्य मन्त्रालयले नीति अनुसार बालबालिकाको आँखा परीक्षणलाई अगाडि बढाउन नसक्दा धेरै बालबालिकाले आँखाको समस्या बोकेर हिँड्न बाध्य छन् । नीतिमा परीक्षणको व्यवस्था मात्रै होइन कक्षा ५ देखि १२ सम्मका पाठ्यापुस्तकहरुमा यसलाई समावेश गर्न पहल गर्ने उल्लेख गरिएको छ । स्थानीय स्तरमा निमावि तहका शिक्षक, विद्यार्थीलाई दृष्टि परीक्षणका लागि तालिम दिई दृष्टि परीक्षणको सेवा उपलब्ध गराइने व्यवस्था कागजमा मात्रै उल्लेख भएको आँखा रोग विशेषज्ञहरू सुनाउँछन् । यस्तै, सबै भौगोलिक क्षेत्रमा आँखा उपचारका लागि आवश्यक पूर्वाधारको विकास गर्ने भनिए पनि मन्त्रालयले अग्रसरता देखाएको छैन ।
आँखामा आएको परिवर्तनलाई लापरबाही नगरी परीक्षण गरिएमा उपचार समस्या समाधान हुने डा.बुढाथोकीले बताए । आँखामा समस्या देखिदा धेरै पैसा खर्च हुन्छ भनेर उपचार नगराई बस्दा अन्धोपना निम्तन सक्ने उनले बताए ।
आँखा बिग्रिएको कसरी थाहा पाउने
त्रिवि शिक्षण अस्पताल आँखा विभागका प्रा.डा सञ्जीव भट्टराईले २० प्रतिशत अन्धोपनलाई रोक्न नसकिए पनि ८० प्रतिशत अन्धोपनलाई उपचार मार्फत निको हुने पनि बालबालिका उपचारको पहुँचमा नपुगेको सुनाउँछन् ।
धेरै अभिभावकहरूले आफ्नो बालबालिकामा एक्कासि अन्धोपना आएको सुनाउने गर्छन् । यद्यपि डा. बुढाथोकीका अनुसार बालबालिकाको आँखामा अन्धोपना एक्कासि देखिँदैन । ८० प्रतिशत बालबालिकाको आँखामा अन्धोपना बिस्तारै बिस्तारै आउने उनको भनाइ छ ।
उनी भन्छन् ‘आँखामा आएको परिवर्तनलाई अभिभावकहरूले ख्याल नगर्दा बालबालिका एकै पटक अन्धोपना आएको ठानेका मात्रै हुन् । दुर्घटना परेको खण्डमा एक्कासि आँखामा अन्धोपना आउने सम्भावना हुन्छ ।’ अन्धोपना जलविन्दु, दृष्टि दोष र अन्य कारण हुने गर्छ । नेपालमा बालबालिकासहित १ लाख २० हजारभन्दा बढीमा अन्धोपना छ ।
डा. भट्टराईले बालबालिकाले ह्वाइट बोर्डमा शिक्षक शिक्षिकाले लेखे देख्न नसकेमा, ह्वाइट बोर्ड हेर्दा आँखा दुख्ने, बोर्डमा हेरेर पढ्न नसकेमा, बच्चाहरूले धेरै टाउको दुख्यो भनेमा, हल्का रिँगटा लाग्ने, चक्कर लाग्ने भएमा कतै बालबच्चाको आँखामा समस्या छैन भनेर शङ्का गर्नुपर्ने बताए ।
यस्तै, धेरै पटकसम्म लेख्न, पढ्न दिक्कदार मान्ने, घरीघरी आँखा झिम्क्याउने, यताउती हेर्दा हल्का आँखा खुम्च्याएर हेर्ने कतै आँखाको समस्या ठानेर अस्पताल लैजान उनको सुझाव छ ।
लामो समयसम्म स्क्रिनमा हेर्दा बच्चाको आँखामा समस्या
लामो समयसम्म मोबाइल, टिभी,कम्प्युटर, ल्यापटपमा गेम खेल्ने, भिडियो हेर्ने, अध्ययन गर्दा बालबालिका मात्र नभइ सबै उमेर समूहका मानिसको आँखामा समस्या देखिने गरेको चिकित्सकहरू सुनाउँछन् । यही कारणले सहरी क्षेत्रका बालबालिकाहरूको दृष्टि कमजोर हुँदै गएको चिकित्सकहरू सुनाउँछन् । सहरी क्षेत्रका १५ प्रतिशत बालबालिकाले चस्माको प्रयोग गर्छन् ।
डा.भट्टराईका अनुसार १५ वर्षभन्दा कम उमेर समूहकाले दैनिक २ घण्टा मोबाइल, टिभी, कम्प्युटर हेर्दा, १५ वर्षभन्दा माथिकाले ४ घण्टासम्म हेर्दा आँखालाई असर गर्दैन । तर, यो समयभन्दा बढी हेरेमा आँखाको दृष्टिमा कोषहरू ल्याउने, आँखा सुख्खा हुने, आँखा दुख्ने, आँखा कमजोर हुने गर्छ । लामो समयसम्म नजिकबाट मोबाइल, कम्प्युटर, टिभी हेर्दा ५० मिनेट त्यहाँबाट आँखा यताउता हेर्ने, बसेको स्थानबाट हातखुट्टा तन्क्यउने, टाढा टाढा हेर्न गर्नुपर्छ । २० सेकेन्ड जति आँखा झिम्क्याउने गर्नुपर्छ ।
यस्तै, पछिल्लो समय आँखामा समस्या देखिएमा सिधै मेडिकलमा गई औषधि किनेर प्रयोग गर्ने बानीले झन् गम्भीर खालको समस्या आउने गरेको डा.बुढाथोकीले बताए । उनले भने, ‘अझै गाउँघरतिर विभिन्न बोट तथा झारको पात,बोक्रोको रस राख्ने चलनले गर्दा आँखामा अन्धोपन आएको देखिन्छ ।’
आँखा परीक्षण गर्ने चलन छैन
नेपालका केही ठुला अस्पतालहरुमा बच्चा जन्मने बित्तिकै दृष्टि छ कि छैन भनेर परीक्षण गर्ने चलन छ । बाध्यात्मक अवस्थामा बाहेक अन्य स्वास्थ्य परीक्षण जस्तो आँखामा समस्या नआएसम्म जाँच गर्ने प्रचलन नरहेको डा. बुढाथोकी सुनाउँछन् । अझै पनि नेपालमा आँखाको परीक्षण जागिर खान जाँदा, विदेश जाँदा, आँखामा स्वास्थ्य समस्या देखिएमा मात्रै परीक्षण गर्ने चलन रहेको डा.बुढाथोकीको भनाइ छ । डा.भट्टराई भने हाल सहरी क्षेत्रमा पहिलाभन्दा आँखा स्वास्थ्य प्राथमिकता परेको सुनाउँछन् ।
आँखामा समस्या देखिनेवित्तिकै परीक्षण गरिमा अन्धोपनसम्म पुग्नुनपर्ने चिकित्सकहरू डा. भट्टराई सुनाउँछन् । त्यस्तै सुरुवाती अवस्थामा उपचार गराएमा थोरै खर्चमा उपचार गर्न सम्भव हुन्छ । नेपालमा जबसम्म आम नागरिकमा आँखा स्वास्थ्यसम्बन्धी सचेतना पुग्दैन, स्वास्थ्य सेवाको पहुँच पुग्दैन तबसम्म आँखाका बिरामी बढिरहने डा. बुढाथोकी बताउँछन् ।
यस्तो गरौँ स्वस्थ आँखाका लागि
–सधैँ ६ देखि ८ घण्टा सुत्ने
–नियमित आँखाको चेकअप गराउने
–घाममा हिँड्दा सधैँ सनग्लासको प्रयोग गर्ने
–खेलकुदमा आँखाको सुरक्षामा ध्यान राख्ने
–कम्प्युटरमा काम गर्दा ५० मिनेटमा १० मिनेट ब्रेक लिने । जसले आँखालाई आराम मिल्छ ।
–ब्रेकको समयमा आँखामा चिसो पानीको छिटा राख्ने ।
–आँखामा प्रयोग गर्ने मेकअपको सामान गुणस्तरीय मात्र प्रयोग गर्ने
–दृष्टिमा थोरै बदलाव आएको वा तपाईंलाई लगातार टाउको दुखेको छ भने तुरुन्त जचाउने
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पूर्वाधार निर्माण र सेवा विस्तारमा लगानी बढाउनु पर्छ : पूर्वराष्ट्रपति भण्डारी
-
रविको सुतिरहेको तस्बिर सामाजिक सञ्जालमा हाल्नेलाई प्रहरीले कारबाही गर्ने
-
वर्षा बाधक बनेपछि अनिर्णित रुपमा सकियो नेपाल र श्रीलंका बिचको खेल
-
गिरिराजमणि पोखरेललाई प्रश्न : विप्लव महिन्द्रसँगको एकता सहमति भत्किएको हो ?
-
राज्यका निकायहरूमा समानुपातिक समावेशीकरणका लागि स्पष्ट कानुन आवश्यक : न्यायाधीश मल्ल
-
विधेयक संशोधनमा प्रधानमन्त्रीको हस्तक्षेप छैन : सभापति खतिवडा