शनिबार, १२ असोज २०८१
ताजा लोकप्रिय

तेल उत्पादन घटाउँदा अमेरिकाले लगायो आरोप, साउदी अरबले दियो तिखो जवाफ

बिहीबार, २७ असोज २०७९, १० : २१
बिहीबार, २७ असोज २०७९

तेल उत्पादन घटाउने ओपेक प्लस देशहरूको निर्णय बारे केही आलोचना भएपछि साउदी अरबले अब एक विज्ञप्ति जारी गरेको छ । यसमा अमेरिकालाई विशेष निशाना बनाइएको छ । साउदी अरबले रुसको पक्षमा रहेको र अमेरिकाविरुद्ध राजनीति गरेको आरोप अस्वीकार गरेको छ ।

साउदी अरबको विदेश मन्त्रालयले भन्यो, ‘ओपेक प्लस निर्णय पछि साउदी अरब बारे आएका बयानमा साउदी अरब अन्तरराष्ट्रिय द्वन्द्वमा पक्ष लिइरहेको र ऊ अमेरिकाविरुद्ध राजनीतिक रुपले प्रेरित भएको बताइएको छ ।’

‘साउदी अरब यी बयानलाई कडाइका साथ अस्वीकार गर्दछ जुन तथ्यमा आधारित छैन र ओपेक प्लसका निर्णयलाई आर्थिक सन्दर्भ बाहिरको देखाउँछ । यो निर्णय ओपेक प्लस समूहका सबै सदस्य राष्ट्रहरूले सर्वसम्मतिले लिएका हुन् । यो निर्णय कुनै एउटा देशको होइन । यी निर्णयहरू आर्थिक आधारमा लिइन्छ ताकि तेल बजारमा माग र आपूर्तिको बीचमा सन्तुलन कायम होस् ।’

विज्ञप्तिमा भनिएको छ, ‘साउदी सरकारले अमेरिकी प्रशासनसँग लगातार भइरहेको कुराकानीमा स्पष्ट रुपमा ओपेक प्लसको निर्णयलाई एक महिना पछि सार्दा नकारात्मक आर्थिक नतिजा आउने बताएको थियो । यो निर्णय स्थगित गर्न सुझाव दिइएको थियो । युक्रेन संकटको सन्दर्भमा साउदी अरबको स्थिति बारे तथ्यलाई बङ्ग्याउनु दुर्भाग्यपूर्ण छ र यसले साउदी अरबको स्थितिलाई परिवर्तन गर्दैन । यसमा रुस–युक्रेन द्वन्द्वमा संयुक्त राष्ट्रसंघको प्रस्तावको समर्थनमा मतदान पनि समावेश छ ।’

विदेश मन्त्रालयले भन्यो, ‘साउदी अरबले देशको सार्वभौम क्षेत्रहरूमा कुनै पनि आक्रमण अस्वीकार गर्दछ । साउदी अरब एकातिर आफ्नो मित्र देशसँग बलियो सम्बन्धको पैरवी गर्छ त अर्कातिर विश्वव्यापी अर्थतन्त्रको सुरक्षाको राम्रो कारणलाई विकृत गर्ने प्रयासलाई अस्वीकार गर्दछ ।’

अक्टोबर ५ मा, ओपेक प्लसले तेल उत्पादन प्रति दिन २० लाख ब्यारेलले कटौती गर्ने घोषणा गरेको थियो । अमेरिकाले पहिले जस्तै तेल उत्पादन जारी राख्न धेरै प्रयास गरे पनि साउदी अरबलगायत ओपेक प्लस देशहरूले उत्पादन घटाउने निर्णय गरे ।

ओपेक प्लसको निर्णय पछि, अमेरिकी राष्ट्रपति जो बिडेनले साउदी अरबलाई तेल उत्पादन कटौती गर्ने ओपेक प्लसको निर्णयले ‘गम्भीर परिणाम’ निम्त्याउने चेतावनी दिए ।

अमेरिकाले ओपेक प्लसलाई रुसको पक्षमा रहेको आरोप लगाएको छ । ह्वाइट हाउसका प्रेस सेक्रेटरी क्यारिन–जीन–पियरेले मंगलबार भनिन्, ‘यो स्पष्ट छ कि ओपेक प्लस रूसको समर्थनमा छ ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप