मोरङमा ११ जनाद्वारा उम्मेदवारी फिर्ता
आगामी मंसिर ४ गते हुन लागेको प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनमा उम्मेदवारी दिएका मोरङका ११ जनाले आफ्नो उम्मेदवारी फिर्ता लिएका छन् । जसमा प्रतिनिधिसभा तर्फका ३ र प्रदेशसभाका ८ जना रहेका छन् । मोरङ क्षेत्र नम्बर १ बाट स्वतन्त्र उम्मेदवारी दिएकी सुजाता थापाले उम्मेदवारी फिर्ता गरेकी छिन् भने सोही निर्वाचन क्षेत्रको प्रदेशसभा २ बाट स्वतन्त्र उम्मेदवारी दिएका एमाले नेता डिल्लीराम शर्मा अधिकारीले पनि आफ्नो उम्मेदवारी फिर्ता लिएका छन् । अधिकारीले पार्टीले टिकट वितरणमा अन्याय गरेको भन्दै उम्मेद्वारी दिएका थिए । सो क्षेत्रमा एमाले नेता खड्ग बस्नेतलाई उम्मेदवार बनाएको छ ।
यस्तै मोरङ क्षेत्र नम्बर ३ (२)बाट प्रदेशसभामा स्वतन्त्र उम्मेदवारी दिएका माओवादी नेता तिलक प्रसाद राईले उम्मेदवारी फिर्ता लिएका छन् । सो क्षेत्रमा सत्ता गठबन्धनले नेकपा एसका उम्मेदवारलाई सघाउने भएको छ । यस्तै सोही क्षेत्रको स्वतन्त्र उम्मेदवार कञ्चनकुमार बुढाथोकीले पनि आफ्नो उम्मेदवारी फिर्ता लिएका छन् ।
यता मोरङ क्षेत्र नम्बर ४ का स्वतन्त्र उम्मेदवार गोकुल प्रसाद पोखरेलले पनि उम्मेदवारी फिर्ता लिएका छन् । सत्ता गठबन्धनबाट भएको भागबण्डामा असन्तुष्टि जनाउँदै क्षेत्र नम्बर ४ (२)बाट उम्मेदवारी दिएका नेकपा एसका पोलिटब्युरो सदस्य महेश रेग्मीले पनि आफ्नो उम्मेदवारी फिर्ता लिएका छन् । उनले पार्टीले आफूलाई उम्मेदवारी फिर्ता लिन भनेको भन्दै पार्टीको माथिल्लो समितिमा बसेको नेता आफैंले बागी उम्मेदवारी दिनु राम्रो नहुने लागेर उम्मेदवारी फिर्ता गरेको बताए । सो क्षेत्रमा सत्ता गठबन्धनले नेपाली काँग्रेसका उम्मेदवार भीम पराजुलीलाई सघाउने भएको छ ।
यस्तै मोरङ ५ (२)बाट स्वतन्त्र उम्मेदवार बनेका एमालेका नेता भूराज राईले उम्मेदवारी फिर्ता लिएका छन् । उनले एमाले र जसपाबीचको तालमेल हुँदा जसपालाई छोडेको भन्दै उम्मेदवारी दिएका थिए । जसपा छोडेर केही समयअगाडि एमाले प्रवेश गरेका राईले अन्तिममा भने आफ्नै उम्मेद्वारी फिर्ता लिएर जसपाका उम्मेद्वार जयराम यादवलाई समर्थन गरेका हुन् । प्रतिनिधिसभा सदस्यका लागि सोही क्षेत्रबाट स्वतन्त्र उम्मेदवारी दिएका एमाले नेता योगीलाल मण्डलले भने भने उम्मेदवार फिर्ता गरेका छैनन् । प्रतिनिधिसभामा एमालेले भने जसपाका उम्मेद्वार राजकुमार यादवलाई सहयोग गर्ने सहमति गरेको छ । उक्त निर्णयप्रति असहमति राख्दै मण्डलले उम्मेदवारी दिएका हुन् । सत्ता गठबन्धनबाट सो क्षेत्रमा माओवादी केन्द्रका नेता शिवकुमार मण्डलको उम्मेदवारी परेको छ ।
यस्तै मोरङ ६ मा लोकतान्त्रिक समाजवादी पार्टीबाट उम्मेदवारी दिएका राजु मण्डल राजवंशीले पनि उम्मेदवारी फिर्ता लिएका छन् । क्षेत्र नम्बर ६ (२)बाट उम्मेदवारी दिएका नेकपा एसका नेता वसिम आलम, स्वतन्त्र उम्मेदवारहरु जीवनकुमार गुप्ता र सुरेश कुमार श्रेष्ठले पनि आफ्नो उम्मेदवारी फिर्ता गरेका छन् ।
एमाले–जसपा सहमति पालना भएन
भागबण्डामा मोरङको क्षेत्र नम्बर ४ (२) र ६ (२) जसपालाई दिने सहमति गरेको एमालेले सो क्षेत्रमा पनि आफ्ना आधिकारिक उम्मेदवार उठाएको छ । यस्तै क्षेत्र नम्बर ५ को प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवार बनेका योगिलाल मण्डलको उम्मेदवारी कायम रहनुमा पनि एमालेका स्थानीय पार्टीको जोड रहेको छ ।
एमालेले मोरङ क्षेत्र नम्बर ४ (२) मा जसपाका उम्मेदवार संजय सिंहलाई सहयोग गर्ने सहमति भएको थियो । यद्यपि उम्मेदवारी दर्ता गर्ने दिन उक्त क्षेत्रमा एमाले नेता जीवन घिमिरेलाई एमालेले आधिकारिक उम्मेद्वार बनाएको छ । यस्तै क्षेत्र नम्बर ६(२) मा पनि जसपाका राजेन्द्र प्रसाद गुप्तालाई सहयोग गर्ने सहमति गरेको एमालेले अन्तिममा आफ्नै पार्टीको तर्फबाट कृष्ण बस्नेत (पर्शुराम बस्नेत)लाई उम्मेदवार बनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आज पाँच संसदीय समितिको बैठक बस्दै, यस्ता छन् कार्यसूची
-
मनाङको नेस्याङ केन्द्र बनाएर भूकम्पको धक्का
-
आज कुन तरकारी तथा फलफूलको मूल्य कति ? (सूचीसहित)
-
६ वर्ष बित्यो, सुरु भएन चक्रपथको दोस्रो खण्ड विस्तार
-
म्याग्दीको दोसल्ले गाउँबाट रु एक करोड ५० लाख बढीको सुन्तला बिक्री
-
झापामा शून्य खनजोत प्रविधिबाट मकैखेती