बिहीबार, ०६ वैशाख २०८१
ताजा लोकप्रिय

कर्णालीका ‘फ्लोर क्रस’ र बर्खास्तीमा परेकाहरु पुनः चुनावी मैदानमा

टिकट पाउन दल अदल–बदल
बुधबार, २६ असोज २०७९, १५ : ५७
बुधबार, २६ असोज २०७९

०७४ मा नेकपा (माओवादी केन्द्र) बाट प्रदेश सभा सदस्यमा निर्वाचित भएका दैलेखका धर्मराज रेग्मी आसन्न निर्वाचनका लागि एमालेबाट प्रतिनिधि सभामा सिफारिस भएका थिए । यद्यपि उनले प्रतिनिधि सभामा टिकट पाउन सकेनन् । 
अन्तिममा आएर उनी दैलेख क्षेत्र नम्बर १ (क) बाट कर्णाली प्रदेश सभाका लागि उम्मेदवार बनेका छन् । सो क्षेत्रबाट एमालेले प्रतिनिधि सभाका लागि रेग्मीसहित ३ जनाको नाम सिफारिस गरेको थियो । रेग्मी तीनै व्यक्ति हुन् तत्कालिन नेकपाभित्रको अन्तरसंघर्षमा आफ्नो दलका नेता महेन्द्रबहादुर शाहीलाई छाडेर एमालेको पक्षमा उभिएका थिए । 

अन्ततः २०७७, २३ फागुनमा सर्वोच्च अदालतले एमाले र माओवादी केन्द्रलाई ब्यूँताएपछि रेग्मी एमालेमै बसे । माओवादी केन्द्र संसदीय दलले उनलाई पदमुक्त गरिदियो । ०७४ मा क्षेत्र १ (क) बाट १० हजार ३६१ मत ल्याएर निर्वाचित भएका उनी अहिले एमालेबाट उम्मेदवार बनेर सोही क्षेत्रका मतदाता सामु मत माग्न जाँदै छन् ।

 हाल एमालेको केन्द्रीय सदस्य एवं केन्द्रीय कानून विभागका उपप्रमुख रहेका उनी आफ्नो जित सुनिश्चित रहेको दाबी गर्छन् । रातोपाटीसँग उनले भने, ‘मेरो त्यो विद्रोह जनताको पक्षमा थियो भने जनताले राम्रोसँग बुझेका छन् । र म जनताकै अपेक्षा स्वरुपमा उम्मेदवार बनेको हुँ ।’ 

उनीमात्र होइन् एमालेको बर्खास्तीमा परेका अन्य चार जना पनि पुनः चुनावी मैदानमा उत्रिएका छन् । तत्कालिन नेकपा हुँदा ‘फ्लोर क्रस’ गरेर महेन्द्रबहादुर शाहीलाई विश्वासको मत दिएका एमालेका नेताहरु पनि पुनः चुनावी मैदानमा होमिएका हुन । ‘फ्लोर क्रस’ गरेका प्रकाश ज्वाला सल्यान र अम्मरबहादुर थापा दैलेख क्षेत्र नं.–१ बाट एकीकृत समाजवादीबाट प्रतिनिधि सभाका लागि उम्मेदवार बनेका छन् भने कुर्मराज शाही एमालेबाट कालिकोट (क) बाट प्रदेश सभा सदस्य पदका लागि उम्मेदवार बनेका छन् । 

०७४ मा नन्दसिंह बुढासहित चारै जना एमालेबाट निर्वाचित भएका थिए । ०७८, ३ वैशाखमा महेन्द्रबहादुर शाहीलाई पार्टीको निर्णय विपरीत ‘फ्लोर क्रस’ गरेर विश्वासको मत दिएपछि एमालेले उनीहरुको सांसद पद खोसिदिएको थियो । मन्त्री बन्नकै लागि ‘फ्लोर क्रस’ गरेपछि उनीहरुको चर्को आलोचना समेत भयो । 

उनीहरुमाथि संसदीय इतिहासमकै विकृत अवस्था सृजना गरेको आरोप पनि लाग्ने गरेको छ । विश्वासको मत पाएपछि पूर्वमुख्यमन्त्री शाहीले प्रकाश ज्वाला बाहेकका तीन जनालाई ६ महिनाका लागि मन्त्री पद उपहार स्वरुप दिएका थिए भने ज्वाला त्यसअघि नै अर्थमन्त्री भइसकेका थिए । 

यस्तै अम्मर बहादुर थापा भौतिक पूर्वाधार, कुर्मराज शाही भूमि, व्यवस्था, कृषि तथा सहकारी र नन्दसिंह बुढा उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री भए । बुढा त्यसअघि नेकपा हुँदा पनि सोही मन्त्रालयको जिम्मेवारी सम्हालिसकेका थिए । एमाले विभाजनपछि चारैजना माधव कुमार नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी)मा लागे । 

समाजवादीले उचित मूल्यांकन गर्दै ज्वालालाई उपमहासचिव एवं प्रदेश इञ्चार्ज, थापालाई प्रदेश अध्यक्ष, शाहीलाई प्रदेश कमिटी उपसचिव एवं कालिकोट इञ्चार्ज र नन्दसिंह बुढालाई डोल्पाको अध्यक्ष समेत बनाएको थियो । यद्यपि आसन्न निर्वाचनमा टिकटको रस्साकस्सीकाबीच बुढा र कालीकोट इञ्चार्ज शाही एमालेमै फर्किएका छन् । डोल्पामा समाजवादीका धनबहादुर बुढाले प्रतिनिधि सभाको टिकट नछाड्ने भएपछि नन्दसिंहले पार्टी त्यागेका हुन् । १३ असोजमा एमाले महासचिव शंकर पोखरेलको हातबाट टिका, माला लगाएर एमाले प्रवेश गरेका उनले एमालेबाट टिकट भने पाउन सकेनन् । 

शाही उम्मेदवारी दर्ता गर्ने अघिल्लो दिनसम्म समाजवादीको प्रचार–प्रसार अभियानमा व्यस्त थिए । यद्यपि गठबन्धनको भागवण्डा अनुसार कालिकोटमा समाजवादीलाई भाग नपरेपछि उनी रातारात एमालेबाट टिकट लिएर प्रदेश सभाका लागि मनोनयन पत्र दर्ता गराए । उनी एमाले प्रवेश गरेको उनले दर्ता गराएको मनोनयन पत्र सार्वजनिक भएपछि मात्रै जानकारी भएको हो । 

तर उनको धुमिल राजनीति गतिविधिका कारण छवि विवादित छ । उता तीन दलीय गठबन्धन र उनी एक्लै हुँदा चुनाव जित्न उनलाई त्यति सहज भने छैन । ०७४ मा एमालेबाट उम्मेदवार बनेका उनी ११ हजार ९३५ मत ल्याएर निर्वाचित भएका थिए । त्यतिबेला उनले प्राप्त गरेको मत भनेको माओवादीको सहित हो । 

माओवादीको पकड क्षेत्र रहेको त्यहाँ गठबन्धनबाट माओवादी केन्द्रका दुर्गाबहादुर रावत उम्मेदवार छन् । रावत ०७४ मा प्रतिनिधि सभा जितेका व्यक्ति हुन् । महेन्द्रबहादुर शाही प्रतिनिधि सभामा जान खोजेपछि उनी प्रदेश झरेका हुन् भने उनी त्यहाँ बलिया छन् । 

यस्तै सांसद पद खोसिएका निवर्तमान प्रदेश सभा सदस्य ठम्मर विष्ट पनि पुनः प्रदेश सभाकै लागि चुनावी मैदानमा छन् । ०७४ मा माओवादीबाट सुर्खेत निर्वाचन क्षेत्र नम्बर १ (क) बाट १५ हजार ३५२ मत ल्याएर निर्वाचित भएका उनी एमालेबाट उम्मेदवार बनेका छन् । उनी गत चैत्रमा एमाले प्रवेश गरेका थिए । उनी एमाले प्रवेश गरेसँगै माओवादीले उनको सांसद पद खोसेको थियो । 

विष्टले गठबन्धनबाट उम्मेदवार बनेका कांग्रेसका खड्ग पोखरेलसँग प्रतिस्पर्धा गर्ने भएका छन् । कांग्रेस जिल्ला सभापति समेत रहेका पोखरेल र विष्टबीचको चुनावी प्रतिस्पर्धा भने रोचक हुने देखिएको छ । एमालेले उनलाई माओवादीको भोट समेत आफ्नो पक्षमा पार्ने उद्देश्यसहित मैदानमा उतारेको हो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

पंखबहादुर शाही
पंखबहादुर शाही
लेखकबाट थप