आइतबार, ०६ जेठ २०८१
ताजा लोकप्रिय

धौलागिरि हिमालको आधार शिविरमा हिउँमा पुरिएर ४५ खच्चड मरे

बुधबार, २६ असोज २०७९, १२ : १५
बुधबार, २६ असोज २०७९

म्याग्दीस्थित धौलागिरि हिमालको आधार शिविरमा हिउँले पुरिएर ४५ घोडा खच्चड मरेका छन् । विश्वको सातौँ (आठ हजार एक सय ६७) मिटर अग्लो धौलागिरि हिमाल म्याग्दीको धवलागिरि गाउँपालिका–४ मा पर्छ । आरोही र पर्यटकका सामग्री ढुवानी गर्न खच्चड लिएर आधार शिविरमा पुगेका मुस्ताङको घरपझोङ गाउँपालिका–२ मार्फाका नौजनाको उद्धार भएको छ । थमसेर्कु ट्रेकिङ कम्पनीले सामान ढुवानी गर्न लगेका १७  र साङ्ग्रिला टे«किङ कम्पनीको सामान लिन गएका २८  खच्चड मरेका हुन् ।

मुस्ताङको घरपझोङ गाउँपालिका–२ मार्फाका माइकल परियार, किरण परियार, सन्तोष तामाङ र धनराम तामाङलाई हेलिकप्टरले मङ्गलबार ताकममा ल्याएर छाडेको छ । बुद्धि , प्रकाश , कुमार , वीरबहादुर  र सुकलाल परियारलाई धौलागिरि आधार शिविरबाट उद्धार गरेर ताकममा ल्याइएको उद्धार गरिएका खच्चड माइकल परियारले बताए ।

“असोज १७ गते मार्फाबाट हिँडेर आधार शिवरमा पुगेर आरोहीका सामान लिएर फर्कने क्रममा बर्सात र हिमपात भएपछि हिउँमा फसेर सम्पर्कविहीन भयौँ”, उनले भने, “हामी पनि चार दिन ठाटीमा भोकै बस्यौँ । खान नपाएर र चिसोले गर्दा खच्चड मरेका हुन् ।”  

चारजना पर्यटक पथ प्रदर्शकलाई अल्टिच्युट एयरको हेलिकप्टरले उद्धार गरेर पोखरा लगेको छ । उद्धारमा समन्वय गरेका म्याग्दीका पर्यटन व्यवसायी इन्द्रसिंह शेरचनले लगातारको झरी, हिमपात र प्रतिकूल मौसमका कारण उद्धारमा ढिलाइ भएको बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप