राष्ट्रको ऐनामा हरेकको मुहार देखिन्छ त ?
सांस्कृतिक बहुलता विविधतापूर्ण र समुन्नत समाजको श्रोत हो । यो ज्ञानमा आधारित अर्थतन्त्रको मौलिक आधार समेत हो । विविधता समस्या नभएर अवसर हो र विविध सम्भावनाहरुको द्वार हो । तथापि यसको व्यवस्थापन कहिलेकाहीँ विभिन्न हिसाबले चुनौतीपूर्ण हुन सक्दछ । उपर्युक्त नीति, सबल सांस्कृतिक चेतना र सुझबुझपूर्ण अभ्यासद्वारा यसको प्रभावकारी व्यवस्थापन गर्न सकिन्छ । अनि संघीयता त्यही विविधता व्यवस्थापनको एक सकारात्मक प्रयास हो ।
साना खोलाहरु मिसिएर ठूलो नदी बन्नु समावेशिता हो भने त्यो नदीभित्र ती खोलाहरुको चिनारी कायम रहनु तिनीहरुको पहिचान हो । पहिचान र अधिकार सहितको समावेशिताले सांस्कृतिक विविधताको संरक्षण गर्दै, हरेक संस्कृतिको अस्तित्व र स्वाभिमानको रक्षा गर्ने र साँचो अर्थमा राष्ट्रिय एकतालाई सबल बनाउने कार्य गर्दछ ।
तर विडम्वनाको कुरो मानवलाई संरचनात्मक रुपमै सिर्जित श्रेणीहरुमा जवरजस्ती विभक्त गर्दा मानवताकै अपमान हुन जान्छ । विभिन्न खालका नकारात्मक विम्व, कथ्य र मिथकहरुद्वारा आफू बाहेककालाई विभिन्न नाममा नीच वा तुक्ष देखाउने अभ्यासले संस्कृतिको युगसापेक्ष विकासमा बाधा पुर्याउँछ ।
हरेक जातजाति आफ्नै पृथक र समृद्ध संस्कृति, इतिहास र पहिचान सहितको संगठित समूह हो । हरेक जातसंग जोडिएका सांस्कृतिक विशेषता र जीवन व्यवस्थापनका विधिहरु आफैमा अमूल्य छन् । ती हाम्रो सांस्कृतिक विविधता, पृथक पहिचान र पुरातन ज्ञान र अझ भनौं पूर्वीय दर्शनको अमूल्य श्रोत पनि हुन् । सांस्कृतिक चेतना, सहअस्तित्व, स्वीकार्यता, अन्तरनिर्भरता, आपसी सम्मान र सहकार्य जातीय सद्भावका आधार हुन् । समावेशी शिक्षा अन्तर्गतको संस्कृति सापेक्ष शिक्षणले यी आधारहरुको सबलीकरण गर्नमा सहयोग पुर्याउँछ ।
नेपाल बहुभाषिक र बहुसांस्कृतिक राष्ट्र हो र यसैको प्रतिबिम्ब विद्यालयदेखि विश्वविद्यालय सम्मका हरेक तहका कक्षाकोठामा पाइन्छ । अर्को शब्दमा भन्नुपर्दा समाजमा भएको जातीय, भाषिक, लैङ्गिक, धार्मिक, क्षेत्रीय तथा सांस्कृतिक विविधताबारे व्याख्या विश्लेषण गरिन्छ ।
तर विद्यार्थीका विविधताले सधैँ भाषण दिने अनि विद्यार्थीहरु मुकदर्शक भएर त्यही श्रवण गर्ने अनि कण्ठ गरेको लेखेर अंक हासिल गर्ने पुरातन कर्मकाण्डी शिक्षण सिकाइले न त कक्षा कोठाको विविधता र जटिलतालाई सम्बोधन गर्छ, न यसले एक्काईसौं शताब्दीको युगसापेक्ष जनशक्ति उत्पादन गर्न सक्छ ।
अझ भनौ यस्तो शिक्षण पद्धतिले त हाम्रोजस्तो बहुलतामुलुक समाजमा बहुसांस्कृतिक मानिसहरु आपसी सद्भावका साथ मिलेर बस्ने वातावरण समेत बनाउन सक्दैन । किनभने यसको सुरुवात कक्षाकोठाको सौहार्द वातावरणबाट गर्नुपर्ने हुन्छ । यसका लागि बहुभाषिक शिक्षण पनि चाहिन्छ ।
अर्थात् विविध पृष्ठभूमिका सहपाठीहरुबीच कायम हुने आपसी सद्भाव, सहयोग, सहकार्य र सौहार्द सम्बन्धले समाजको विविधतामा मानिसलाई मिलेर बाँच्न र संगै हातमा हात मिलाएर अघि बढ्न सक्ने बनाउँछ । यसले सामाजिक एकता, शान्ति, र प्रगतिमा सार्थक योगदान पुर्याउन सक्ने कुरामा कुनै दुइमत छैन । तर एकोहोरो अनि संस्कृति र परिवेश निरपेक्ष शिक्षणले सर्टिफिकेटधारी असक्षम र बेरोजगारहरुको भीड मात्र उत्पादन गर्ने कार्य गर्दछ ।
अन्वेषक लेन वार्टनका अनुसार समावेशी शिक्षा समाजका सबै सदस्यहरुको सवलीकरणमा भिन्न र अनौठो लाग्ने विचारहरुको स्वीकारोक्तिमा, विद्यमान बहुलताको सम्बोधन गर्ने कुरामा र एक अर्काका भिन्नतालाई स्वीकार र सम्मान गर्ने कुरामा केन्द्रित रहन्छ । त्यस्तै जेनेभा गेका अनुसार संस्कृति सापेक्ष शिक्षणले घर परिवार र शिक्षण संस्थाको परिवेशलाई अर्थात् शिक्षण सिकाईलाई सामाजिक सांस्कृतिक वास्तविकतासंग जोड्ने काम गर्दछ ।
हाम्रो देशको सन्दर्भमा हेर्दा यहाँका बहुजातीय र बहुसांस्कृतिक मानिसहरुका आफ्नै मौलिक विशेषता, जीवन पद्धति, परम्परागत पेशा, आस्था र विश्वास, चाडपर्व, आफ्नै ऐतिहसिक पृष्ठभूमि र अरुलाई हेर्ने आफ्नै दृष्टिकोण रहेका छन् । यी कुराहरुको खोज र अनुसन्धान गरी संस्कृति सापेक्ष पाठ्यक्रमको विकास गर्नु र त्यही अनुसारकै शिक्षण विधि अपनाउन नितान्त आवश्यक छ ।
आयातित दर्शन र सिद्धान्तहरु भन्दा हाम्रै बहुलताबीच अन्तर्निहित जीवनदर्शन र जीवन पद्धति हाम्रो आफ्नो परिपेक्षमा बढी सान्दर्भिक हुन सक्दछन् । तर यसो भन्दै गर्दा सांस्कृतिक सवालमा जड्सुत्रवादी बन्नुपर्ने कुराको वकालत गर्न भने खोजिएको होइन । विश्वव्यापीकरणको वर्तमान युगमा हामी हाम्रो निरपेक्ष, एकल र विश्वपरिवेशबाट अलग्गिएको अस्तित्वको परिकल्पना गर्न सक्दैनौ ।
वर्तमान युगमा देशहरु एकअर्कामा अन्तरनिर्भर र एक अर्कासंग विभिन्न माध्यमद्वारा जोडिएका छन्, जसले गर्दा भौगोलिक सिमाहरु पातलिदै एवं कम प्रभावकारी बन्दै गैरहेका छन् । अर्कोतर्फ अहिले राष्ट्रको अस्तित्व राज्यका सिमानाहरुभित्र मात्र सीमित छैन । यस्तो परिवेशमा आपसी अन्तरसम्बन्धद्वारा फाइदा लिने सम्भावना एकातिर छ भने सांस्कृतिक अतिक्रमणको सम्भावना त्यत्तिकै जोडदार छ । यसरी सांस्कृतिक विविधता र मौलिकता गुमाएर पहिचानको संकट निम्तिन सक्ने सम्भावनालाई पनि हामी नकार्न सक्दैनौ ।
संस्कृति सापेक्ष शिक्षण मूलतः ‘क्रिटिकल पेडागोजी’को एउटा अभिन्न अंग हो । प्रगतिशील शिक्षण विधिहरु संस्कृति र समय सापेक्ष हुने गर्दछन् । सांस्कृतिक अन्वेषण र भ्रमण गराउने, आफ्नो आफ्नो सांस्कृतिक अनुभव अभिव्यक्त गर्न लगाउने, सांस्कृतिक प्रवचन आयोजना गर्ने कार्य निरन्तर हुनुपर्छ ।
साथै, विविध संस्कृतिका शिक्षक नियुक्त गर्ने, सांस्कृतिक विषयबस्तुमा प्रतिष्पर्धात्मक कार्यक्रम आयोजना गर्ने, सबै संस्कृतिका चाडपर्व सम्भव भएसम्म मनाउने र तिनका खोजमुलक प्रस्तुति आयोजना गर्ने, विद्यालयमा अभिभावकहरुको संलग्नता बढाउने, पारिवारिक जीवनसंग सम्बन्धित परियोजना कार्यहरु गर्न र प्रस्तुत गर्न लगाउने जस्ता क्रियाकलाप चाहिन्छ । यसले विद्यार्थीहरुको बहुलतामुलक समाजबारेको बुझाइ र सांस्कृतिक सुझबुझमा अभिवृद्धि गर्छ ।
बहुलतामुलक समाजबारेको बुझाइले उनीहरुलाई आफ्नो समाजमा महत्वपूर्ण सदस्य बन्न र सार्थक जीवन बाँच्न मद्दत पुर्याउँछ । विविध जनजाति र बहुल संस्कृतिका मानिसहरुको ज्ञान, सीप र क्षमताको प्रवद्र्धन र संरक्षण गर्दै त्यसलाई राष्ट्र र सम्पूर्ण मनाव जातिको उत्थानको लागि प्रयोग गर्नु संस्कृति सापेक्ष शिक्षाको अभीष्ट हो ।
अन्य जात, धर्म, संस्कृति र क्षेत्रका मानिसहरुको बारेमा परम्परागत रुपमा हाम्रो मानसपटलमा जुन नकारात्मक बिम्ब सिर्जना गरिएको छ, त्यसले हामीहरुबीच विभाजनका रेखा कोरेर हामीलाई एक भएर अगाडि बढ्न दिदैन । तर बहुसांस्कृतिक वा संस्कृति सापेक्ष शिक्षणले विद्यार्थीहरुलाई विविध संस्कृतिहरुसंग सात्क्षात्कार गराउँछ । खोजमुलक वा अनुसन्धानमुलक शिक्षण बिधिद्वारा एक अर्कालाई राम्रोसंग बुझ्ने, स्वीकार्ने र सहकार्य गर्ने वातावरणको सिर्जना गर्ने र त्यसको अभ्यास गराउने कार्य गर्दछ ।
जातीय रुपमा हामीसंग विभिन्न पेशा पनि जोडिएका छन् । तिनको पहिचान र प्रवद्र्धनसंगै आत्मगौरवका साथ आफ्नो सांस्कृतिक पेशामा लाग्ने, हरेकको श्रमको सम्मान गर्ने र तिनलाई आर्थिक उन्नतिको सवल आधार बनाउने वातावरण संस्कृति सापेक्ष शिक्षाले निर्माण गर्दछ ।
त्यस्तै हाम्रो मौलिकता र पहिचानको संरक्षणमा दृढ हुँदै कुन हदसम्म विश्वव्यापीकरणको तरङ्गलाई पछ्याउने भन्ने कुरा पनि यसको एक महत्वपूर्ण पक्ष हो । यही नै आजको शिक्षण क्षेत्रको टड्कारो आवश्यकता पनि हो ।
यसरी हाम्रो संस्कृतिक विविधताको उपयुक्त व्यवस्थापन गरी अधिकाधिक सामाजिक हित सुनिश्चित गर्नको लागि संस्कृति सापेक्ष शिक्षणको ठूलो महत्व रहेको छ ।
लेखक ब्रेन गेन सेन्टर नेपालका प्रथम संयोजक हुन्
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पूर्णबहादुरको सारङ्गी : ‘बा’को कथा कि गन्धर्व लोकजीवनको उजागर ?
-
दुई सय ८५ जना कैदीबन्दीलाई ‘प्यारोल’मा राख्न सिफारिस
-
भाटभटेनी र रिन्यु होल्डिङ्सबिच सौर्य विद्युत् उत्पादनको सम्झौता
-
सात लाख बढीको भन्सार छलीको समान बरामद
-
सञ्चालन नहुँदै जीर्ण भयो कुश्मा बसपार्क
-
घट्न थाल्यो डेंगु सङ्क्रमण, जोखिम कायमै रहने