शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

बागमती प्रदेशमा कांग्रेसका १८ मध्ये ५ जना नयाँ अनुहार

बुधबार, २६ असोज २०७९, ०७ : १४
बुधबार, २६ असोज २०७९

आगामी निर्वाचनमा नेपाली कांग्रेसले प्रतिनिसिधसभातर्फ बागमती प्रदेशबाट १८ सिटमा ५ जना नयाँ अनुहारलाई चुनावी मैदानमा उतारेको छ । सत्ता गठबन्धनमा भागबण्डा हुँदा प्रतिनिधिसभातर्फ बागमती प्रदेशको ३३ वटा सिटमध्ये कांग्रेसको भागमा परेको १८ सिटमा ५ जना नयाँ र बाँकी १३ सिटमा पुराना नेतालाई उम्मेदवार बनाएको हो ।

कांग्रेसले प्रतिनिधिसभा सदस्य पदका लागि चितवन, भक्तपुर, सिन्धुलीको एक÷एक र काठमाडौंको २ वटा क्षेत्रमा नयाँ उम्मेदवार उठाएको हो । कांग्रेसले चितवन–१, भक्तपुर–२, काठमाडौं– ३ र ५, सिन्धुली–१ मा नयाँ उम्मेदवारलाई अघि सारेको छ भने चितवन–२, काभ्रे–२, काठमाडौं–१, ४, ६, १०, रसुवा, नुवाकोट–२, सिन्धुपाल्चोक–२, धादिङ–२, मकवानपुर–१, ललितपुर–१ र रामेछापमा पुराना नेतालाई नै अवसर दिएको छ ।

कांग्रेसले चितवन–१ विश्व पौडेललाई उम्मेदवार बनाएको छ । उनी पहिलो पटक चुनावी मैदानमा होमिएका छन् । कांग्रेसले सो क्षेत्रबाट प्रतिनिधिसभा सदस्य पदको उम्मेदवार बनाउन उनलाई राष्ट्रिय योजना आयोगको उपाध्यक्ष पदमाबाट राजीनामा गराएको थियो । सो क्षेत्रमा २०७० र २०७४ को निर्वाचनमा कांग्रेसका राजेन्द्रप्रसाद बुर्लाकोटी उम्मेदवार बन्दै आएका थिए । यस पटक पनि बुर्लाकोटीले सो क्षेत्रमा दाबी गरे पनि पार्टीले पौडेललाई टिकट दियो ।

त्यस्तै कांग्रेसले भक्तपुर–२ मा पनि नयाँ अनुहारलाई उम्मेदवार बनाएको छ । भक्तपुर–२ बाट कांग्रेसले दुर्लभ थापालाई उम्मेदवार बनाएको छ । कांग्रेसले टिकट दिएसँगै उनी पहिलो पटक संसदीय निर्वाचनमा होमिएका छन् । २०७४ को निर्वाचनमा सो क्षेत्रबाट कांग्रेसका दमननाथ ढुंगाना उम्मेदवार थिए । कांग्रेस भक्तपुरका सभापतिसमेत रहेका थापालाई आगामी निर्वाचनमा नयाँ अनुहारका रुपमा अघि सारिएको हो ।

कांग्रेसले काठमाडौं–३ मा पनि नयाँ अनुहारलाई स्थान दिएको छ । कांग्रेसले प्रतिनिधिसभातर्फ काठमाडौं–३ मा सन्तोष चालिसेलाई उम्मेदवार बनाएको छ । उनी पहिलो पटक चुनावमा प्रतिस्पर्धा गर्दै छन् । चालिसे २०७४ को स्थानीय तहको निर्वाचनमा गोकर्णेश्वर नगरपालिकाको मेयर पदमा निर्वाचित भएका थिए । मेयर पदको ५ वर्षे कार्यकाल सकेर उनले संघीय संसदमा चुनाव लड्ने अवसर पाएका हुन् ।

कांग्रेसले काठमाडौं–५ मा पनि नयाँ अनुहारलाई उम्मेदवार बनाएको छ । सो क्षेत्रमा कांग्रेसबाट प्रदीप पौडेल उम्मेदवार बनेका छन् । संसदीय निर्वाचनमा उनको यो दोस्रो प्रतिस्पर्धा भए पनि प्रतिनिधिसभातर्फ भने उनको पहिलो चुनावी लडाइँ हो । उनी यसअघि गण्डकी प्रदेशसभा सदस्य पदका लागि २०७४ को निर्वाचनमा तनहुँ–२ (क)बाट प्रतिस्पर्धा गरेका थिए । सो निर्वाचनमा उनी माओवादी केन्द्रकी आशा कोइरालासँग पराजित भएका थिए ।

कांग्रेसले सिन्धुलीमा पनि नयाँ व्यक्तिलाई चुनावमा उतारेको छ । सिन्धुली–१ मा कांग्रेसबाट श्यामकुमार घिमिरे उम्मेदवार बनेका हुन् । संघीय संसदीय निर्वाचनमा उनको यो पहिलो प्रतिस्पर्धा हो । २०७४ को निर्वाचनमा उनी सिन्धुली–१ (ख)बाट बागमती प्रदेशसभा सदस्य पदका उम्मेदवार थिए । सो निर्वाचनमा उनलाई एमालेका प्रदीप कुमार केसीले पराजित गरेका थिए ।

कांग्रेसले चितवन–२ मा दुई पटक सांसद भइसकेका उमेश श्रेष्ठ, काभ्रे–२ मा २०५६ को निर्वाचनमा निर्वाचित भएका र २०७० को दोस्रो संविधानसभा निर्वाचनमा पराजित भएका शिवप्रसाद हुमागाईं, काठमाडौं–४ बाट यसअघि निर्वाचित भइसकेका गगनकुमार थापा, काठमाडौं–१ मा २०६४, २०७०, २०७४ को निर्वाचनमा विजयी भएका प्रकाशमान सिंह, काठमाडौं–६ मा २०६४ को निर्वाचनमा पराजित भएका तथा २०७० र २०७४ को निर्वाचनमा जितेका भीमसेनदास प्रधान, काठमाडौं–१० मा २०६४ बाट संसदीय निर्वाचन लडेर पराजित भएका र २०७० र २०७४ मा विजयी भएका राजेन्द्र कुमार केसीलाई उम्मेदवार बनाएको छ ।

त्यस्तै कांग्रेसले रसुवाको एक मात्र निर्वाचन क्षेत्रमा २०७४ को निर्वाचनमा निर्वाचित भएका मोहन आचार्य, नुवाकोट–२ मा पुराना नेता अर्जुननरसिंह केसी, २०५६ र २०७० को निर्वाचन जितेका मोहनबहादुर बस्नेतलाई सिन्धुपाल्चोक–२ बाट उम्मेदवार बनाएको छ ।

त्यसैगरी ललितपुर–१ मा २०६४ र २०७४ को निर्वाचनमा पराजित भएका तथा २०७० मा जित हात पारेका उदयशमशेर राणा, रामेछापबाट यसअघि पनि प्रतिस्पर्धा गरेका कान्छाराम तामाङ, धादिङ–२ मा २०५६ को निर्वाचन जितेका तथा २०६४, २०७० को निर्वाचनमा पराजित भएका रामनाथ अधिकारी, २०४८ सालदेखि विभिन्न निर्वाचनमा पराजित भएकी महालक्ष्मी उपाध्याय ‘डिना’लाई मकवानपुर–१ बाट कांग्रेसले उम्मेदवार बनाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

गणेश दुलाल
गणेश दुलाल
लेखकबाट थप