आइतबार, १३ असोज २०८१
ताजा लोकप्रिय

भारतको मद्रास सेक्युरिटीले पायो अन्तःशुल्क स्टिकर छपाइको जिम्मा, साढे ९ अर्ब पिस छापिने

मङ्गलबार, २५ असोज २०७९, २० : ३०
मङ्गलबार, २५ असोज २०७९

अन्ततः अन्तःशुल्क स्टिकर छपाइको जिम्मा भारतको मद्रास सेक्युरिटी प्रिन्टर्स कम्पनीले पाएको छ । करिब ३ वर्षदेखि रोकिएको अन्तःशुल्क स्टिकर छपाइएको जिम्मा सोमबार आन्तरिक राजस्व विभागले मद्रास कम्पनीलाई दिएको हो ।

सोमबार विभाग र मद्रास कम्पनीबीच भएको सम्झौतामा एक वर्ष भित्र साढे ९ अर्ब थान अन्तःशुल्क स्टिकर छपाइ गर्ने सम्झौता भएको विभागका महानिर्देशक रितेश शाक्यले रातोपाटीलाई जानकारी दिए । एक वर्षभित्रै तोकिएको स्टिकर छपाइ गरी सकिने सम्झौता भएपनि कम्पनीसँगको सम्झौता भने २ वर्षका लागि गरिएको शाक्यको भनाइ छ । 

सम्झौता अनुसार मद्रास सेक्युरिटी कम्पनीले एक वर्षभित्र ४२ प्रकारका ग्लू टास्न पर्ने र नपर्ने गरी ९ अर्ब ७७ करोड थान स्टिकर उपलब्ध गराउनुपर्नेछ । सो स्टिकरले कम्तीमा दुईदेखि तीन वर्षको माग धान्ने आन्तरिक राजस्व विभागको अनुमान छ । 

विभाग र मद्रास प्रिन्टिङबीच कुल १ करोड ८ लाख अमेरिकी डलरमा स्टिकर छपाइसम्बन्धी सम्झौता भएको हो । सम्झौता बमोजिम रकम उपलब्धता गराउन विभागले अर्थमन्त्रालयसँग बजेट माग गरिसकेको छ । 

दुई–तीन वर्ष यता अन्तःशुल्क स्टिकरको अभावमा विभागले ठुला बाहेक साना तथा खुद्रा मदिरा तथा सुर्तीजन्य वस्तुहरूमा अन्तःशुल्क स्टिकर टाँस गर्न सकिरहेको थिएन । हालसम्म जनक शिक्षा छापा खानाबाट अन्तःशुल्क स्टिकर छपाइ गरेर काम चलाइरहेकोमा अब भने पर्याप्त स्टिकर प्राप्त गर्न सकिने शाक्यले बताए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप