सोमबार, १० मङ्सिर २०८१
ताजा लोकप्रिय

प्रदेश १ मा यी नेता भावी मुख्यमन्त्रीको दौडमा

मङ्गलबार, २५ असोज २०७९, १७ : ११
मङ्गलबार, २५ असोज २०७९

प्रदेश १ को भावी मुख्यमन्त्रीको आकांक्षामा चार पार्टीका झण्डै दर्जन नेताले निर्वाचन लड्दैछन् । आकाँक्षा राख्नेहरुमा सबैभन्दा धेरै नेपाली काँग्रेसका नेता रहेका छन् । मोरङ क्षेत्र नम्बर ५ (ख)बाट उम्मेदवार बनेका अमृत अर्याल काँग्रेसका केन्द्रीय सदस्य हुन् । यसअघि दुई पटक संघीय सांसद बनिसकेका अर्याल गठबन्धन दल माओवादीलाई संघीय निर्वाचन क्षेत्र दिनुपरेपछि मुख्यमन्त्री बन्ने शर्तमा प्रदेशमा लडेका हुन् ।

 यस्तै काँग्रेस प्रदेश १ का संसदीय दलका नेता रहिसकेका राजिव कोइराला पनि मुख्यमन्त्रीको दौडमा छन् । कोइराला सुनसरी क्षेत्र नम्बर २ (ख)बाट उम्मेदवार बनेका छन् । उनी यसअघि पनि सोही निर्वाचन क्षेत्रबाट विजयी बनेका थिए । यस्तै नेपाली काँग्रेसका युवा नेता गुरुराज घिमिरे पनि मुख्यमन्त्रीको दौडमा छन् । उनी मोरङको क्षेत्र नम्बर ४ (क)बाट उम्मेदवार बनेका छन् । घिमिरेका लागि संसदीय निर्वाचनको पहिलो अनुभव हो । यस्तै काँग्रेसका प्रदेश १ सभापति उद्धब थापा पनि मुख्यमन्त्रीको दौडमा छन् । थापा काँग्रेसको समानुपातिक कोटाबाट सांसद बन्ने सूचीमा छन् । उनको नाम खस आर्य कोटाको १ नम्बरमा राखिएको छ । 

यस्तै काँग्रेसबाटै मुख्यमन्त्रीको दौडमा रहेका अर्का नेता हुन् भीम पराजुली । पराजुली मोरङ क्षेत्र नम्बर ४ (ख)बाट उम्मेदवार बनेका छन् । पराजुली विराटनगर महानगरपालिकाका पूर्व प्रमुख पनि हुन् । काँग्रेसबाट ६ जना नेता नै मुख्यमन्त्रीको दौडमा रहेको भएपनि अन्तिममा अर्याल नै बन्नसक्ने विश्लेषण छ । अर्याल र थापा पार्टी सभापति शेरबहादुर देउवा पक्षका हुन् । गुरु घिमिरे र राजिव कोइराला संस्थापन इतरका नेता हुन् भने पराजुली पार्टीका नेता कृष्ण सिटौला गुटका हुन् ।

यस्तै अर्को ठूलो पार्टी नेकपा एमालेबाट पनि मुख्यमन्त्रीको दौडमा दुई नेता देखिएका छन् । झापा क्षेत्र नम्बर ५ (ख)बाट उम्मेदवार बनेका हिक्मतकुमार कार्की तथा मोरङ क्षेत्र नम्बर ४ (ख)बाट उम्मेदवार बनेका जीवन घिमिरे मुख्यमन्त्रीको दौडमा छन् । केपी ओलीको निर्वाचन क्षेत्रबाट उम्मेदवार बनेका कार्की नै मुख्यमन्त्री बन्ने बढी सम्भावना भएका नेता हुन् । 

यसअघि उनी प्रदेश १ को शेरधन राई नेतृत्वको मन्त्रिपरिषद्मा दोस्रो वरीयताको मन्त्री बनिसकेका छन् । कार्की एमालेका स्थायी समिति सदस्य समेत हुन् । ‘यसअघि पनि दोस्रो हैसियतको मन्त्री बनिसकेको र प्रदेशमा उठ्ने सिनियर नेता नै म भएको कारण मुख्यमन्त्रीमा मेरो स्वभाविक दाबी रहन्छ,’ कार्कीले भने । 

यता, जसपासँगको गठबन्धनका क्रममा मोरङको ४ (ख) गुमिसकेको टिकट अन्तिम समयमा घिमिरेले फिर्ता ल्याएका हुन् । उक्त उम्मेदवारी फिर्ता हुने नहुने विषयमा अझै अन्यौल कायमै रहेको बेला घिमिरेका लागि मुख्यमन्त्री बन्ने सपना अधुरै हुने सम्भावना छ । घिमिरे यसअघि पनि सोही निर्वाचन क्षेत्रबाट विजयी भएका थिए ।

 घिमिरे पनि यसअघि शेरधन राई नेतृत्वको सरकारको पालामा सामाजिक विकासमन्त्री बनेका थिए । उनले तत्कालिन केपी शर्मा ओलीले संसद विघटन गरेपछि असन्तुष्टि व्यक्त गर्दै पदबाट राजीनामा दिएका थिए । यद्यपि एमालेका १० नेताले एमालेको संस्थापन पक्षसँग १० बुँदे सहमति गरेपछि घिमिरे एमालेमै रहेका हुन् ।

यस्तै माओवादी केन्द्र मुख्यमन्त्रीको दौडमा रहेका नेता हुन् इन्द्रबहादुर आङ्बो । आङ्बो हाल पनि प्रदेश १ को सरकारका आर्थिक मामिला तथा योजना मन्त्री छन् । दुईपटक मन्त्री बनिसकेका आङ्बो सबैभन्दा बढी समय मन्त्री हुने नेतामा पर्दछन् ।

 लामो समय मन्त्री भएर पनि निर्विवाद रहेका उनी आफ्नो पक्षमा काम गराउन सक्ने नेता मानिन्छन् । हालको मन्त्रिपरिषद् पनि आङ्बोकै योजनामा चल्ने गरेको कतिपय बताउँछन् । चलाख र कुटनीतिक मानिने आङ्बो पाँचथरको निर्वाचन क्षेत्र १ (ख)बाट उम्मेद्वार बनेका छन् । यसअघि पनि आङ्बो सोही निर्वाचन क्षेत्रबाट विजयी भएका थिए । माओवादी केन्द्रबाट मुख्यमन्त्री बन्ने दौडमा हालसम्म अन्य नेताले मुख खोलेका छैनन् । 

यस्तै नेकपा (एकीकृत समाजवादी)बाट मुख्यमन्त्रीको दौडमा रहेका एकमात्रै नेता राजेन्द्रकुमार राई हुन् । राई हालका बहालवाला मुख्यमन्त्री पनि हुन् । राई भोजपुरको १ (क)बाट उम्मेदवार बनेका छन् । यसअघि पनि उनले सोही निर्वाचन क्षेत्रबाट विजयी बनेका थिए । यसपटक प्रतिनिधिसभाको उम्मेदवार बन्ने चाहना राखेका राईका लागि मुख्यमन्त्री बनाउने शर्तमा टिकट लिएको नेकपा एसका कार्यकर्ता बताउँछन् । 

यद्यपि भोजपुरको संघीय निर्वाचन क्षेत्रबाट यसअघि विजयी बनेका सुदन किराँती नै उम्मेदवार बन्ने सत्ता गठबन्धनमा सहमति बनेपछि उनी प्रदेशमा झर्न बाध्य भएका हुन् ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

अर्जुन आचार्य
अर्जुन आचार्य
लेखकबाट थप