बिहीबार, ०६ वैशाख २०८१
ताजा लोकप्रिय

लुम्बिनी प्रदेशमा संघका ३ र प्रदेशका ६ मन्त्री चुनावी मैदानमा

मङ्गलबार, २५ असोज २०७९, १६ : ०५
मङ्गलबार, २५ असोज २०७९

तेजेन्द्र केसी

बुटवल । लुम्बिनी प्रदेशमा बहालवाला ९ जना मन्त्री चुनावी मैदानमा होमिएका छन् । तीमध्ये ३ जना संघीय मन्त्री छन् भने ६ जना प्रदेश सरकारका मन्त्री हुन् ।

बाँके क्षेत्र नम्बर २ बाट भौतिक पूर्वाधार मन्त्री मोहम्मद इस्तियाक राई, रुपन्देही क्षेत्र नम्बर ३ बाट गृहमन्त्री बालकृष्ण खाँण र दाङ क्षेत्र नम्बर १ बाट सहरी विकास मन्त्री मेटमणि चौधरी प्रतिनिधिसभा सदस्य पदका लागि उम्मेदवार छन् । २०७४ को निर्वाचनमा खाण समानुपातिकतर्फबाट निर्वाचित भएका थिए भने राई र चौधरी अहिले उठेकै निर्वाचन क्षेत्रबाट प्रत्यक्षतर्फ निर्वाचित भएका थिए ।

सत्तारुढ गठबन्धनबाट उम्मेदवार बनेका गृहमन्त्री खाणले रुपन्देही–३ मा एमाले–राप्रपा गठबन्धनबाट उम्मेदवार बनेका राप्रपाका दीपक बोहरासँग प्रतिस्पर्धा गर्नुपर्ने छ ।

बाँके–२ मा मन्त्री राईले जसपाबाट उम्मेदवारी दिएका छन् । उनले राप्रपा नेता धवल शमशेर राणा र नेपाली कांग्रेसमा सुदिप नरसिंह राणासँग प्रतिस्पर्धा गर्नुपर्नेछ ।

दाङ–१ मा मन्त्री चौधरीले एमालेकी शान्ता चौधरीसँग प्रतिस्पर्धा गर्नेछन् ।

प्रदेशका को–को मन्त्री चुनावी मैदानमा ?

लुम्बिनी प्रदेशमा गठबन्धन सरकारको नेतृत्व गरेका मुख्यमन्त्री कुलप्रसाद केसी आसन्न निर्वाचनमा उम्मेदवार बनेनन् ।

उनकै नेतृत्वको मन्त्रिपरिषदमा रहेका कांग्रेसका सबै मन्त्री आसन्न निर्वाचनका लागि उम्मेदवार बनेका छन् । नेकपा माओवादी केन्द्रबाट सरकारमा सामेल भएर प्रदेश सरकारको स्वास्थ्य मन्त्रालयको जिम्मेवारी सम्हालेका इन्द्रजित थारु दाङ क्षेत्र नम्बर १ को (क) तर्फ प्रदेशसभा सदस्य पदमा उम्मेदवार बनेका छन् । माओवादी केन्द्रबाट अन्य मन्त्री उम्मेदवार भएनन् ।

नेपाली कांग्रेसका तर्फबाट मन्त्री बनेका पर्यटन, ग्रामीण विकास तथा सहरी विकास मन्त्री डिल्ली चौधरी दाङ–३ (क)मा प्रदेशसभा सदस्य पदमा उम्मेदवार बनेका छन् । शिक्षा मन्त्री बसीउद्दिन खानले रुपन्देही–४ (ख) मा, जलस्रोत तथा सिंचाई मन्त्री वीरबहादुर रानाले पाल्पा–२ (क)मा प्रदेशसभा सदस्यतर्फ उम्मेदवारी दिएका छन् । यस्तै वन तथा भूसंरक्षण मन्त्री सुरेन्द्र बहादुर हमालले बाँके–२ (ख) मा प्रदेशसभा सदस्य पदको उम्मेदवार बनेका छन् । कांग्रेसका मन्त्रीमध्ये राना बाहेक सबै यसअघि हाल उम्मेदवार रहेकै क्षेत्रबाट निर्वाचित भएका थिए ।

लुम्बिनी प्रदेशका भौतिक पूर्वाधार विकास मन्त्री सहशराम यादव कपिलवस्तु क्षेत्र १ (ख) बाट २०७४ को निर्वाचनमा विजयी भएका थिए । जसपामा रहेका उनी पार्टी त्यागेर कांग्रेसको समर्थनमा सोही क्षेत्रबाट स्वतन्त्र उम्मेदवार बनेका छन् ।

कोही संघ छाडेर प्रदेशतिर, कोही प्रदेश छाडेर संघतिर

अघिल्लो निर्वाचनमा प्रदेशसभा सदस्यतर्फ उम्मेदवार रहेका तथा विजयी भएका कतिपय नेता अहिले प्रतिनिधिसभा सदस्यमा उम्मेदवार बनेका छन् भने कोही प्रतिनिधिसभा छाडेर प्रदेशतिर झरेका छन् ।

लुम्बिनी प्रदेशमा पूर्व मुख्यमन्त्री शंकर पोखरेल यो पटक प्रतिनिधिसभा सदस्य पदमा उम्मेदवार बनेका छन् । दाङ क्षेत्र नम्बर २ बाट उनी उम्मेदवार बनेका छन् । उनले गठबन्धनबाट उम्मेदवार बनेकी माओवादी केन्द्रकी रेखा शर्मासँग प्रतिस्पर्धा गर्नुपर्ने छ ।

यस्तै पाल्पा क्षेत्र नम्बर १ मा एमालेका नारायण आचार्य प्रतिनिधिसभा सदस्य पदमा उम्मेदवार बनेका छन् । उनी पनि प्रदेश छाडेर संघतर्फ गएका हुन् । यसअघि उनी पाल्पा–१ (ख)बाट प्रदेशसभा सदस्य निर्वाचित भएका थिए । आचार्यले नेपाली कांग्रेसका ज्ञानबहादुर गाहासँग प्रतिस्पर्धा गर्नुपर्ने हुन्छ ।

रुपन्देही क्षेत्र नम्बर १ (ख) बाट कांग्रेसका पूर्व राज्यमन्त्री अब्दुल रज्जाक प्रदेशसभातर्फ उम्मेदवार बनेका छन् । उनी संघ छाडेर प्रदेशमा आएका हुन् ।

यस्तै रोल्पाबाट संघीय सांसदका लागि पटक पटक उम्मेदवार बनेका अमर सिंह पुन अहिले प्रदेशसभातर्फ उम्मेदवार बनेका छन् । नेपाली कांग्रेसको लुम्बिनी प्रदेश सभापतिसमेत रहेका पुनले रोल्पा–१ (ख)बाट उम्मेदवारी दिएका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

तेजेन्द्र के.सी.
तेजेन्द्र के.सी.

केसी रातोपाटीका प्रदेश नम्बर ५ का संयोजक हुन् । 

लेखकबाट थप