मङ्गलबार, ०२ पुस २०८१
ताजा लोकप्रिय

सङ्कटमा परम्परागत पानी घट्ट, जाँतो र ओखल

मङ्गलबार, २५ असोज २०७९, १२ : ३३
मङ्गलबार, २५ असोज २०७९

दुर्गम गाउँमा खानेकुराको लागि निकै अभाव, न्यून उब्जनी र खेतीपाती पनि शून्य हुँदा  दैनिक मजदूरी र पानी घट्ट सञ्चालन नै परिवारको आयआर्जनको माध्यम बनेको छ । अछामको रामारोशन गाउँपालिका–१ का बालाराम परियारको दैनिक जीवन यसरी नै बित्दै आएको छ । कैलाश खोलाको किनारमा भएको एक पानी घट्टले अझै पनि बालारामको १० जनाको परिवार पालिन्छ । 

 “खेतीबारी केही नहुँदा दिनभर मजदूरी वा  त्यही पानी घट्ट चलाएर  नै परिवार पाल्ने आधार बन्दै आएको छ, ” उनी भन्छन्, “त्यही घट्टले मेरो बुबाले गुजारा चलाए, मेरो पनि आधा उमेर त्यही घट्टका ढुङ्गा पल्टाएर बित्यो ।” अहिले  बालाराम ७० वर्ष पुगे पनि उहाँको जोश र जागर अहिले पनि तन्नेरीकै जस्तो छ । अझै पनि कैलाश खोलाका ढुङ्गा पल्टाउने गरेका उनी घट्टमा गेडागुडी पिसाउन आएकासँग केही पिठो लिनुहुन्छ । त्यसको कुनै नापजाँच भने हुँदैन । जस्ले जति दियो त्यतिमै चित्त बुझाउनुपरेको बालाराम बताउछन् ।

 “यति चाहिन्छ भनेर माग्ने चलन छैन । जति दियो त्यतिमै चित्त बुझाउनुपर्छ ।” उनी भन्छन्, “दिनमा दुईदेखि  पाँच केजीसम्म पिठो भइहाल्छ ।” गाउँमा त्यो बेला एक दर्जनभन्दा बढी पानी घट्ट रहेकामा अहिले बालारामको मात्रै छ । विसं २०७७ भदौ २ गते आएको कैलाश खोलाको बाढीले दर्जनौंँ पानी घट्ट बगाएपछि घट्ट सञ्चालकले त्यसपछि त्यो पेसालाई निरन्तरता दिन छोडेका हुन् । 

  “गाउँगाउँमा बिजुली बत्ती पुगेपछि मिल पनि सञ्चालनमा आएका छन् । पहिलेको जस्तो पानी घट्टको महत्व पनि छैन ।” स्थानीय दाताराम खनाल बताउनुहुन्छ, “पैसा नहुने, घट्टमै पिसेको पिठो राम्रो मान्ने मात्रै घट्टमा आउँछन्, नभए पानी घट्ट विस्थापित हुने अवस्थामा पुगिसकेको छ ।”उनी परम्परागतरुपमा पुर्खाले बनाएका पानी घट्टको अस्तित्व लोप हुने अवस्थामा पुगेको गुनासो गर्छन् । त्यतिबेला खानको लागि निकै अभाव हुँदा, खेतीपाती नभएका अधिकांशको सहारा पानी घट्ट हुन्थ्यो । नदीको किनारमा निर्माण हुने अधिकांश पानी घट्टमा मेहनत भने निकै  हुन्थ्यो ।
  
ग्रामीण बस्तीका लागि पानीघट्ट एक महत्वपूर्ण आवश्यकताको  वस्तु हो । गेडागुडी पिसेर पिठो बनाउन पानी घट्ट र जातोको प्रयोग हुँदै आएको छ । जाँतोको विकल्पमा प्रयोग हुने गरे पनि पानी घट्ट ग्रामीण क्षेत्रको लागि महत्वपूर्ण साधनको रुपमा लिने गरिएको रामारोशन गाउँपालिका–१ का वडाध्यक्ष चक्रबहादुर साउद बताउछन् । 
 
“पानी घट्ट, जाँतो र ओखलसँग हाम्रो नजिकैको सम्बन्ध   छ । यसको संरक्षण र सम्बद्र्धन निकै आवश्यक छ ।” वडा अध्यक्ष साउद भन्छन्, “सङ्कटमा रहेका यस्ता वस्तुलाई संरक्षण गरी राख्न सके भाबी सन्ततिका लागि इतिहास बन्न सक्छ ।” त्यस्तै ग्रामीण बस्तीको अर्को महत्वपूर्ण साधन भनेको ओखल पनि हो । पिसानीका लागि पानी घट्ट र जाँतो जस्तै कुटानीको माध्यम ओखल हो । अहिले पुरानो पानी घट्ट, जातो र ओखलको अस्तित्व हराउँदै गएको छ ।

 कल्धरी विक कुनैबेला बिहान ३÷४ बजे उठ्थिन् । बिहानको चुलोचौको भन्दा पहिले ओखलमा धान कुट्नु उनको नियमित काम हुन्थ्यो । “साना छोराछोरी, परदेशीएका श्रीमान्, कामको चाप ।“उनी भन्छिन्  “छोराछोरी उठ्नुभन्दा पहिला सबै काम सक्नुपथ्र्योे । उनीहरुलाई खाजा खुवाएर  मेलापात जानु हाम्रो दैनिक काम थियो ।” 

अहिले अवस्था फेरिएको छ । गाउँमा मिल सञ्चालनमा आएपछि ओखल कल्धरीले चलाउनै परेको छैन ।  मिलले गर्दा कल्धरी मात्रै होइन कैयौँ महिलालाई  त्यस्ता कामबाट फुर्सद मिलेको छ ।  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप