आइतबार, १६ वैशाख २०८१
ताजा लोकप्रिय

गुटबन्दीले रुपन्देहीमा कमजोर बन्दैछ एमाले

मङ्गलबार, २५ असोज २०७९, ११ : ३९
मङ्गलबार, २५ असोज २०७९

प्रतिनिधिसभातर्फ रुपन्देहीका पाँच वटा निर्वाचन क्षेत्रमध्ये तीन वटा क्षेत्रमा यसअघि जित हासिल गरेर आफ्नो पकड क्षेत्र कायम गरेको नेकपा एमाले यसपटक भने आन्तरिक व्यवस्थापन नहुँदा कमजोर देखिएको छ । मुख्यतः रुपन्देहीका ‘हेभी वेट’ मानिएका नेताले नै पार्टीमा विद्रोह गरेपछि एमाले कमजोर बन्दै गएको देखिन्छ ।

आगामी मंसिर ४ गते हुने निर्वाचनका लागि रुपन्देहीमा टिकट वितरणमै एमालेभित्र किचलो देखियो । एमालेका स्थायी कमिटी सदस्य घनश्याम भुसालले टिकट नपाएपछि पार्टी परित्याग गरेर रुपन्देही–१ बाट स्वतन्त्र उम्मेदवारी दिएका छन् । जसका कारण उनले उम्मेदवारी दिएको रुपन्देही–१ र २०७४ मा उनले नै जितेको क्षेत्र नम्बर ३ का एमाले कार्यकर्ता विभाजित भएका छन् ।

गठबन्धनको साथ पाएपछि स्वतन्त्र उम्मेदवारकै रुपमा भुसाल रुपन्देही–१ मा बलियो दाबेदार बनेका छन् भने सो क्षेत्रमा उनलाई एमालेकै केही कार्यकर्ताले समेत साथ दिने अवस्था देखिन्छ । अर्कोतिर सोही क्षेत्रमा एमालेका उम्मेदवार बनेका छविलाल विश्वकर्मालाई भुसालको उम्मेदवारीले आफ्नै कार्यकर्ताको मत एकत्रित गर्न सकस हुने देखिएको छ ।

पार्टीभित्र विवादकै कारण क्षेत्र नं. १ को दवदह नगर कमिटीका अध्यक्ष टीकाराम चापागाईले एमाले परित्याग गरेका छन् ।

क्षेत्र नम्बर ३ बाट ०७४ को निर्वाचनमा जित हासिल गरेका भुसाललाई यसपटक एमालेले टिकट नदिएपछि क्षेत्र नं. ३ का भुसाल समर्थक एमाले कार्यकर्ता चिढिएका छन् । यो क्षेत्रमा एमालेले राप्रपाका दिपक बोहोरालाई समर्थन गरेको छ । भुसाल समर्थक नेता कार्यकर्ताले यो क्षेत्रमा सत्तारुढ गठबन्धनलाई साथ दिने प्रस्ट छ ।

एमालेका स्थानीय नेता सुरेन्द्र उपाध्यायले भने, ‘घनश्याम भुसालाई यो क्षेत्रबाट टिकट नदिएर एमालेले गम्भीर गल्ती गरेको छ, एमालेका निष्ठावान कार्यकर्ताले अब पञ्चायती नेतालाई कसरी भोट हाल्ने ?’ पञ्चायती व्यवस्था अन्त्य गर्न एमालेले नै अगुवाई गरेको स्मरण गर्दै उनले यसपटक क्षेत्र नंं ३ का एमाले कार्यकर्ता दोधारमा परेको उल्लेख गरे ।

अर्का एमाले नेता डा. रामप्रसाद बस्यालले क्षेत्र नं. ३ मा घनश्याम भुसाललाई टिकट नदिएका कारण एमालेले यस क्षेत्रमा ठूलो क्षति ब्यहोनुपर्ने बताए । क्षेन नं. ३ मा एमालेको आफ्नै उम्मेदवार नभएपछि कयौं कार्यकर्ताले घनश्याम भुसाललाई क्षेत्र नम्बर १ उपलब्ध गराएको गुन तिर्न पनि क्षेत्र नम्बर ३ मा सत्तारुढ गठबन्धनलाई मत दिने उनको भनाइ छ ।

उता क्षेत्र नं. ५ मा उम्मेदवारी मनोनयनमै एमाले नेताभित्र द्वन्द्व बढेको छ । एमाले नेता खिमलाल भट्टराई र बासुदेव घिमिरे दुवैले पार्टीका तर्फबाट मनोनयन दर्ता गराए पनि निर्वाचन आयोगले घिमिरेको उम्मेदवारीलाई आधिकारिकता दिएपछि क्षेत्र नं. ५ मा खिमलाल समर्थक नेता कार्यकर्ता चिढिएका छन् ।

पार्टीको पछिल्लो निर्णय नमानेर घिमिरेले जवरजस्ती मनोनयन दर्ता गराएको भन्दै स्थानीय नेता रुष्ट बनेका छन् । घिमिरेले मनोनयन दर्ता गराउन लाग्दा खिमलाल समर्थक कार्यकर्ताले अवरोध गरेका थिए । विवाद उत्पन्न भएपछि घिमिरेले जवरजस्ती फाइल खोसेर मनोनयन दर्ता गराएको कार्यकर्ताहरु बताउँछन् ।

उक्त क्षेत्रको गैडहवा गाँउपालिकाका अध्यक्ष समेत रहेका एमाले नेता सुरेन्द्र पौडेलले भने, ‘बासुदेवले पार्टीको पछिल्लो निर्णय नमानेर जबरजस्ती मनोनयन दर्ता गराउन खोज्दा विवाद उत्पन्न भएको हो ।’ उनका अनुसार स्थानीय नेता कार्यकर्ताले खिमलाल उम्मेदवार नभए चुनाव हारिन्छ भनेर प्रतिवाद गरेका हुन् ।

अर्कोतर्फ घिमिरेलाई एमाले उपाध्यक्ष विष्णु पौडेलले उम्मेदवार बन्न सघाएका हुन् । यसअघि घनश्याम भुसालको विश्वासपात्र रहेका घिमिरेलाई पौडेलले नै गुट परिवर्तन गराएका थिए । पार्टी महासचिव शंकर पोखरेलले खिमलाल भट्टराईलाई उम्मेदवार बनाउने प्रयास गरे पनि सफल भएनन् ।

पार्टी अध्यक्ष केपी ओलीको पत्र लिएर आउँदा पनि मनोनयनमा ढिलाई भएपछि भट्टराई उम्मेदवार बन्न पाएनन् । यसर्थ लुम्बिनी प्रदेशमा महासचिव शंकर पोखरेल र उपाध्यक्ष विष्णु पौडेल गुटबीचको संघर्षका कारण पनि एमाले कार्यकर्ता विभाजित हुने अवस्था सिर्जना भएको एमाले नेताहरु बताउँछन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप