बिहीबार, ०४ पुस २०८१
ताजा लोकप्रिय

लुम्बिनी प्रदेश : गठबन्धनमा बागी उम्मेदवार

मङ्गलबार, २५ असोज २०७९, ११ : ३७
मङ्गलबार, २५ असोज २०७९

लुम्बिनी प्रदेशका केही जिल्लाहरुमा सत्ता गठबन्धनका उम्मेदवारविरुद्ध बागी उम्मेदवारी परेका छन् । निर्वाचनको लागि टिकट नपाएका केही नेताहरुले पार्टीबाट विद्रोह गरी बागी उम्मेदवारी दिएका हुन् । 
गुल्मीको निर्वाचन क्षेत्र नं २ मा नेकपा समाजवादीकी नेतृ रामकुमारी झाँक्रीले उम्मेदवारी दर्ता गराए पनि नेपाली कांग्रेसका दामोदर भुसालले स्वतन्त्र उम्मेदवारी दिएका छन् ।

यस्तै क्षेत्र नं २ को प्रदेश सभा सदस्यका लागि माओवादी केन्द्र त्याग्दै नेताहरुले स्वतन्त्र उम्मेदवारी दिएका छन् । क्षेत्र नम्बर २ (क)मा माओवादी केन्द्र मुसिकोट नगर कमिटी अध्यक्ष युवराज खरेल र पूर्व अध्यक्ष तथा हाल प्रदेश कमिटी सदस्य दुर्गा बिकले स्वतन्त्र उम्मेदवारी दिएका हुन्  ।  

रुपन्देही क्षेत्र नं ५ मा गठबन्धनका साझा उम्मेदवार नेपाली काँग्रेसका भरत शाह विरुद्ध माओवादी केन्द्रकी नेतृ दिपिका शर्मा लम्सालले बागी उम्मेदवारी दर्ता गरेकी छन् ।  रुपन्देही क्षेत्र नम्बर ५ बाट प्रतिनिधिसभाका लागि गठबन्धनको तर्फबाट काँग्रेस नेता शाहले उम्मेदवारी दर्ता गराएपनि नेकपा माओवादी केन्द्रकी लुम्बिनी प्रदेश कमिटी सदस्य एवम् उक्त क्षेत्रकी सह–ईन्चार्ज रहेकी लम्सालले मनोनयन दर्ता गराएकी हुन् । 
अर्घाखाँचीमा सत्ता गठबन्धनमा रहेको राष्ट्रिय जनमोर्चाले प्रतिनिधिसभा र प्रदेशसभाका तीनवटै क्षेत्रमा उम्मेदवारी दिएको छ ।

संघमा जनमोर्चाका नेता पशुपति ढकालले स्वतन्त्र उम्मेदवारी दिएका छन् । प्रदेशसभा क मा सागर केसी र ख मा जीवलाल पौडेलले पार्टीबाट नै उम्मेदवारी दर्ता गराएका छन् ।
अर्घाखाँचीमा जनमोर्चा काँग्रेसपछिको ठूलो दल भए पनि बेवास्ता गरिएकाले अलग्गै उम्मेदवारी दिनुपरेको जनमोर्चाका नेता सागर केसीले प्रतिक्रिया दिएका छन् । सो क्षेत्रमा कांग्रेस नेतृ तथा निवर्तमान उपसभामुख पुष्पा भुसाल गौतमले प्रतिनिधिसभा सदस्यमा उम्मेदवारी दर्ता गराएकी छन् । 

उनीसँगै प्रदेशसभा (क) मा माओवादी केन्द्रका ठाकुर कुमार बिक र प्रदेशसभा (ख) मा कांग्रेसका कमल भुसालले उम्मेदवारी दर्ता गराएका छन् । एमालेबाट संघमा टोपबहादुर रायमाझी र प्रदेशसभा (क) मा चेतनारायण आचार्य र (ख) मा रामजी घिमिरेले उम्मेदवारी दर्ता गराएका छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप